फोहर पानी पिउन बाध्य बन्दै ग्रामीणबस्तीका बासिन्दा « प्रशासन
Logo ३ आश्विन २०७८, आइतबार
   

फोहर पानी पिउन बाध्य बन्दै ग्रामीणबस्तीका बासिन्दा


८ चैत्र २०७४, बिहिबार


डडेल्धुरा । सुख्खायाम लागेसँगै मूलसुक्न थालेपछि फोहर पानी पिउन बाध्य बनेका छन् डडेल्धुराका ग्रामीण बस्तीका बासिन्दा । जिल्लाका विभिन्न बस्तीमा खानेपानीको पाइपमा पानी कम आउन थालेपछि खोलानाला वा कुवाको फोहर पानी पिउन बाध्य बनेका हुन् ।

लामो समयदेखि खानेपानीको समस्या झेल्दै आएका नवदुर्गा गाउँपालिका– १ सुनकोटका बासिन्दा खोलानालाको फोहर पानी प्रयोग गरी रहेको बताउँछन् । नवदुर्गाको सुनकोट जस्तै अजयमेरुको हाट, अमरगढीको हतर्कालगायतका ठाउँमा खानेपानीको समस्या भोगिरहेका छन् ।

हिउँद नसकिँदै पानीको समस्या आइपरेको र खोलानालाको पानीको भरमा खानेपानीको गुजरा चलाइरहको सुनकोटका लक्ष्मी विकले बताए । दुई सय भन्दा बढी परिवार रहेको सुनकोट गाउँमा बिहान सबेरै उठ्नसक्यो भने खानेपानी पाउने गरेको र नत्र खोलाको फोहरपानीले नै खाना र अन्य कुराका लागि जोहो गर्नुपर्ने बाध्यता रहेको सुनकोटका अर्का महिला राजु भुलले दुखेसो पोखे ।

कोटेली गाउँमा नै खानेपानी समस्या रहेको भए तापनि दलित बस्ती रहेको सुनकोटमा खानेपानीको बढी समस्या हुने गरेकोे स्थानीय कलावती भुलले बताइन् । घरको एकजनाले पानी भर्नमा नै दिन बिताउनुपर्ने भएकाले प्रायः बालबालिका पानी भर्नका लागि घरमा नै बस्ने गरेको स्थानीयवासीले जानकारी गराए ।

दुई सय भन्दा बढी परिवारले खानेपानीका लागि लाइन बस्नुपर्ने बाध्यता रहेको स्थानीयवासी लक्ष्मी विकले बताइन् । धेरैजसो बालबालिका विद्यालय नगएर पानी बोकिरहेको अवस्थामा भेटिन्छन् । पानीका लागि घण्टौं लाइनमा बस्नुपर्ने वा दुई तीन घण्टाको बाटो हिँडेर खोलाको पानी ल्याउनुपर्ने बाध्यता रहेको स्थानीयवासी धर्म विकले बताए ।

नुहाउनका लागि समेत पालो कुर्नुपर्ने स्थानीयवासीको भनाइ छ । शौचालय र अन्य सागपातका लागि सिँचाइ सुविधा नभएको स्थानीयवासीले जानकारी गराएका छन् । स्थानीयस्तरमा जनप्रतिनिधि आएपछि खानेपानीको समस्याबाट मुक्त हुने आशा बोकेका सुनकोटका सर्वसाधारण फेरि आफ्ना दुःख उस्तै रहेको बताउँछन् ।

सुनकोटलगायत साविको कोटेली गाविसका धेरै गाउँ खानेपानी समस्या भोग्दै आइरहेका छन् । मूलको विवादका कारण पानी समस्या भएको तर हाल समाधान भएको र अब चाडैं खानेपानी लगायतका योजना सञ्चालन हुने स्थानीयवासी समाज सेवी टेकबहादुर ऐरले बताए ।

सुख्खायाम लागेसँगैं ग्रामीण भेगमा पानीका मूलसुकेर जान थालेपछि खानेपानी समस्या देखिन थालेको हो । जथाभावी जंगलकोबिचबाट सडक खन्दा मूलसुक्न थालेको स्थानीयवासीको भनाइ छ । पानीका मूल तथा खोलानालामा समेत पानी कम हुन थालेपछि डडेल्धुरालगायत पहाडी भेगका गाउँबस्तीमा पानीको समस्या देखिन थालेको हो । रासस

प्रतिक्रिया दिनुहोस