आकाशमै ट्राफिक जाम ! « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

आकाशमै ट्राफिक जाम !


प्रशासन विशेष ब्युरो

१४ चैत्र २०७४, बुधबार


काठमाडौं । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल अहिले व्यस्तताको उच्च बिन्दुनजिक छ । जहाज उडान र अवतरण व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने अवस्था छ ।

कुनै एक जहाजको उडान या अवतरण तोकिएको समयभन्दा थोरै मात्रै ढिला भए काठमाडौंको आकाशमा ट्राफिक जाम चुनौतीपूर्ण बन्ने गर्छ ।

सन् २०१७ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक औसत ३४६ आन्तरिक तथा बाह्य उडान–अवतरण भएका थिए । विमानस्थलको कन्ट्रोल टावरबाट जहाज व्यवस्थापनमा खटिने एक एयर ट्राफिक कन्ट्रोलर ९एटिसी०का अनुसार अहिले यो संख्या दैनिक ४ सयको हाराहारी पुगिसकेको छ । पर्यटकीय सिजन (मार्च–जुन) सुरु भएपछि वायुसेवा कम्पनीले उडान थप्न थालेका छन् । आगामी जेठसम्म विमानस्थलमा दैनिक उच्च संख्यामा उडान–अवतरण हुने उनले बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार ९ वैशाख ०७४ मा एकै दिन अहिलेसम्मकै सर्वाधिक ४७४ उडान भएका थिए ।

१८ घन्टा खुल्छ विमानस्थल
त्रिभुवन विमानस्थल दैनिक १८ घन्टा खुला रहन्छ । दैनिक ४ सय उडान हुने दिन औसतमा प्रत्येक २ मिनेट ४२ सेकेन्डमा एउटा जहाज उड्ने या ओर्लने गर्छ ।

अन्तर्राष्ट्रियतर्फ केवल ९ वटा पार्किङ वे र एउटा मात्र धावनमार्गका भरमा हरेक साढे दुई मिनेटमा एउटा जहाज उडान या अवतरणको व्यवस्थापन गर्नु अत्यन्तै चुनौतीपूर्ण रहेको विमानस्थलमा कार्यरत एयर ट्राफिक कन्ट्रोलरहरू बताउँछन् । विमानस्थल बिहान ६ बजे खुल्छ भने रातको १२ बजे बन्द हुन्छ । तर, अन्तर्राष्ट्रिय उडानबाट आएका कुनै जहाज प्राविधिक कारणले रातको १२ बजेपछि आइपुग्ने अवस्थामा भने विमानस्थल खुला नै राखिन्छ ।

क्षमताभन्दा दोब्बर यात्रु व्यवस्थापन
विमानस्थलका एक उच्च अधिकारीका अनुसार पिक आवरमा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिघन्टा २५ सय यात्रुसम्म व्यवस्थापन गर्नुपरेको छ । तर, विमानस्थलको विद्यमान संरचनाको वास्तविक क्षमता पिक आवरमा १३ सय यात्रु प्रतिघन्टा हो । ‘१३ सय यात्रु बस्ने स्थानमा दोब्बर यात्रु बसाल्नुपरेको छ,’ उनले भने, ‘सोही रफ्तारमा वायुयानको आगमन बढ्दा व्यवस्थापन चुनौतीपूर्ण बन्नु स्वभाविक हो ।’

चाडबाड र पर्यटकीय मौसममा व्यवस्थापन गर्न हम्मेहम्मे
असोज–कात्तिक र चैत–जेठ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बढी व्यस्त रहन्छ । वसन्त ऋतुमा सगरमाथा आरोहण र पदयात्राका लागि आउने पर्यटकको घुइँचोले चैतदेखि जेठसम्म अधिक संख्यामा उडान हुन्छन् । यस्तै, असोज र कात्तिकमा पर्यटकीय मौसम र चाडबाड एकसाथ जुध्ने भएकाले यी दुई मौसममा विमानस्थल व्यवस्थापन गर्न हम्मेहम्मे पर्ने गरेको अधिकारीहरू बताउँछन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस