सीमा सुरक्षा कडा पार्न निर्देशन « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सीमा सुरक्षा कडा पार्न निर्देशन


१८ मंसिर २०७४, सोमबार


काठमाडौं । निर्वाचन सुरक्षा नै प्रभावित हुने गरी घुसपैठ बढेपछि भारतसँग सीमा जोडिएका जिल्ला प्रशासन प्रमुखहरूलाई भारतीय समकक्षीसँग सहकार्य सघन बनाउन गृह मन्त्रालयले निर्देशन दिएको छ । सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त सीमा गस्ती बढाउनसमेत निर्देशन दिइएको जानकारी गृह अधिकारीले दिए । सीमा नाकाबाट भारतीय नागरिक नै बम बनाउने सामग्रीसहित पक्राउ परेपछि गृहले मातहत निकायलाई कडा निर्देशन दिएको हो ।

निर्वाचनका बेला हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा सहकार्य सघन बनाउन निर्देशन दिइएको गृहप्रवक्ता नारायणप्रसाद शर्मा दुवाडीले बताए । ‘सीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले संयुक्त रूपमा सुरक्षा दिएका छन् । चेकजाँच कडा पारिएको छ । निगरानी बढाइएको छ । सेनाको निगरानी पनि छ,’ गृह अधिकारीले स्पष्ट पारे ।

भारतबाट नेपाल प्रवेश गर्ने सवारीसाधनलाई दुवैतर्फ अधिकतम चेकजाँच गर्ने सहमति प्रायस् सबै जिल्ला प्रमुख र भारतीय समकक्षीबीच यसअघि नै भएको हो । ‘शंका लागेकालाई नियन्त्रणमा लिएर सोधपुछ बढाइएको छ,’ प्रवक्ता दुवाडीले भने, ‘सुरक्षामा कुनै पनि कमजोरी हुन नदिन सबै पक्ष उत्तिकै सक्रिय र सुझबुझका साथ लागिपरेका छन् । तीन घेराको सुरक्षा रणनीतिमा केही कार्ययोजना हेरफेर गरेर थप समन्वय गरिरहेका छौं ।’ कतिपय स्थानमा तालिमप्राप्त कुकुर उपयोग गरिएको छ । सीसीटीभीमार्फत गरिने निगरानी पनि बढाइएको गृह अधिकारीहरूले बताए ।

नेपाली सेनाले पनि ब्याकअपमा रहेर यस्ता सबै पक्षको निगरानी गरिरहेको छ । सेनाले निगरानीमा कैयन् स्थानमा ‘ड्रोन’ को समेत उपयोग गरेको ती अधिकारीले बताए । ‘समन्वयमा कुनै कमजोरी रहेको भए पनि त्यसलाई चिर्न भरपुर प्रयास भइरहेका छन्,’ ती अधिकारीले भने । पछिल्लो पटक सुरक्षामा कमजोरी भएको भन्दै सरकारको आलोचना हुन थालेपछि सुरक्षा निकाय थप सक्रिय बनेका हुन् । नेपाल–भारत खुला सीमा र सहज आउजाउको फाइदा उठाउँदै आपराधिक समूहबाट विस्फोटक पदार्थ र साना हतियार निर्वाचन लक्षित अवैध ओसारपसार हुन थालेपछि सुरक्षा निकाय थप सतर्क भएका छन् । आजको कान्तिपुर दैनिकम खबर छ ।

प्रतिक्रिया दिनुहोस