काठमाडौं । काठमाडौंको दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा एक युवतीमाथि भएको सामूहिक बलात्कारको घटनामा संलग्न प्रहरीलाई कारवाही प्रक्रिया अगाडि बढाइएको छ ।
सामूहिक बलात्कारको घटनालाई गुपछुप राख्ने प्रहरीका सई निलम्बनमा परेका छन् भने प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई प्रहरी प्रधान कार्यालयको १ नम्बर गणमा थुनामा राखिएको छ । त्यसैगरी वृत्तका प्रमुख डीएसपीलाई महानगरीय प्रहरी परिसरमा तानिएको छ।
घटनाको छानबिन गर्न महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको नेतृत्वमा गठित समितिको अनुसन्धानपछि वृत्तमा कार्यरत सई चन्द भण्डारीले घटना लुकाउनमा मुख्य भूमिका खेलेकोले उनलाई निलम्वन गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रविन्द्र धानुकले वताए ।
प्रमुख धानुकका अनुसार अभियुक्तसँग मिलेर घटनालाई लुकाउन खोज्ने प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीलाई थुनामा राखिएको छ भने वृत्तका प्रमुख डीएसपी तिलक भारतीलाई अनुसन्धानका लागि महानगरीय प्रहरी प्रहरी परिसरमा तानिएको छ।