काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचन मिति घाषणा गरेको छ । आयोगले बुधवार प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले चैत्र ९ गते हुने गरी निर्वाचनको मिति तय गरेको छ ।
राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा ५ (२) मा राष्ट्रपतिको निर्वाचन भई परिणाम घोषणा भएको सात दिनभित्र आयोगले निर्वाचनको मिति तोक्ने व्यवस्था रहेको छ । यसै गरी नेपालको संविधानको धारा ७० एवं राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी ऐन, २०७४ को दफा १६ को उपदफा ५ बमोजिम उपराष्ट्रपति पदको लागि उम्मेदवार मनोनयन गर्दा राष्ट्रपति पदमा निर्वाचित व्यक्ति जुन लिङ्ग वा समुदायको हो सोभन्दा फरक लिङ्ग वा समुदायको व्यक्तिलाई मनोनयन गर्नुपर्ने व्यवस्था छ ।
आयोगले निर्वाचन कार्यक्रम अनुसार चैत्र १ गते मतदाता नामावली प्रकाशन, चैत्र ३ गते उम्मेदवारी दर्ता तथा चैत्र ४ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यक्रम रहेको जनाएको छ । चैत्र ९ गते (शुक्रबार) विहान १० वजेदेखि अपरान्ह ३ वजेसम्म अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा मतदान आयोगले जनाएको छ ।