उपसचिव कुट्ने ‘फरार अभियुक्त’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

उपसचिव कुट्ने ‘फरार अभियुक्त’


प्रशासन विशेष ब्युरो

१३ चैत्र २०७४, मंगलबार


उदयपुर । इलाका वन कार्यालय कटारीका प्राविधिक उपसचिव नारायण श्रेष्ठलाई कुटपिट गर्ने व्यक्ति फरार अभियुक्त रहेको खुलेको छ ।

कटारी नगरपालिका १ स्थित नारायणी सामुदायिक वन उपभोक्ता समूहका पूर्वअध्यक्ष शंकर सिंहसहितको समूहले जनप्रतिनिधिको उपस्थितिमा श्रेष्ठलाई कुटपिट र दुव्र्यवहार गरेको हो । सिंहविरुद्धको वन मुद्दामा अदालतले ६ महिना कैद र ४ लाख रुपैयाँ जरिवानाको फसैला सुनाएका थियो ।अदालतको जरिवाना भुक्तान नगरेका सिंह हालसम्म फरार छन् ।

कटारी नगरपालिका–१ स्थित राष्ट्रिय वन क्षेत्रमा एस्काभेटर र डोजर प्रयोग गरेको भन्दै उपसचिव श्रेष्ठको नेतृत्वमा गएको वन कर्मचारीको टोलीले एस्काभेटरका अपरेटर तुलसी बुढाथोकी र डोजरका अपरेटर काशीराज कटुवाललाई पक्राउ गरेको थियो ।

नगरपालिकाको निर्णयअनुसार सडक खन्दा एस्काभेटर र डोजरका अपरेटर पक्राउ गरेको कारण खोज्दै वन कार्यालय पुगेका उदयपुर क्षेत्र नं. २ का सांसद सुरेशकुमार राई र सोही क्षेत्र नं. २ ‘क’ का सांसद कला घले, नपाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र वडाध्यक्षसहित दुई दर्जनभन्दा बढीको उपस्थितिमा कुटपिट गरी दुव्र्यवहार गरेको पीडित उपसचिव श्रेष्ठले जिल्ला वन कार्यालयलाई दिएको जाहेरीमा उल्लेख गरेका छन्  । सिंहलगायतले समूहले उपसचिव श्रेष्ठको छातीमा लात्तीले हानेको बताइएको छ ।

पीडित श्रेष्ठले भने, ‘वडा सदस्य काशीराज पोखरेल, नगर कार्यसमिति सदस्य लीलाराज अधिकारी दनुवार र सामुदायिक वनका पूर्वअध्यक्ष सिंहले कार्यालयभित्रै पिटे ।’ पिटाइबाट छातीमा असर परेको उनले बताए ।

‘विकासविरोधी काम गरेकाले जनताले कारबाही गरेका हुन्,’ मेयर श्रेष्ठले भने, ‘स्थानीय सरकारले गरेको विकासमा अवरोध पुर्‍याएकाले कारबाही भएको हो ।’ तर हात हालेको आफूलाई थाहा नभएको उनले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस