राजधानी माग्दै आमहडताल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

राजधानी माग्दै आमहडताल


२० पुस २०७४, बिहिबार


दिपायल/धनकुटा । सरकारले प्रदेश राजधानीबारे औपचारिक निर्णय नगर्दै बुधबारदेखि मुख्य सहरमा आन्दोलन सुरु भएको छ । मन्त्रिपरिषद्को बिहीबार बस्ने बैठकले अस्थायी राजधानी तोक्ने तयारी गरिरहँदा सहरी विकास मन्त्रालयले तयार पारेको प्रस्ताव सार्वजनिक भएलगत्तै असन्तोषको ज्वाला दन्किन थालेको हो ।

प्रदेश १ को अस्थायी राजधानी विराटनगर घोषणा गर्ने प्रस्ताव तयार भएको सूचना सार्वजनिक भएलगत्तै धनकुटामा बुधबार आमहडताल घोषणा गरिएको छ। धरानमा रिले अनशन जारी छ, इटहरीले पनि दाबी छाडिसकेको छैन ।

सहरी विकास मन्त्रालयले प्रदेश ७ को अस्थायी राजधानी धनगढीलाई प्रस्ताव गरेलगत्तै यसअघिको सुदूरपश्चिम विकास क्षेत्रको मुख्यालय रहेको डोटीको दिपायल-सिलगढी पनि बन्द छ। त्यहाँका आक्रोशित आन्दोलनकारीले बन्दमा चलाएको भन्दै एउटा मोटरसाइकल जलाइदिएका छन् ।

प्रदेश ५ को अस्थायी राजधानी दाङ बनाउने प्रस्तावको विरोधमा रुपन्देहीको बुटवलमा बुधबार साँझ मसाल जुलुस प्रदर्शन भएको छ । सरकारले प्रदेश २ को राजधानी जनकपुर तोक्ने तयारी गरे पनि उक्त प्रदेशको एक मात्र महानगर र देशकै आर्थिक केन्द्र भनी छवि बनाएको वीरगन्जले सहजै स्विकार्ने देखिँदैन ।

प्रदेश ४ को राजधानी पोखरा र ६ को सुर्खेतमा खासै विरोधको स्वर सुनिएको छैन। यी दुवै निर्विकल्प प्रदेश राजधानी हुनेछन् । त्यस्तै, प्रदेश ३ को अस्थायी राजधानी भक्तपुर बनाउने सरकारको तयारी छ ।

प्रदेश राजधानीलाई लिएर धनकुटामा आमहडताल आह्वान गरिएको छ । त्यसक्रममा धनकुटामा बुधबार तीन वटा सवारी साधनमा तोडफोड गरिएको छ । कोसी पहाडी जिल्लालाई असर गर्ने गरी गरिएको आम हडताल धनकुटालाई राजधानी तोकिए मात्रै रोकिने अडान आन्दोलनकारीको छ ।

धनकुटाको जिरोप्वाइन्ट, आत्मारा, सल्लेरी र हिले बजारमा आन्दोलनकारीले सडकमै बसेर यातायात बन्द गराए । आन्दोलनकारीले काठमाडौंबाट भोजपुरतर्फ हिँडेको ना.१ ज ६४११ नम्बरको टाटासुमो, जल उत्पन्न प्रकोप कार्यालयको को।१ झ १६९ नम्बरको र मोरङ कारागारको को।१ झ ४८३ नम्बरको गाडी तोडफोड गरेका छन् ।

त्यस्तै, आन्दोलनकारीले सयौं मोटरसाइकल र ३ दर्जनभन्दा बढी गाडीलाई रोकेर राखेका थिए। गाडी रोकिएपछि सयौं यात्रु सडकमा अलपत्र परेका थिए ।

राजधानी प्राप्ति आन्दोलन संघर्ष समितिले ५ बजेपछि राति १२ बजेसम्म यातायात खोल्ने निर्णय गरेको छ । जिरोप्वाइन्टमा कोणसभा गरेर बन्द खुलेको जानकारी गराउँदै बिहीबारदेखि निरन्तर बन्द जारी रहने संघर्ष समितिका संयोजक सांसद निरन राईले जानकारी दिए ।

धनकुटा बजार बुधबार बिहानैदेखि बन्द भयो । कोसी राजमार्गमा सवारीसाधन चलेनन् । सवारीसाधन नचल्दा कोसी पहाडका धनकुटासहित तेह्रथुम, संखुवासभा र भोजपुरको जनजीवन प्रभावित बनेको छ ।

बन्दकर्ताले एम्बुलेन्स, प्रेस, विद्यालयका र दूध तथा तरकारी बोकेको सवारी साधनलाई भने चल्न दिएका छन् । राजधानी माग राख्दै धनकुटावासी २० दिनदेखि आन्दोलित छन् ।

पर्याप्त सरकारी भौतिक पूर्वाधार र जग्गा धनकुटामा रहेकाले साविकको पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकामसमेत रहेकाले धनकुटालाई राजधानी बनाउनुपर्ने राजधानी आन्दोलन संघर्ष समितिका सदस्य सुन्दरबाबु श्रेष्ठले बताए ।

धनकुटा २ सय ४० वर्ष अघिदेखिको प्रशासनिक केन्द्र हो । १८४० सालदेखि पूर्व क्षेत्रको प्रशासनिक केन्द्रका रूपमा स्थापित धनकुटा राणाकालीन समयमा बडाहाकिम कार्यालय हुँदै पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहिरहेको अवस्था छ ।

सामथ्र्यका आधारमा हेर्ने हो भने करिब ४८ हजार रोपनी सरकारी र ३ सय ९४ वटा सरकारी कार्यालयका भवन छन् । हरेक भवन प्रदेश मन्त्रालय बस्न उपयुक्त रहेको स्थानीयको दाबी छ ।

तराईका तीन जिल्ला र उदयपुर जिल्लाको धनकुटा आउने मुख्य नाका पूर्व–पश्चिम राजमार्ग हो । बाँकी पहाडी, हिमाली र तराईका जिल्ला समेटिने आधार तयार भइसकेका छन् । ताप्लेजुङ र पाँचथर जिल्ला तमोर करिडोर, मध्यपहाडी लोकमार्गबाट जोडिएका छन् । इलाम राँके, रवि, भेडेटार सडक सञ्जालबाट जोडिएको छ । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस