को बन्ला मुख्यमन्त्री ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

को बन्ला मुख्यमन्त्री ?


१२ माघ २०७४, शुक्रबार


काठमाडौं/सुर्खेत/विराटनगर । प्रदेश २ बाहेक सबैमा सरकार गठनको तयारीमा रहेको वाम गठबन्धनभित्र मुख्यमन्त्रीका दाबेदारहरूको दौडधुप बढेको छ । फागुन पहिलो साताभित्र सातै प्रदेशमा मुख्यमन्त्री चयन गरिसक्नुपर्ने भएकाले आकांक्षीहरूले राजधानीमा दौडधुप बढाएका हुन् ।

आकांक्षीमध्ये केहीले काठमाडौंमा पार्टीका शीर्ष नेतामाथि ‘दबाब’ बढाउन थालेका छन् भने केहीचाहिँ नेताहरूसँग एकचरण भेटघाट सकेर प्रदेश फर्केका छन् । शीर्ष नेताहरूले भने एमाले–माओवादीबीच भागबन्डा मिलिनसकेकाले नहतारिन सल्लाह दिँदै फर्काइरहेका छन् । ‘विषयमा प्रवेश गरी छलफल नै भइसकेको छैन, राष्ट्रियसभा चुनावको उम्मेदवार मनोनयन सकिएकाले अब बल्ल कार्यदलले समग्रमा भागबन्डा मिलाउँछ’, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको सचिवालयले भन्यो, ‘संस्थागत छलफल भइसकेको छैन तर आकांक्षीहरू भने विषय ‘रिफ्रेस’ गराउन भन्दै धाउन थाल्नुभएको छ ।’

एमाले–माओवादीबीच ४÷२ को भागबन्डामा सहमति भए प्रदेश १, ३, ४ र ५ मा एमाले तथा ६ र ७ मा माओवादीले मुख्यमन्त्री पाउनेछ । माओवादीले पाउने चर्चा चलेको प्रदेश ७ का आकांक्षी वीरमान चौधरी र झपट बोहोरा काठमाडौंमा एकचरण छलफल गरी फर्केका छन् । प्रदेश ६ का आकांक्षीमध्ये नरेश भण्डारी काठमाडौंमै छन् भने महेन्द्रबहादुर शाही बिहीबार प्रदेशमा निर्वाचित भएपछि दोहोर्याएर काठमाडौं आउँदै छन् । प्रदेश ६ मा एमालेले पनि आफ्नो दाबी छाडेको छैन । एमालेको प्रदेश संसदीय दलले निर्णय नै गरेर मुख्यमन्त्री नछाड्न नेतृत्वलाई दबाब दिइसकेको छ । एमालेबाट यामलाल कँडेल र प्रकाश ज्वाला मुख्यमन्त्रीको दाबेदार छन् ।

एमालेबाट प्रदेश १ का मुख्यमन्त्री आकांक्षी शेरधन राई र भीम आचार्य दुवै काठमाडौं छन् । प्रदेश ३ का आकांक्षी पशुपति चौलागाईं र राजेन्द्र पाण्डे तथा प्रदेश ४ का पृथ्वीसुब्बा गुरुङ र किरण गुरुङ पनि काठमाडौंमै नेताहरूसँग बाक्लो सम्पर्क र संवादमा छन् । पार्टीभित्रका प्रतिस्पर्धीले एक–अर्कोलाई ‘फलो’ समेत गर्न थालेका छन् । आकांक्षीमध्ये एक नेता काठमाडौं आए अर्का पनि आउने र जिल्ला फर्के उतै फर्कने क्रम चलेको छ । त्यसैका उदाहरण हुन्, प्रदेश ७ का मुख्यमन्त्री आकांक्षी चौधरी र बोहोरा। दुवै नेता अहिले जिल्लामा छन् । एक साताअघि मात्र दुवै जना काठमाडौंमा लबिङ गरिरहेका थिए ।

‘अहिले सामान्य छलफल चलेको छ, गहिरिएर विषय पर्गेल्ने गरी प्रदेश सरकार गठनको छलफल नै चलेको छैन’, माओवादी प्रदेश ६ का आकांक्षी भण्डारीले भने, ‘केन्द्रमा भागबन्डा मिलेपछि प्रदेशमा सरकार गठनको गृहकार्य हुन्छ ।’ जुम्लाबाट निर्वाचित भण्डारीले आफ्नो नाममा शीर्ष नेताहरूबीच सहमति भइसकेको दाबी गरे । ‘मेरो नाममा शीर्ष नेताहरूबीच सहमति भइसकेको छ, अब पार्टीले औपचारिक निर्णय गर्न बाँकी छ । पार्टीले मुख्यमन्त्रीको आश्वासन दिएरै प्रदेशसभामा लडेको थिएँ, यसमा कुनै दुविधा छैन’, उनले भने । भण्डारी वरिष्ठ नेता रामबहादुर थापानिकट हुन् । थापाले पार्टीभित्र जोड गरेमा मुख्यमन्त्रीमा भण्डारीको सम्भावना बलियो हुने कार्यकर्ता बताउँछन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालनिकट मानिने शाहीले भने हल्लाको अर्थ नहुने बताएका छन् । ‘कसैले फेसबुकमा प्रचार गर्दैमा हुने होइन, बजार हल्लाको अर्थ पनि छैन। मुख्यमन्त्रीको निर्णय पार्टीले गर्ने हो, पार्टीले जसलाई अगाडि सार्छ उही हुन्छ’, उनले भने । आफ्नो आकांक्षा रहे पनि पार्टीले गरेको निर्णय स्वीकार गर्ने उनले बताए। शाहीले पनि मुख्यमन्त्रीका लागि पार्टी नेतृत्वसँग दौडधुप जारी राखेका छन् । दुई नेताबीच मुख्यमन्त्रीका लागि होडबाजी भएपछि दोस्रो तहका नेताहरूले सहमतिमा ल्याउन कसरत गरिरहेका छन् ।

एमाले प्रदेश ६ का सहसंयोजक यामलाल कँडेलले भने पार्टी एकताको सर्त मुख्यमन्त्री हुन नसक्ने बताएका छन् । ‘एउटै पार्टी बनाउने हो भने भागबन्डा किन चाहियो ? प्रदेशमा हामीसँग एकल सरकार बनाउन सक्ने हैसियत छ, मुख्यमन्त्री त छाड्न सकिँदैन’, उनले भने । प्रदेशसभाका ४० मध्ये आफूहरूसँग आधा अर्थात् २० सिट रहेको र आफूहरूको सहभागिताबिना सरकार नै नबन्ने अवस्था रहेकाले नेतृत्व पनि अरूलाई छाड्न नसकिने उनको अडान छ ।

एमालेमा कँडेल र प्रकाश ज्वालाबीच प्रदेशसभा संसदीय दलको नेता बन्न प्रतिस्पर्धा सुरु भएको छ। मुख्यमन्त्री दाबी गर्दै आएका यी दुई नेताबीच दलको नेता को बन्ने होडबाजी नै चलेको छ । संसदीय दलको नेता बन्नकै लागि दुवै जनाले शीर्ष नेतासँग आफ्नो पक्षमा लबिङ गरिरहेका छन् । प्रदेश सांसदको शपथलगत्तै वीरेन्द्रनगरमा सम्पन्न संसदीय दलको बैठकले दलको नेता चयन गर्न सकेन । सहमति नजुटेपछि आकांक्षीहरू शीर्ष नेताहरूलाई रिझाउने दौडमा छन् । ‘संसदीय दलको पहिलो बैठक मेरो अध्यक्षतामा बसिसक्यो। अब दलको नेताबारे बहस जरुरी छैन’, कँडेलले भने ।

अध्यक्ष केपी ओलीनिकट मानिने कँडेलले मुख्यमन्त्रीका लागि दौडधुप गरिरहँदा वरिष्ठ नेता माधवकुमार नेपालनिकट मानिने प्रकाश ज्वालाले पनि मुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताए । उनले भने, ‘छलफल भइरहेको छ, मेरो नाममा सहमति जुटाउने प्रयास जारी राखेको छु । पार्टीभित्र कुनै विवाद छैन, हामी सहमतिमै यसको टुंगो लगाउँछौं ।’

माओवादीबाट मुख्यमन्त्रीका आकांक्षी भण्डारी र शाही दुवैले केन्द्रमा भागबन्डा मिल्ने दाबी गरेका छन् । अन्य प्रदेशभन्दा यो प्रदेशमा पार्टीलाई बढी मत आएको र जनयुद्धको उद्गम क्षेत्र भएकाले पनि मुख्यमन्त्री लिने माओवादीको तयारी छ । प्रदेशसभामा १३ सिट रहेको माओवादीका नेताहरूले अरू प्रदेशमा एमालेसँग भागबन्डा गर्न नेतृत्वलाई दबाब दिइरहेका छन् । ‘एमालेका साथीहरूले आफ्नो राजनीतिक पोजिसन देखाउन त्यस्तो निर्णय लिनुभएको होला, अप्ठेरो पर्लाजस्तो लाग्दैन, केन्द्रले मिलाएर पठाउँछ’, उनीहरूको तर्क छ ।

दुई पार्टीबीच प्रतिनिधि र प्रदेशसभा चुनावकै बेला मुख्यमन्त्री घोषणा गरेर चुनावमा जाने अनौपचारिक छलफल हुँदा प्रदेश ५ र ६ को मुख्यमन्त्री माओवादीले लिने र बाँकी एमालेले लिने सहमति भएको थियो । तर, प्रदेश ५ मा शंकर पोखरेल नै उठेपछि माओवादीले दाबी छाडेको थियो । त्यसपछि माओवादीले ५ को साटो प्रदेश ७ मा दाबी गर्दै आएको हो । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस