दिपायल, डोटी । प्रदेश नम्बर ७ का मुख्य मन्त्री त्रिलोचन भट्टले ७ नम्बर प्रदेशलाई देशकै नमुना प्रदेश बनाउने बताएका छन् ।
माध २८ गते देखि दिपायलमा संचालन रहेको प्रादेशिक महोत्सवको समापन समारोहमा सहभागि हुन आज गृह जिल्ला डोटी पुगेका मुख्यमन्त्री भट्टले हिमाल, पहाड र तराईको समिश्रण रहेको प्रदेश नम्बर ७ लाई देशकै नमुना प्रदेश बनाउने बताएका हुन् ।
७ नम्बर प्रदेश अन्य प्रदेश भन्दा पछाडी देखिए पनि भविश्यमा सबैभन्दा धनी र समृद्ध प्रदेशको रुपमा चिनिने बताए । उनले भने “हाम्रो प्रदेश भनेको सम्भावनाको खानीको रुपमा रहेको छ । विषेशगरी कृर्षि, पर्यटन एवं धार्मिक क्षेत्रको विकास, जलश्रोतको ब्यवस्थापन र जडीबुटीको प्रर्वधन गर्न मात्र सके विकासले गति लिने छ र प्रदेश आफै शक्तिशाली तथा समृद्ध बन्नेछ ।”
मुलुक संघीयतामा गएसंगै नेपाली जनताको बलीदानबाट सिंहदरबारको अधिकार आज गाँउघरमा आएको बताउँदै मन्त्री भट्टले त्यसको कार्यान्वयन र संस्थागत गर्न हामी सबैको दायीत्व रहेको बताए । सबैले आ–आफ्नो क्षेत्रबाट संघीयताको जग बसाउन सहयोग गर्नुपर्ने समेत भट्टले आग्रह गरे ।
डोटी उद्योग वाणिज्य संघका अध्यक्ष नरेन्द्र खड्काको सभापतित्वमा संचालन भएको समापन समारोहमा प्रदेश सभासद पुर्णा जोशी, सुदुरपश्चिम पृतना राजपुरका पुतनापती झंकर कडायत, दिपायल सिलगढी नगरपालीका प्रमुख मञ्जु मलासी, शिखर नगरपालीकाका प्रमुख सिताराम जोशी लगाएको सहभागिता रहेको थियो ।
कृर्षि पर्यटन उद्योग ब्यापारको पुर्वाधार ७ नम्बर प्रदेशको विकासको मुल आधार भन्ने नाराका साथ १२ दिन सम्म चलेको प्रादेशीक महोत्समा करीव २ करोड बराबरको कारोबार भएको अध्यक्ष खड्काले बताए ।