प्रदेश १ को नामबारे सांसदहरू विभाजित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

प्रदेश १ को नामबारे सांसदहरू विभाजित


२८ माघ २०७४, आइतबार


काठमाडौं । प्रदेश १ को नाम के राख्ने भन्ने बहस सुरु भएको छ । जातीय वा भौगोलिक पहिचानका आधारमा राख्ने वा कुनै ऐतिहासिक धार्मिक सांस्कृतिक नाम राख्ने भन्नेमा सांसदहरूबीच मतभिन्नता देखिएको छ । कतिपय सांसद भने नामको विषय सहमतिमा टुंगो लगाइने भन्दै मौन बसेका छन् ।

प्रदेश १ मा ९३ सांसद छन्, जसमा एमालेका ५१, कांग्रेसका २१, माओवादीका १६, संघीय फोरमका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक–एकजना सांसद छन् । प्रदेशको स्थायी राजधानी कहाँ रहने र नाम के रहने भन्नेबारे पार्टीगतभन्दा पनि सांसदहरूले व्यक्तिगत धारणा अघि सारेका छन् ।

कञ्चनजंगा प्रदेशको माग
कांग्रेस सांसद सूर्यमाराज राईले प्रदेश १ को नाम धार्मिक, पर्यटकीय तथा भौगोलिक क्षेत्रको नामबाट राख्नुपर्ने बताए । उनले लिम्बुवान वा खुम्बुवानलगायतका जातीय पहिचानको कुरा गर्दा साँघुरो हुने बताए । उनले भने, ‘प्रदेश १ मा धेरै जातजाति, भाषाभाषीका मानिस बसोवास गर्छन् ।

एउटा जातीय पहिचानको कुरा गर्दा अर्को टाढिएजस्तो हुन्छ । बरु कुनै हिमालको नामबाट प्रदेशको नाम राख्नुपर्छ । कञ्चनजंगा हिमालको नामबाट राख्न सकिन्छ ।’

किरात–चोमोलुङ्माको प्रस्ताव
प्रदेशको नामबारे केही सांसदले भने बहुपहिचानसहितको नाम अघिसार्नुपर्ने बताएका छन् । माओवादी सांसद सौभाग्य राईले जातीय र भौगोलिक दुवै पहिचान झल्किने नाम हुनुपर्ने बताए ।

उनले भने, ‘बहुपहिचानका आधारमा नाम राख्दा किरात–कोसी, किरात–सगरमाथा वा किरात–चोमोलुङ्मा नाम राखिनुपर्छ । यसो गर्दा भौगोलिक नाम पनि समेटिन्छ ।’

केही सांसद मौन
प्रदेश १ मा ९३ सांसदमध्ये अधिकांश सांसद प्रदेश सभाको मुकाम तथा नामबारे मौन देखिन्छन् । उनीहरू प्रदेशको नामांकन प्रदेश सभाको दुईतिहाइले टुंगो लगाउने विषय भएको तर्क गरिरहेका छन् ।

कांग्रेसका सांसद केदार कार्कीले यी विषय प्रदेश सभाले टुंगो लगाउने भन्दै आफ्नो व्यक्तिगत धारणाले नहुने बताए । संघीय समाजवादी फोरमका सांसद जयराम यादवले यसबारे हाल केही नबोल्ने बताए । प्रदेश सभाका सदस्यको सहमति जेमा हुन्छ, त्यसैमा आफूले सहमति जनाउने उनको धारणा छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस