पूर्वमा सहरीकरण तीव्र « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पूर्वमा सहरीकरण तीव्र


५ माघ २०७४, शुक्रबार


विराटनगर । पूर्व–पश्चिम राजमार्ग बन्नुअघि इटहरीको अस्तित्व सामान्य बस्तीका रूपमा थियो । राणाकालमा सतन चौधरीले गैसार भन्ने ठाउँमा जंगल फाँडी यहाँ बसोबास सुरु गरे । अहिलेको इटहरी चोकभन्दा एक किलोमिटर दक्षिणमा रहेको गैसारबाट उत्तरमा ढेडु टोलसम्म फैलिएको बस्तीले आधुनिक रूप धारण गर्न राजमार्ग नै बन्नुपर्‍यो ।

त्यसअघि पूर्वबाट राजधानी जान विकट पहाडी बाटाहरूको प्रयोग हुन्थ्यो । महिनौं हिँडेर राजधानी पुग्नुपथ्र्यो । गाडी चढ्नुपरे भारतको बाटो हुँदै रक्सौलसम्म पुगिन्थ्यो र वीरगन्ज नाकाबाट राजधानी जानुपथ्र्यो । रााजमार्ग निर्माणसँगै यो सवारी चालकहरू बस्ने ‘जक्सन’ बन्यो । बिस्तारै आवागमनको केन्द्र पनि । त्यसपछि यसले रूपै फेर्‍यो । जोगबनीदेखि पहाड उक्लिने बाटाले यहीँनेर पूर्व–पश्चिम राजमार्गलाई छेड्यो । अनि, इटहरी पूर्वकै व्यस्त सहर बन्यो । गाउँबाट उठेर २०५३ मा नगरपालिका घोषित इटहरी २०७१ मंसिरमा उपमहानगरपालिका बन्यो । सुखद संयोग प्रदेश १ का दुई उपमहानगरपालिका सुनसरीमै ‘जुम्ल्याहा’ रूपमा छन्– इटहरी र धरान । यी दुवैले यो प्रदेशको वैभवलाई प्रतिनिधित्व गर्छन् । बितेको दशकमा इटहरी मात्र होइन, यसको पश्चिमको पकली, उत्तरको हाँसपोसा र दक्षिणको खनारसमेत सहरीकरणमा समेटिएका छन् । र, इटहरी–धरानको खाली–सीमा मेटिँदै गएको छ ।

उदाहरण इटहरीको भए पनि मुहार यो सिंगो पूर्वी नेपालको हो । केही वर्षयता यहाँ सहरीकरणको गति तीव्र छ । विक्रम संवत् १९७० सम्म दमक दलदल क्षेत्र थियो । झापाको पुरानो बजार गौरीगन्ज र मोरङको मधुमल्ला आउजाउ गर्दा त्यही दलदल बाटो हिंड्नुपथ्र्यो । त्यही भएर आदिवासी धिमाल समुदायले यसलाई ‘दालदालीको दामा’ भन्ने गर्थे । त्यही शब्द अपभ्रंश हुँदै दमक नामकरण हुन पुगेको दमक नगरपालिकाका पूर्वउपप्रमुख मोहन धिमालले बताए ।

त्यसपछि बिस्तारै नजिकैको रतुवा बगरमा बुधबार बजार लाग्न सुरु भएको थियो । अनि, बजारीकरणतर्फ लाग्यो । २०३९ मा नगरपालिका बनेको दमक तीव्र विकाससाथ अघि बढिरहेको छ । दमकमा विश्वकै अग्लो बुद्ध मूर्ति, क्लिन इन्डस्ट्रियल पार्क, भ्यु टावर निर्माण गर्ने ठूला योजना प्रस्ताव गरिएका छन् । निर्माणाधीन अन्य योजनामा फाल्गुनन्द सभागृह, नमुना बजार, फोहोरमैला प्रशोधन केन्द्र, चक्रपथलगायत छन् । सरकारले विराटनगरलाई प्रदेश १ को राजधानी घोषणा गरेको छ । यसको विकासको गति र फैलावट पनि गतिशील छ । २२ किलोमिटर पूर्वमा रहेको रंगेलीबाट विक्रम संवत् १९७१ मा मोरङको सदरमुकाम यहाँ सारिएको हो । २००८ मा नगरपालिका घोषित विराटनगर ११ वर्षअघि उपमहानगरपालिका बन्यो । यही वर्ष महानगरपालिका बनिसकेको छ ।

भवन तथा सहरी विकास डिभिजन कार्यालय विराटनगरका डिभिजनल इन्जिनियर श्यामकिशोर सिंहका अनु्सार सार्क क्षेत्रमै सहरीकरणको गति नेपालको बढी छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस