काठमाडौं । नेपाली सेनाको जागिरेबाट सेवा अवकास भएका पूर्वकर्णेल सुवर्णलाल चित्रकारले आफुहरुले सुरुवात गरेको ५ रुपयाँ अभियान घरबार र साहारा विहीनहरुको आश्रय थलो बन्न गएको बताएका छन् ।
शनिवार मानव सेवा आश्रम समाखुसी काठमाडौंले आयोजना गरेको भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै मानव सेवा आश्रमका अभिभावक समेत रहेका चित्रकारले २०७२ माघ महिनाबाट सुरु गरेको दैनिक ५ रुपयाँ सहयोग अभियानले निरन्तरता पाउदाँ घरपरिवार नभएका, बेवारिसे, सडक र खुला आकाशमुनि रात बिताउन विवस मनोरोगिहरुको उद्दार, पालनपोषण एवं पारिवारिक पुनर्मिलनमा सहयोग पुगेको बताए ।
उनले भने ‘५ रुपयाँ अभियान ठुलो कुरो होईन, हामी अनाअवश्यक रुपमा लाखौ धन सम्पती खर्च गर्छौ, पार्टि भोजमा लाखौ रुपयाँ खर्च गर्छौ तर ति साहारा विहीनहरुको लागि दैनिक ५ रुपयाँ खर्च गर्न नसकिने भन्ने हुन्न र त्यसको लागि धन होईन मन चाहिन्छ ।’
हामीसँग लाखौको धन सम्पत्ति छ । गाडी मोटर छ । जग्गा जमिन छ । तर हामी मरेर जादाँ के नै लाने हो र ! त्यसैले दान गर्न सेवा गर्न करोडको धन सम्पत्ति हुनुपर्छ भन्ने होईन, मन भए पुग्छ । धनले होईन दानले नै परम सन्तुष्ठि मिल्छ –पूर्वकर्नेल चित्रकारले भने ।
अहिले सबै क्षेत्रमा मानवता सेवा, दया र करुणाको भावको कमी भईरहेकोले ति कुराहरुलाई जगाउन ब्यवहारीक रुपमा बाहिर ल्याउन योग, ध्यान, दान गर्न जरुरी रहेको चित्रकारले बताए । उनले भने –शिक्षामा सुधार हुन जरुरी छ । निस्वार्थ रुपमा सेवा गर्नुपर्छ, आफ्नो धर्म संस्कृतीलाई पुरस्कृत गर्नुपर्छ हत्या हिंसा, लोभ लालच, अहंकार गर्नुहुन्न, भ्रस्टाचार गर्नुहुन्न भन्ने मानसिकता हुन सकिरहेको छैन् । त्यसैले दिनानुदिन शिक्षाको गुणस्तर खस्किँदै गएको र सुधार हुनुपर्ने चिन्ता समेत ब्यक्त गरे ।
काठमाण्डौस्थित समाखुसी शाखामा मात्र हाल ६८ जना साहाराविहीन रहेका छन् । उनिहरुका लागि अहिले मन भएका दानबिरहरुले दैनिक र मासिक रुपमा सहयोग गर्दै आईरहेका छन् । त्यस्ता दानबिरहरुलाई मानव सेवा आश्रमले सम्मान तथा धन्यवादको कार्यलाई निरन्तरता दिईरहेको समेत चित्रकारले बताए ।
करिव ८ सय भन्दा बढी साहारा विहीनको सेवा
२०६९ साल भाद्र १३ गते मकवानपुरको हेटौडाबाट संचालन भएको मानव सेवा आश्रमले हाल देशका विभिन्न १० वटा जिल्लाका १२ वटा स्थानमा मानव सेवा आश्रम स्थलहरु संचालनमा रहेका छन् । ति आश्रम स्थलहरु बाट बालवालिकादेखि बृद्धबृद्धा गरि हालसम्म करिव ८ सय भन्दा बढीको संख्याले सेवा लिईरहेका छन् ।
मकवानपुरको हेटौडाबाट सुरु भएको अभियानले अहिले देशका चितवन, काठमाण्डौ, ललितपुर गोरखा, लजमुङ, बाग्लुङ, पर्सा, कास्की र रुपन्देही जिल्लाका विभिन्न स्थानहरुमा शाखा, उपशाखा स्थापना गरेको भएपनि प्रदेश नम्बर १, ६ र ७ मा भने शाखा स्थापना हुन सकेको छैन् ।
करिव ३ सय जनाको पारिवारीक पुनर्मिलन
देशका विभिन्न स्थामा रहेका मानव सेवा आश्रम केन्द्रबाट सेवा लिई घर परिवार नभएका, बेबारीसे, खुल्ला आकासमुनि रात विताउन विवस मनोरोगि मानिसहरुमध्ये करिव ३ सय जनाको पुनर्मिलन भईसकेको मानब सेवा आश्रमका प्रवक्ता सुमन बर्तौलाले बताए । उनले भने –मानव सेवा नै धर्म हो भन्ने उद्देश्यका साथ संस्थाले सुरुवात गरेको अभियानले आश्रममा आएकाहरुलाई साहार सुसार, स्वास्थ्य उपचार र मानसिक रुपमा उपचार गरेपश्चात परिवारसंग पुनर्मिलन भई आफ्नो घर अथवा कामतर्फ जाने गरेको बताए ।
निरन्तरतामा सरकारको ध्यान
मानब सेवा आश्रमले संचालन गरेको यस्ता अभियान तथा कार्यहरुलाई सरकारले निरन्तरता दिनुपर्ने कुरामा योग गुरुहरुले जोड दिएका छन् ।
नेपाललाई २०८२ भित्र कोही पनि भोकै र नाँगै नरहुन भन्ने उद्देश्यका साथ मानव सेवा आश्रमले सुरु गर्दै आएको जस्तै सेवाकारी कार्यलाई देशब्यापी बनाउन नेपाल सरकारले पनि सहयोग गर्न आवश्यक रहेकोले आगामी वार्षिक कार्यक्रम एवं नीति निमार्ण तहमा पनि समावेश गनुपर्ने कुरामा पछिल्लो समयमा सेवाकारी भावले गठीत संध संस्था र समितिहरुले आवाज उठाउन थालेका छन् ।
समाखुसी योग केन्द्रमा कार्यरत एक योग गुरु भन्छन्–सरकारले देशका विशिष्ठ ब्यक्तिहरुको उपचारको लागि भनेर करोडौ रुपयाँ खर्च गर्न सक्छ तर यस्ता साहारा विहिन्को दैनिकी गुजारा चलाउन किन नसक्ने ? त्यसैले यतातिर पनि सरकारको ध्यान जान आवश्यक छ । पुर्व मेची देखि पश्चिम महाकालीसम्म अहिलेसम्म हजारौको संख्यामा साहारा विहीनहरुको संख्या रहेपनि सरकारले कुनै खास बिशेष कार्यक्रम एवं अभियान संचालन गर्न सकेको देखिदैन ।