प्रशासकीय सक्रियता र प्रशासनको राजनीतिकरण « प्रशासन

प्रशासकीय सक्रियता र प्रशासनको राजनीतिकरण


प्रकाशित मिति : २७ मंसिर २०७४, बुधबार १७:००

प्रशासकीय सक्रियता

प्रशासन विज्ञ, व्यवसायिक, क्षमतावान व्यक्तिहरुको समुह तथा राज्यको स्थायी संयन्त्र हो । यसै कारणले सरकारी नीति निर्माण कार्यान्वयनमा प्रशासनिक संयन्त्रको महत्वपुर्ण भूमिका रहेको हुन्छ । प्रशासकीय सक्रियताको सन्दर्भलाई पनि यसै परिवर्तनमा हेर्न सकिन्छ ।

प्रशासन निर्वाचित सरकार (राजनीति) र सेवाग्राही (जनता) वीचको सम्बन्ध सेतु हो । यसर्थ प्रशासनिक संयन्त्र जति प्रभावकारी हुन्छ त्यत्तिनै सरकार त जनतावीचको सम्बन्ध असल हुने गर्दछ र यहि असल सम्बन्धले नै सरकारको दिगोपनाको सुनिश्चितता गर्ने गर्दछ । यसै कारणले नै कुनै पनि देशको सरकार त्यहाको प्रशासन यन्त्रको राम्रो हुन सक्दैन भन्ने गरिएको हो ।

प्रशासन यन्त्रको सकारात्मक पूर्व सक्रियता (प्रो एक्टिभनेस) ले एकातर्फ राजनीतिज्ञले आफुले परिकल्पना गरेको दीर्घकालीन सोचलाई नीतिनियम र प्रक्रियाका आवद्ध गराएर जनताले अनुभूति गर्ने गरी कार्यान्वयन गर्न सक्छन भने कार्यान्वयनको क्रममा जन अपेक्षाको सम्बोधन भयो भएन र त्यसमा के कस्ता सुधारको आवश्यकता छ भन्ने कुराको पृष्ठपोषण प्राप्त भै त्यसलाई आगामी दिनको कार्ययोजनामा परिमार्जन वा समाहित गर्न सकिन्छ । सकारात्मकता सहितको निष्पक्ष र सक्रिय प्रशासनिक संयन्त्र असल शासकीय प्रणालीको सम्वाहक हो ।

प्रशासन र कर्मचारीतन्त्र राज्य संयन्त्रको त्यस्तो महत्वपुर्ण अंग हो जो प्रतिस्पर्धात्मक तवरबाट छानिएर आएका हुन्छन् । उनीहरुको कार्य शर्त, कार्य अवधि र सेवाका अन्य शर्तहरू सम्बन्धित कानुनवाट निर्देशित हुने गर्दछ । प्रशासनयन्त्र वा कर्मचारीतन्त्रका निम्न विशेषताहरु हुन्छन् ।

१. निश्चित पद सोपानमा आधारित नियन्त्रण र आदेशको श्रृङ्खला
२. नियममा आधारित निष्पक्ष कार्यशैली
३. विज्ञतामा आधारित जनशक्ति र संगठनात्मक संरचना
४. व्यवसायिकता
५. उत्पादकत्व : उत्तरदायित्व र वृत्तिविकासको मानक

प्रशासनको राजनीतिकरण

प्रशासन (स्थायी सरकार) र राजनीतिज्ञ (निर्वाचित सरकार) सरकारी संरचनाका महत्वपुर्ण अंगहरू हुन् । प्रशासन स्थायी संरचना र विज्ञताले युक्त अंग भएपनि सामयीक रुपमा निर्वाचित भएर आउने राजनीतिक नेतृत्वको मातहतमा रहेर प्रशासनयन्त्रले काम गर्ने गर्दछ । त्यसैले प्रशासनले बिभिन्न चरणमा भिन्न भिन्न राजनैतिक समूहसंग रहेर काम गर्नुपर्ने हुन्छ ।

प्रशासनको राजनीतिकरण भन्ने सन्दर्भले प्रशासन कुनै राजनीतिक दल विशेषको वादवाट आकर्षित हुने भन्दापनि सरकारमा भएको परिवर्तनबाट प्रभावित नभइ सरकारी नीतिको कार्यान्वयनमा आफ्नो विज्ञता र दक्षताको प्रयोगमा विचलित हुनु नहुने मान्यता राख्दछ । यसले राजनैतिक रुपमा तटस्थ र सरकारी नीति कार्यक्रमको कार्यान्वयनप्रति प्रतिवद्ध रहनु पर्दछ भन्ने मान्यताको अवधारणामा जोड दिन्छ ।

प्रशासनको राजनीतिकरण शव्दावलीले अमूक दलको सरकार बन्दा क्षमताको प्रदर्शन गर्ने र अर्को अमूक दलको सरकार बन्दा निस्क्रियता प्रदर्शन गर्ने परिपाटीको परिकल्पना गर्दैन । कानूनी प्रक्रियाको पूर्ण अवलम्बन गर्ने तर कागजी प्रक्रिया, समय र लागतमा सकभर कमी ल्याई उत्पादकत्व अभिबृद्धि गर्ने प्रशासन यन्त्र यस सन्दर्भमा सामयिक आवश्यकता हो । जुनसुकै राजनैतिक परिपाटीमा पनि निश्पक्ष, स्वतन्त्र र व्यवसायिक भएर राजनीतिज्ञको मनोभावना बुझी मनोभावनालाई परिणाममा बदल्न सक्ने प्रशासन बनाउनु नै यथार्थमा प्रशासनमा राजनीतिकरण हो ।

राजनीतिको प्रशासनिकीकरण

प्रशासनको राजनीतिकरणसंग संगै आउने अर्को शब्दावली राजनीतिको प्रशासनिकरण पनि हो । यी दुई शब्दावलीले राजनीति र प्रशासन सीमारेखाको आवधारणा अनुरुप दुवै पक्ष आ आफ्नो कार्यक्षेत्रसंग सम्बन्धित विषयमा केन्द्रित रहनुपर्दछ र एक अर्काले अर्काको मूल कार्यक्षेत्रमा हस्तक्षेप नगर्ने तर कार्यान्वयन तहमा एक अर्काको निरन्तर सहयोगको अपेक्षा राख्दछन् ।

तसर्थ राजनीतिज्ञ वा सरकारमा प्रतिनिधित्व गर्ने दल वा प्रतिनिधित्व गर्ने दल विशेष वा पदाधिकारीहरुले प्रशासनयन्त्रको सीमा बुझिदिनु पर्ने हुन्छ र कर्मचारीहरु एउटा निश्चित कानूनी सीमा रेखाबाट बाँधिएका हुन्छन्, उनीहरुको सेवा शर्त कानूनवाट निर्देशित भएको हुन्छ र उनीहरुले आफ्नो प्रशासकीय र संस्थागत उत्तरदायित्व मार्फत जनउत्तरदायित्व निर्वाह गरिरहेका हुन्छन् भन्ने बुझिदिनु पर्ने हुन्छ ।

प्रशासन र राजनीति वीचको सीमारेखा

प्रशासन र राजनीति शासकीय प्रणालीका अभिन्न र परिपूरक अंगहरु हुन् । राजनीति सधै भविष्यद्रष्टा, महत्वाकांक्षी, शीघ्र परिणाम खोज्न, जोखिम लिने र परिणामको उपलब्धतावाट सरकारको लोकप्रियता खोज्ने र यसै आधारमा सरकार वा आफ्नो दल विशेषको दीगोपना कायम राख्ने चाहनाबाट अभिप्रेरित भएको हुन्छ । तर राजनीतिज्ञको यो चाहना परिपूर्ति राजनीतिज्ञले आफै गर्न सक्दैन यसमा कानूनी र प्रक्रियागत प्रयोगको अधिकारको हैसियतले प्रशासनयन्त्रको निरन्तर सहयोगको आवश्यकता पर्दछ ।

प्रशासनयन्त्र विज्ञ, दक्ष, विषयको ज्ञान, कुनै कामको सकारात्मक र नकारात्मक अन्तरसम्बन्धसंग परिचित हुन्छन् । राजनीतिज्ञले भविष्यको अमूर्त चित्रको परिकल्पना गर्दछ, प्रशासनयन्त्रले त्यसलाई मूर्तता दिने गर्दछ । राजनीतिज्ञ बसका चालक हुन् भने प्रशासनयन्त्र बसका इन्जिन हुन् । चालकले चालकको भूमिका सही रुपमा सम्पादन गर्ने र इन्जिन सधै चलायमान रहने हो भने यात्रा सदा सुखद र सुरक्षित रहन्छ ।

यदि यी दुवैले या त आफ्नो भूमिका सही रुपमा सम्पादन गरेनन् वा आफ्नो स्थान परिवर्तन गरे भने यात्रा असहज बन्न सक्दछ वा दुर्घटनाको सामना गनुपर्ने हुन्छ । यसर्थ यी दुवै बीच कायम लक्ष्मणरेखाको मर्यादा भित्र रही सहयोगी र परिपूरक अंगको रुपमा रहनु आवश्यक छ ।

दक्षता सहितको तटस्थताः अपरिहार्य आवश्यकता

नीति निर्माण राजनीतिक नेतृत्वको मूल कार्यक्षेत्र हो । तर राजनीतिक नेतृत्वसँग जनताका ईच्छा, आकांक्षा, चाहनाका सन्दर्भमा परिवर्तनको एउटा स्पष्ट लक्ष्य रहेको हुन्छ तर त्यो ईच्छा, आकांक्षा, चाहनालाई कानूनी र प्रशासनिक प्रक्रियाको माध्यमवाट नीति दस्तावेजमा प्रतिविम्वित गराउन, कार्यान्वयनको सुनिश्चितताको लागि संस्थागत संयन्त्रको परिचालन गर्न र तल्लो तहसम्म फैलिएको प्रशासनिक संयन्त्रको परिचालनद्वारा जनतासँग सम्पर्क कायम गर्न प्रशासनिक संयन्त्रको परिचालनको आवश्यकता हुन्छ ।

यसैले तटस्थता प्रशासनयन्त्रको अपरिहार्य विषवस्तु भएपनि विषगत विज्ञता र स्थायी संयन्त्र भएको कारणले प्रशासनयन्त्रले दक्षता सहितको तटस्थता व्दारा सकारात्मक योगदान गर्न सक्छ भन्ने मान्यताको विकास हुदै गएको छ । यो अवधारणाले आस्था, बाद वा बिचारको आबद्धता सहितको दक्षतालाई पूर्ण रुपमा नकारेको छ ।

प्रशासनिक सक्रियताका लागि आवश्यक पूर्व शर्त

क. राजनीतिक तहमा
• सहिष्णु राजनैतिक प्रणाली
• सही व्यक्तिको सही ठाउँमा सरुवा वा पदस्थापन
• योग्यता प्रणालीको अबलम्बन
• प्रतिभा व्यवस्थापन र प्रतिभाको अधिकतम् उपयोगको नीति
• विज्ञतालाई कहिल्यै पनि राजनैतिक आवरणमा हेरिनु नहुने

ख. प्रशासनिक तहमा
• प्रशासनिक तत्परता
• सरकारको नीति तथा कार्यक्रमलाई कार्यान्वयन योग्य बनाउन आवश्यक प्रशासनिक र प्रक्रियागत व्यवस्था
• कार्यको जिम्मेवारी तोक्ने र क्षमता अनुसारको कर्मचारी व्यवस्थापन
• कार्य सम्पन्न गर्ने अवधि र अपेक्षित परिणामको पुर्वानुमान
• जोखिमका संभावित क्षेत्रको पहिचान र जोखिम न्यूनिकरण गर्ने कार्ययोजना
• सहकर्ता निकायहरुको पहिचान
• अनुगमन र मुल्याङ्कन प्रणाली
• पृष्ठपोषण प्राप्ति, पृष्ठपोषण उपयोग तथा सामयिक सुधारको क्रियाशील र प्रभावकारी संयन्त्र

सकारात्मक प्रशासनीक सक्रियताको प्रबद्र्धन कसरी गर्न सकिन्छ
१. प्रशासन र राजनीति बीचको असल सम्बन्ध
२. प्रशासनयन्त्रको क्षमता विकास
३. राजनीतिज्ञले आफ्नो लक्ष र उद्देश्य वारे प्रशासनयन्त्रलाई यथार्थ जानकारी दिने
४. प्रतिबद्धता र तटस्थता बीचमा सन्तुलन
५. प्रशासन र राजनीति बीचको लक्ष्मणरेखाको परिपालना
६. योग्यता प्रणालीमा विश्वास गर्ने र सो को परिपालना गर्ने राजनैतिक परिपाटी
७. सकारात्मकता सहितको सक्रिय र तत्परतायुक्त प्रशासनिक संयन्त्र

प्रतिक्रिया दिनुहोस