निर्वाचन आयोग र एमालेको जुहारी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

निर्वाचन आयोग र एमालेको जुहारी


१७ पुस २०७४, सोमबार


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको एक महिना नाघिसक्दासमेत निर्वाचन आयोगले परिणाम सार्वजनिक नगरेपछि रुष्ट बनेका एमाले नेता र आयोग पदाधिकारीबीच भनाभन सुरु भएको छ ।

आयोगले राष्ट्रियसभा निर्वाचनपछि मात्रै प्रतिनिधिसभाको समानुपातिक नतिजा सार्वजनिक गर्ने अडान लिएपछि एमाले नेताहरू रुष्ट बनेका हुन् । हरेकजसो सार्वजनिक कार्यक्रममा एमाले शीर्ष नेताहरू निर्वाचन परिणाम रोक्न आयोगलाई सरकारले दबाब दिएको र आयोग त्यसैअनुरूप चलेको आरोप लगाइरहेका छन् । आयोग पदाधिकारीले भने एमालेले निर्वाचनको कानुनी प्रक्रिया नै नबुझी आरोप लगाएको बताएका छन् ।

आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादव र एमाले नेता सुवास नेम्बाङबीच जुहारी नै चल्यो । खासगरी समानुपातिकतर्फको नतिजा सार्वजनिक गर्ने विषयलाई लिएर उनीहरू एक–अर्काविरुद्ध खनिएका हुन् ।

प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले राष्ट्रियसभा चुनाव नभएसम्म प्रतिनिधिसभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न नमिल्ने अडान दोहोर्‍याएका छन् । यादवले भने, ‘राष्ट्रियसभा चुनावपछि आएको नतिजाका आधारमा प्रतिनिधिसभातर्फ समानुपातिकको नतिजा सार्वजनिक गरिनेछ ।’ यादवले कानुन नबुझेका एमाले नेताहरूले आयोगमाथि आरोप लगाएको बताए । ‘नतिजा सार्वजनिक गर्ने कानुनी प्रक्रिया नबुझेका एमाले नेताहरूले आरोप लगाएका हुन् । हामी स्वतन्त्र छौं, आरोपको पछि लाग्दैनौं’, उनले भने । आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस