जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था


६ चैत्र २०७४, मंगलबार


अछाम । जंगली जनाबरले खेतबारीमा लगाएको अन्नबाली र तरकारी बाली खाएर नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् ।

समयमै पानी नपर्नाले र सिँचाइको सुविधा नहँुदा बाँझै रहेका जग्गा पछिल्लो समय जेनतेन गरी खेतबारीमा लगाएको अन्न र तरकारी बाली जंगली जनावर बाँदर र बँदेलले नष्ट गर्न थालेपछि कतिपय किसानहरुले खेती गर्न छोडेका छन् ।

जंगली जनावरका कारण खेतबारी बाझै राख्नुपर्ने अवस्था आउन थालेको साफेबगर नगरपालिका–१० घुघुरकोटका स्थानीय कुलराज भट्टले बताए । ‘एक हजारको बथानमा आउने बाँदरको समूहले गहुँबाली खाइसक्यो उनले दुःखेसो पोख’े—‘आफूले खान नपाएपछि किन बाँदर र बँदेलको लागि खेती लगाउनु ? दुःख गरेजति उत्पादन हुँदैन त्यसमा पनि जंगली जनाबरले खाएर हैरान पारेको छ ।‘ सबै काम छोडेर बाँदर भगाउने काममा जुटेका छन् स्थानीयवासी ।

बान्नीगढ जयगढ गाउँपालिका–१ गाज्राका नरबहादुर खड्का पनि बँदेलदेखि हैरान भएका छन् । उनले भने – ‘बँदेलले गाउँलेले बारीमा लगाएको गहुँ र तरकारी एउटा पनि राखेन । एक त समयमै पानी नपर्नाले हामीले मार खेप्नु परेको छ भने अर्कोतिर दुःख गरेर लगाएको खेतीसमेत बँदेलले आएर खान थाल्यो ।’ साफेबगर नगरपालिका– ३ कि मंगलादेवी कुँवरले बँदेल भगाउन रातभरी जाग्राराम बस्दा पनि बारीमा लगाएको मकै जोगाउन सकेन । गाउँ नजिकैको सामुदायिक वन पाल्न थालेपछि जंगली जनावरको विगविगी बढ्न थालेको उनले बताइन् ।

नगर प्रमुख कुलबहादुर कुँवरले जँगली जनावरले पारेको समस्याका बारेमा आफू कहाँ धेरै गुनासो आउने गरेको बताए। यहाँका स्थानीय कृषक जँगली जनावरबाट निकै पीडित बनेका छन् । ‘म कहाँ धेरै गुनासो आएको छ कुवँरले भने सिँचाइको अभाव, जलवायु परिवर्तनका कारण उत्पादनमा कमी, परम्परागत कृषि प्रणाली र बसाइँसराइका कारण पनि खेतीयोग्य जमिन बाझै रहेका छन् त्यसमाथि बँदेल बाँदरको आतंकले थप समस्या सिर्जना गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस