ओलीको टोली « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

ओलीको टोली


प्रशासन विशेष ब्युरो

३ चैत्र २०७४, शनिबार


काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले एमाले र माओवादीका तर्फबाट ११ मन्त्री र ४ राज्यमन्त्री थप्दै शुक्रबार तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

प्रधानमन्त्री भएको ठीक एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी भए पनि संघीय समाजवादी फोरमसँग औपचारिक सहमति नभएका कारण ओलीले वाम गठबन्धनका मन्त्री मात्र थपेका हुन् ।

यसअघि प्रधानमन्त्रीसहित सात मन्त्री थिए । मन्त्रिपरिषद् अब २२ सदस्यीय भएको छ । संघीय समाजवादी फोरम सहभागी भएपछि मन्त्रिपरिषद्ले पूर्णता पाउनेछ । संविधानअनुसार २५ जनासम्मको मात्र मन्त्रिपरिषद् बनाउन पाइन्छ ।

फोरमका लागि प्रधानमन्त्री ओलीले सहरी विकास र स्वास्थ्य तथा जनसंख्या दुइटा मन्त्रालय खाली राखेका छन् । यसअघि दुईपटक मन्त्रिपरिषद् विस्तार गरे पनि फोरमलगायत दललाई संलग्न गराउने भन्दै उनले पूर्णता दिन ढिलाइ गरेका थिए । तर, शुक्रबार पनि फोरमसँग औपचारिक सहमति जुट्न सकेन । यसअघि प्रधानमन्त्री कार्यालयसहित १८ मन्त्रालय कायम गरिए पनि फोरमसमेत सरकारमा संलग्न हुने भएपछि तीन मन्त्रालय थपिएको छ । ओली सरकारमा प्रधानमन्त्रीबाहेक एमालेका मन्त्री र राज्यमन्त्री गरी १४ जना संलग्न भएका छन् । माओवादीका मन्त्री र राज्यमन्त्री गरी ८ जना छन् ।

एमालेका गोकुल बाँस्कोटालाई मन्त्रिपरिषद् बैठकमा सहभागिता हुने गरी सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री बनाइएको छ ।

ओलीले मन्त्रिपरिषद्मा एमाले र माओवादीबाट नयाँ र पुराना दुवै अनुहार समेटेका छन् । विगतमा मन्त्री बनेर चर्चा पाएका र संसद्मा समेत राम्रो भूमिका निर्वाह गरेकालाई फेरि अवसर दिइएको छ ।

पाँच वर्ष सरकार चलाउने र छिट्टै परिणाम दिनुपर्ने भन्दै ओलीले मन्त्रीमा लैजाने व्यक्ति छनोटमा निकै कसरत गरेका थिए । उनले समावेशी र भूगोलको सन्तुलनभन्दा बढी व्यक्तिलाई प्राथमिकता दिएका छन् । मन्त्री बन्नेमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, महिला, बालबालिकामन्त्री थममाया थापा र कृषि राज्यमन्त्री रामकुमारी चौधरीबाहेक अन्य १८ जना प्रत्यक्ष निर्वाचित सांसद छन् ।

मन्त्रिपरिषद्मा दुई मन्त्री र दुई राज्यमन्त्री गरी चार महिला परेका छन् । पहिल्यै नियुक्त गरिएकी थापालाई मन्त्रालयको नाम हेरफेर गरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ । एमालेकै स्याङ्जाबाट निर्वाचित पद्मा अर्याललाई स्वास्थ्य राज्यमन्त्री बनाइएको छ । माओवादीकी कञ्चनपुरबाट निर्वाचित बिना मगरलाई खानेपानी र समानुपातिक सांसद चौधरीलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । मधेसी समुदायबाट एमालेका २ र माओवादीका एक गरी तीन मन्त्री भएका छन् ।

एमालेबाट धनुषाका निर्वाचित सांसद रघुवीर महासेठ भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनेका छन् । प्रतिनिधिसभा चुनावमा एमालेबाट प्रदेश २ मा जित्ने उनी मात्र एक मधेसी सांसद हुन् । एमालेले त्यहाँ प्रत्यक्षमा जम्मा दुई सिट जितेको थियो । मधेसी समुदायबाट यसअघि नै माओवादीका मातृका यादव र एमालेका लालबाबु पण्डित मन्त्री बनिसकेका छन् । यादव उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री छन् । पण्डितलाई मन्त्रालय हेरफेर भएका कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

आदिवासी जनजाति समुदायबाट ६ जना परेका छन् । यसअघि नै नियुक्त गृहमन्त्री थापा र महिला मन्त्री थममायाबाहेक शुक्रबार थप ४ जना जनजाति समुदायबाट मन्त्री बनेका छन् । माओवादीबाट पूर्वअर्थमन्त्रीसमेत रहेका वर्षमान पुन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका छन् । माओवादीकै मगर र चौधरी पनि जनजाति हुन् । एमालेबाट पहिलोपटक तामाङ समुदायका शेरबहादुर तामाङ मन्त्री बनेका छन् ।

२०४८ सालपछि एमाले संलग्न कुनै पनि सरकारमा तामाङ समुदायको प्रतिनिधित्व थिएन । सिन्धुपाल्चोक २ बाट लगातार दोस्रोपटक निर्वाचित सांसद तामाङ ओली सरकारको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री बनेका छन् ।

दलितबाट भने एक जना मात्र परेका छन् । कास्कीका निर्वाचित सांसद जगतबहादुर विश्वकर्मा युवा तथा खेलकुदमन्त्री बनेका छन् । खस आर्य समुदायबाट भने प्रधानमन्त्रीसहित १२ जना परेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस