आदित्यनाथसँग ज्ञानेन्द्रको वार्ता « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

आदित्यनाथसँग ज्ञानेन्द्रको वार्ता


२५ पुस २०७४, मंगलबार


काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच सोमबार डेढ घन्टा वार्ता भएको छ । मध्यपश्चिम र सुदूरपश्चिम नेपालको निजी भ्रमणमा रहेका शाह आइतबार नेपालगन्जबाट लखनउ पुगेका थिए । पूर्वराजाले आदित्यनाथको सरकारी निवास ५ कालिदासमार्गमा सोमबार बिहान ९ देखि साढे १० बजेसम्म भेटवार्ता गरेका हुन् । मुख्यमन्त्री आदित्यनाथले आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेश राज्यमन्त्री जनरल भिके सिंहसँग पूर्वराजासँग तय भएको भेटबारे छलफल गरेका थिए ।

पूर्वराजाले भेटेका आदित्यनाथ पहिलो उच्च भारतीय अधिकारी
नेपालमा २०६५ सालमा गणतन्त्र स्थापनापछि पूर्वराजा ज्ञानेन्द्रले औपचारिक रूपमा भेटेका सबैभन्दा उच्च भारतीय अधिकारी आदित्यनाथ हुन् । आदित्यनाथले विगतमा लोकसभा सांसदका रूपमा पूर्वराजा ज्ञानेन्द्रसँग पटक–पटक भेटवार्ता गरेका छन् । उनीहरूबीच पछिल्लो भेट २०७३ कात्तिक पहिलो साता काठमाडौंमा भएको थियो । ४ देखि ६ कात्तिकसम्म काठमाडौंको वनकालीमा विश्व हिन्दू महासंघद्वारा आयोजित विराट् हिन्दू सम्मेलनमा सहभागी हुन उनी नेपाल आएका थिए । कार्यक्रममा दुवैजना सँगै थिए भने आदित्यनाथले पूर्वराजासँग अलग्गै भेटवार्ता गरेका थिए । त्यसवेला शंकराचार्य वासुदेवानन्द र भाजपा नेता रघुनन्दन शर्मा पनि भेटवार्तामा साथै थिए । त्यसको एक वर्षअघि नवलपरासीको प्रतापपुरमा आयोजित कार्यक्रममा पनि पूर्वराजा ज्ञानेन्द्र र आदित्यनाथ सँगै थिए । दुवैले हिन्दू सम्मेलनलाई सम्बोधन गरेका थिए ।

पटक–पटक दिल्ली भ्रमणमा जाँदा पूर्वराजाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, भाजपा अध्यक्ष अमित शाह, महासचिव राम माधवसँग भेटवार्ता गरेका थिए । तर, ती सबै भेटवार्ता सार्वजनिक भएका थिएनन् । स्रोतका अनुसार भेटवार्ताको सुरुमा विश्व हिन्दू महासंघका अध्यक्ष भरतकेशर सिंह पनि सहभागी थिए । ‘सुरुवातमा पूर्वराजासँग महासंघका अध्यक्ष सिंह, पूर्वराजाका स्वकीय सचिव सागर तिमल्सिना तथा आदित्यनाथका सेक्रेटरी र उत्तरप्रदेश सरकारका उच्च अधिकारी सहभागी थिए । औपचारिकतापछि दुवैजनाका बीचमा ४५ मिनेट एक्लाएक्लै कुराकानी पनि भयो,’ भेटवार्ताबारे जानकार स्रोतले नयाँ पत्रिकासँग भन्यो । आदित्यनाथ अहिले पनि विश्व हिन्दू महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष र सिंह अध्यक्ष हुन् । महासंघको अन्तर्राष्ट्रिय समितिले नेपालमा हिन्दू राष्ट्र र राजसंस्था पुनर्बहाली हुनुपर्ने माग गर्दै आएको छ । बिहान ९ बजे मुख्यमन्त्री आदित्यनाथले पूर्वराजालाई निवासको बाहिरी गेटमै स्वागत गरेका थिए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस