न्यायालयमा आँच नपुर्याउन राष्ट्रपतिको चेतावनी « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

न्यायालयमा आँच नपुर्याउन राष्ट्रपतिको चेतावनी


प्रशासन विशेष ब्युरो

१० चैत्र २०७४, शनिबार


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपालिकाको स्वतन्त्रतामा कहीँकतैबाट आँच पुर्‍याउने कार्य सह्य नहुने चेतावनी दिएकी छन्।

पछिल्लो पटक न्यायपालिकामा उत्पन्न जटिल परिस्थितितर्फ ध्यानाकर्षण गर्दै राष्ट्रपति भण्डारीले यस्तो चेतावनी दिएकी हुन्।

नेपाल बार एसोसिएसनको १४ औं राष्ट्रिय सम्मेलन शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले न्यायपालिकाभित्र गम्भीर घटना देखिएकाले छवि सुधार्नुपर्ने आवश्यकता औंल्याइन्।

संविधानले राज्यका तीनवटै अंगको अधिकार र कर्तव्यको सीमा तोकेको बताइन्। उनले भनिन्, ‘हामी बहुलवादी समाजमा लोकतान्त्रिक मूल्य–मान्यताको अभ्यास गरिरहेका छौं।’

राष्ट्रपति भण्डारीले चेतावनीको भाषामा भनिन्, ‘संविधानले स्वतन्त्र र सक्षम न्यायपालिकाको अवधारणालाई गहिरोसँग आत्मसात गरेको छ, कानुनको अन्तिम व्याख्याताका रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रतामा कहीँ–कतैबाट आँच पर्ने कार्य सह्य हुँदैन।’

भण्डारीले न्यायपालिकाभित्र आएका र आउन सक्ने विकृति न्यायपालिका स्वयंले सुधार्नुपर्ने सुझावसमेत दिइन्। ‘न्यायमा विचलन कसैले सहन सक्दैन, यस्तो कार्यले न्यायपालिकाप्रति अविश्वास मात्र नभई लोकतान्त्रिक प्रणालीमै संकट उत्पन्न हुन सक्छ’, भण्डारीले प्रसंग दोहोर्‍याउँदै थपिन्, ‘तसर्थ सबै पक्षले न्यायपालिकाप्रति जनआस्था प्रकट हुने र लोकतान्त्रिक मूल्यमान्यताप्रति सबैको सम्मान अनि विश्वास सिर्जना गर्न कटिबद्ध हुनुपर्छ।’

उनले पछिल्लो समय न्यायपालिकामा गम्भीर प्रकृतिका घटना भएको बताउँदै यो विषयमा बारसम्मेलनको गम्भीर ध्यानाकर्षण हुनुपर्ने भनाइ राखिन्।

न्यायपालिकाको शक्ति नै जनविश्वासमा अडेको धारणा उनको थियो। ‘तसर्थ कानुनको व्याख्यामा एकरुपतासहित नेपालको न्यायपालिकाको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि गर्न अग्रसर हुनुपर्छ’, राष्ट्रपति भण्डारीको भनाइ थियो। आजको अन्नपुर्ण पोष्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस