दिगो विकास र वातावरण « प्रशासन
prasaLogo
२७ फाल्गुन २०७४, आईतवार

दिगो विकास र वातावरण


प्रकाशित मिति : 11 March, 2018 3:38 pm

मानिस विकासप्रति क्रियाशील रहने प्राणी हो । उसले विकास कार्यको लागि प्राकृतिक स्रोत र साधनको उपयोग गर्दछ ।
बिश्वमा तीब्रगतिमा भइरहेको आर्थिक विकास, जनसंख्याको वृद्धि, औद्योगीकरण, शहरीकरण, सुविधा र विलासिताका सामानको उपयोगमा वृद्धि आदिको कारण प्राकृतिक स्रोतको अत्यधिक दोहन हुन थालेको र यस्ता गतिविधिले प्रकृतिको भारवहन क्षमता (Carrying capacity) मा ह्रास आउने, जीवजन्तु तथा जीवात्माहरुको बांच्न पाउने अधिकारको हनन हुने, जीवन चक्रप्रणाली र वातावरणीय संतुलनमाथि प्रतिकूल प्रभाव पर्ने महसुस गरिन थालेपछि अर्थशास्त्री, विकासविद्, वातावरणविद् तथा अधिकारकर्मीहरुको ध्यान यसतर्फ आकर्षित भयो ।

उनिहरुले प्राकृतिक संरक्षणतर्फ वकालत गर्न थाले । प्राकृतिक साधनको परिमाण निश्चित हुने र अनन्तकालसम्म टिक्न नसक्ने हुँदा विकासको काम गर्दा प्रकृतिको संरक्षण पनि गर्नु पर्दछ भन्ने विचारहरु व्यक्त हुन थाले । यसरी दिगो विकासको अवधारणाको विकास भयो ।

प्रकृतिबाट आफूलाई जति चाहिएको छ त्यतिमात्र लिनु र लिइए जतिको पनि अधिकतम उपयोग गर्नु पर्छ । आखिरमा प्रकृतिक साधनहरु पनि सीमित छन्, चीरकालसम्म यो रहँदैन । अविवेकी ढंगले यसको दोहन गरियो भने भविष्यका पुस्ताहरुले यसको उपयोग गर्न पाउने छैनन् ।

दिगो विकास भनेको भविष्यका पुस्ताहरुको आवश्यकतामा कटौती नगरी वर्तमानको आवश्यकता पूर्ति गर्नु हो । यस अर्थमा दिगो विकास भनेको विकासको लागि प्राकृतिक साधनको विवेकपूर्ण प्रयोग हो ।

दिगो विकास संबन्धमा सबैभन्दा परिमार्जित अवधारणा संयुक्त राष्ट्रसंघीय वातावरण तथा विकास संबन्धी विश्व आयोग (World commission on Environment and Development) ले दिएको परिभाषामा पाइन्छ । उसले भनेको छ -Sustainable development means meeting the  needs of the present generation without compromising the needs of future generation.

दिगो विकासले यी ३ कुराहरुलाई आत्मसात गरेको छ :

१. सबै आर्थिक क्रियाकलापहरुको अन्तिम आधार प्राकृतिक साधन नै हो ।
२. प्राकृतिक साधनहरु निश्चित परिमाणमा वा सीमित हुन्छ । अनन्त कालसम्म रहँदैन ।
३. सीमित साधन र स्रोतको अविवेकी उपयोग गर्दा भविष्यमा पुस्ताको आवश्यकतामा प्रतिकूल प्रभाव पर्छ ।

दिगो विकासको उद्देश्य

१.मानवीय विकास र प्रगति
२. प्राकृतिक साधनको विवेकपूर्ण उपयोग
३. प्राकृतिक संरक्षण र
४.उच्च, स्थिर र दिगो आर्थिक वृद्धि ।

दिगो विकासका आयामहरु

१.आर्थिक आयाम
२. सामाजिक आयाम र
३.प्राकृतिक आयाम

अन्तर्राष्ट्रिय प्रयास

  •  सन् १९७२ मा स्वीडनको स्टकहोममा १ सय १३ राष्ट्रहरु सम्मिलित मानव तथा वातावरण संबन्धी सम्मेलन भयो ।
  • सन् १९७३ मा United Nations Environment Program (UNEP) नामको अन्तरराष्ट्रिय संस्थाको स्थापना भई विभिन्न संझौताहरु भए ।
  • World Commission for Environment and Development (वातावरण र विकासको लागि विश्व आयोग) को स्थापना भयो ।
  • सन् १९८७ मा हाम्रो साझा भविष्य (Our common future)  नामक ब्रुटल्याण्ड कमिशनको प्रतिवेदन प्रस्तुत भयो । यही प्रतिवेदनले दिगो विकासको परिभाषा गर्यो ।
  • सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा अन्तर्राष्ट्रिय सम्मेलन भयो जसलाई Earth Summit भनिन्छ । यसले Agenda-21 पारित गर्यो । यो सम्मेलनले वातावरण र विकासबीचमा दिगो संबन्ध कायम गर्न जैविक विविधताको विश्वव्यापी संरक्षणको प्रतिबद्धता सहित साझेदारी र सहकार्यको लागि वातावरणको सिर्जना गर्यो ।

दिगो विकासका सूचकहरु

दिगो विकासलाई कुनै उपकरण वा पारामिटरबाट मापन गर्न सकिदैन । यसलाई महसूस गर्न सकिन्छ । तर यसका प्रतिकूल प्रभावहरुलाई राम्ररी देख्न र अनुभव गर्न सकिन्छ ।
दिगो विकासका केही सूचकहरु निम्न हुन सक्छन् :

क. आर्थिक सूचक

 कुल ग्राहस्थ उत्पादन र लगानीको अनुपात
 रोजगारीको दर
 वातावरण संरक्षणमा गरेको खर्च
 बाहय लगानी र सहायता

ख. वातावरणीय सूचक

 बन क्षेत्रको परिमाण
 फोहरमैलाको व्यवस्थापनको अवस्था
 ग्रीनहाउस ग्याँस उत्पादन
 ओजन तहको विनाशको अवस्था
 कृषि योग्य जमीनको उपयोग
 मल र कीटनाशक औषधिको प्रयोगको अवस्था
 प्रति व्यक्ति पानीको उपयोग
 हानिकारक रसायनहरुको निष्काशन

ग. सामाजिक सूचक

 जनसंख्या र त्यसको व्यवस्थापन,
 औषत आयु,
 शहरीकरण र शहरी जनसंख्या,
 प्रति व्यक्ति भूमिको अनुपात,
 महिला र बालश्रमको अवस्था,
 मातृ तथा बालमृत्युदर,
 शौचालयको प्रयोगको अवस्था ।

घ. संस्थागत सूचक

 दक्ष मानवस्रोत,
 संगठनात्मक क्षमता र प्रशिक्षणहरु,
 सूचना प्रविधिको उपयोगको स्तर,
 अन्तरनिकाय सहयोग र समन्वय,
 जनचेतना र जनसहभागिताको स्तर ।

दिगो विकासको लागि नेपालले गरेका प्रयासहरु

क.संवैधानिक र कानूनी व्यवस्था

१. नेपाल अधिराज्यको संविधान, २०४७ मा दिगो आर्थिक विकासको लागि प्राकृतिक संरक्षण, विकेन्द्रीकरण र गरीबी निवारणको माध्यमलाई आधार बनाउने नीति लिइयो ।
२. ब्राजिलको रियो दि जेनेरियोमा भएको सम्मेलनमा सहभागिता जनाइयो । विभिन्न अन्तर्राष्ट्रिय महासंधिहरुको अनुमोदन गरी सोही अनुरुप राष्ट्रियस्तरमा नीति र नियमहरुको तर्जुमा गरियो ।
३. प्राकृतिक संरक्षण ऐन, २०५३ र नियमावली, २०५४ लगायत अन्य विभिन्न ऐन, नियम तथा निर्देशिकाहरुको तर्जुमा गरि कार्यान्वयन गरिएका छन् ।
४. औद्योगिक व्यवसाय ऐनमा विभिन्न किसिमका व्यवस्थाहरु उल्लेख गरिएका छन् ।

ख. नीति, योजना तथा कार्यक्रमहरु

१. नेपालले छैठौं पञ्चवर्षिय योजनादेखि प्राकृतिक संरक्षणतर्फ कार्यको थालनी गरेको हो । वि.सं.२०४४ मा प्राकृतिक संरक्षण कार्यनीतिको तर्जुमा गरी कार्यान्वयन गर्न आरम्भ भयो ।
२. जनसंख्या नियंत्रणको लागि विभिन्न कार्यक्रमहरुको संचालन हुँदै आएका छन् ।
३. २० वर्षे दीर्घकालिन कृषि योजना कार्यान्वयन गरिएको छ ।
४. नवौं र दशौं योजनामा गरीबी निवारणलाई एकमात्र उद्देश्य निर्धारण गरिएको छ ।
५. विकास निर्माणको कार्य आरम्भ गर्नुअघि वातावरणीय प्रभाव मूल्यांकन (Environmental Impact Assessment) गर्नुपर्ने अनिवार्य गरिएकोछ ।
६. जनचेतना अभिवृद्धि र जनसहभागिताको लागि विभिन्न कार्यक्रमहरु संचालन गरिएका छन् ।
७. आर्थिक विकासकोलागि निजीकरण तथा आर्थिक उदारीकरणको नीति अंगीकार गरिएको छ ।

ग. संस्थागत र संरचनागत व्यवस्था

१. प्र.मं.को अध्यक्षतामा वातावरण संरक्षण परिषद्को गठन गरियो ।
२. वातावरण मंत्रालयको स्थापना गरियो ।
३. रा.यो.आयोगमा वातावरण महाशाखाको स्थापना गरियो । त्यसैगरि विभिन्न मंत्रालयहरुमा Focal person  को व्यवस्था गरिएको छ ।
४. मानवस्रोत विकास परिषद्को गठन भयो ।
५. वातावरण संरक्षणको लागि स्थानीय निकायहरु, विभिन्न गैरसरकारी संस्था तथा उपभोक्ता समूहहरुलाई परिचालन गरिएको छ ।
६. जैविक विविधता संरक्षण कोषको स्थापना गरिएको छ ।
७. राष्ट्रपति चुरे संरक्षण कार्यक्रम कार्यान्वयन गरिएकोछ ।

नेपालमा दिगो विकासका चुनौती र समस्याहरु

१. वातावरण संरक्षणप्रति राजनीतिक र प्रशासनिक क्षेत्रको उदासीनता,
२. राजनैतिक अस्थिरताको कारण कानूनी शासनको अभाव रहेको छ । यसले गर्दा ब्यापक बन फंडानी, वन्यजन्तुहरुको तस्करी, नदीजन्य वस्तुहरुको जथाभावी दोहन गर्ने कार्यमा बृद्धि भैरहेको छ,
३. संस्थागत संरचना र व्यवस्थापकीय क्षमताको अभाव,
४. वैदेशिक सहयोगको उपयोग क्षमताको अभाव,
५. तीब्र गतिको बसाई सराई, औद्योगीकरण, शहरीकरण, यातायातको साधनमा वृद्धि आदिले वातावरण प्रदूषणमा वृद्धि अवैज्ञानिक तरिकाले विकासका गतिविधिहरु संचालन हुने गरेको,
६. देश र जनताको गरीबीले गर्दा बनजंगलमाथिको निर्भरता बढेको,
७. आर्थिक स्रोतको अभावले जलस्रोतको भंडार भएपनि पर्याप्त विद्युत उत्पादन गर्न नसकिएको,
८. निर्धनता र जनचेतनाको कमीले सौर्य उर्जा र वायो ग्यांसको उपयोग गर्न नसकिएको,
९. पुनस्प्रयोज्य (Reusable/Recycling), नवीकरणीय उर्जा (Renewable), सह उत्पादनको (By product) उचित उपयोग गर्न नसकिएको,
१०. कार्यक्रमहरुको निरन्तरताको अभाव,
११. वातावरण संरक्षणको क्षेत्रमा क्रियाशील विभिन्न निकायहरुबीच सहयोग र समन्वयको तथा कार्यक्रममा जनसहभागिताको अभाव,
१२. स्थानीय निकायहरुबाट प्राविधिक सहयोग र वातावरणीय प्रभाव मूल्यांकन बिना जथाभावी ढंगबाट बाटोको निर्माण भइरहेको हुँदा पहाडी क्षेत्रहरुमा पहिरो (Land slide) को संख्यामा बृद्धि,
१३. बैज्ञानिक भू उपयोग नीतिको कार्यान्वयन नभएको,
१४. जनसंख्याको उचित व्यवस्थापन नभएको ।

नेपालले दिगो विकासको लागि लिनु पर्ने नीति र गर्नुपर्ने कार्यहरु

१. वातावरणको संरक्षण

क. बन व्यवस्थापन उचित किसिमले गर्ने,
ख. बन फंडानी, चोरी शिकारी तथा बनजन्य वस्तुहरुको तस्करीको प्रभावकारी रुपले नियंत्रण गर्ने,
ग. सबै किसिमका प्रदूषणहरुको व्यवस्थापन गर्ने,
घ. बैज्ञानिक भू उपयोग नीति कार्यान्वयन गर्ने,
ङ. वैज्ञानिक र जैविक खेती प्रणालीको विकास गर्ने ।

२. जनसंख्याको व्यवस्थापन

क. परिवार नियोजन तथा प्रजनन स्वास्थ्य कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्ने ।
ख. रोजगारीका अवसरको सिर्जना गरि गरिबी नियंत्रण गर्ने,
ग. व्यवस्थित शहरीकरण ।

३. जलस्रोत र अन्य उर्जाको उत्पादन

क. कृषि उत्पादनमा वृद्धिको लागि जलस्रोतको उपयोग गरि सिंचाइको सुविधा बढाउने ।
ख. जल बिद्युत उत्पादनमा वृद्धि गर्ने,
ग. सौर्य उर्जा, बायो ग्यांसहरुको उत्पादन र उपयोग गर्ने,
घ. पुनस्प्रयोज्य (Re usable/Recycling), नवीकरणीय उर्जा (Renewable) हरुको उत्पादन र उपयोग क्षमताको विकास र वृद्धि गर्ने ।

४. संस्थागत विकास

क. मानव संशाधनको विकास,
ख. विकेन्द्रीकरण,
ग. कानूनी शासन,
घ. जनसहभागितामा वृद्धि ।

निष्कर्ष

भावी पिंढीले पनि प्राकृतिक स्रोत र साधनको उपयोग गर्न पाउने व्यवस्था मिलाई वर्तमानका पुस्ताहरुले यसको उपयोग गर्दै विकास गर्नु नै दिगो विकास हो । प्राकृतिक साधनलाई अहिल्यै रित्याएर मानिसले आफू, अन्य जीवधारीहरु र भविष्यका सन्ततिहरुलाई संकटमा पार्नु हुँदैन । प्राकृतिक खजानाबाट आवश्यक जतिमात्र लिनु र त्यसको अधिकतम उपयोग  गर्नुपर्दछ । प्रकृतिको संरक्षण गरी वातावरणीय सन्तुलन कायम गरेमा सम्पूर्ण भूमण्डलको सन्तुलन कायम गरी मानिसको चौतर्फी विकास गर्नु उत्तम हुनेछ ।

हुन त दिगो विकासको अवधारणालाई लिएर यसको आलोचना पनि हुने गरेको छ । शक्तिशाली राष्ट्रहरुले साना राष्ट्रहरुको शोषण गरिरहेका छन् । दिगो विकास कमजोर मुलुकहरुको विकासमा बाधक रहेको छ । औद्योगिक मुलुकहरुले उत्पादन गरेका प्रदूषणको नकारात्मक प्रभाव कमजोर राष्ट्रहरुले भोग्नु परेको छ । दिगो विकास केवल नारामा मात्र सीमित रहन पुगेको छ ।

जेसुकै भए पनि दिगो विकासको अवधारणाको महत्व धेरै छ । विकसित र कम विकसित राष्ट्रहरुले एकताबद्ध यसतर्फ कार्य गर्नु आवश्यक छ । दिगो विकासको लागि आफ्नो देशको कर्तव्य र जिम्मेवारीलाई पूरा गरेर पृथ्वी र यहाँका बासिन्दालाई सुन्दर र सुखी बनाउनु पर्दछ ।

लेखक : मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सुर्खेतको उप सचिव पदमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस