फेरिँदै प्रचार शैली « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

फेरिँदै प्रचार शैली


१३ मंसिर २०७४, बुधबार


काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारमा दलले विगतभन्दा बेग्लै शैली अपनाउन थालेका छन् । उम्मेदवारहरूले पछिल्लो समय सांस्कृतिक कार्यक्रमसाथै सामाजिक सञ्जाललाई चुनावी प्रचारमा प्रयोग गरिरहेका छन् ।

चुनावी कार्यक्रमको लाइभ प्रसारण गर्न उम्मेदवारबीच होडबाजी नै चलेको छ । उनीहरू ठूला सभाभन्दा घरदैलो पुगेर मतदाता आकर्षित गर्ने प्रयासमा छन् । विगतमा जस्तो पर्चा पम्प्लेट टाँस्ने क्रम यस पटक निकै कम देखिएको छ ।

इलाममा दलहरूले ठूला सभाभन्दा घरदैलो कार्यक्रमलाई जोड दिएका छन् । मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र वाम गठबन्धनसँगै अन्य दलले मतदाता रिझाउन गाउँ दौडाहालाई प्राथमिकता दिएका हुन् । प्रमुख दलले वडा र गाउँपालिकास्तरमा केही सभा भने गरेका छन् । सामाजिक सञ्जाल चुनाव प्रचारको अब्बल माध्यम बनिरहेका छन् । फेसबुक, म्यासेन्जर, ट्विटरलगायतमा आ–आफ्नो दलका प्रचार गर्न उम्मेदवारदेखि कार्यकर्तासम्म कम देखिँदैनन् । सामाजिक सञ्जालमा विपक्षीका कमजोरी केलाउँदै आफ्नो दल र उम्मेदवारलाई अब्बल साबित गर्ने प्रयास बढ्दो छ । फरक ढंगले आयोजना हुने व्यक्तिगत र सामाजिक कार्यक्रमलाई पनि दलले प्रचार माध्यम बनाउने गरेका छन् ।

अघिल्ला निर्वाचनमा ठूला सभा गर्दै आएका दल त्यो समय र खर्च बचाउँदै मतदाता रिझाउन घरघर पुग्ने क्रम बढेको हो । विकट क्षेत्रका हरेकजसो वडामा उम्मेदवार पुगेका छन् । गत असारमा भएको स्थानीय निर्वाचनदेखि नै दलले ठूला सभालाई कम गर्दै लगेका हुन् ।

गीतसंगीत प्रयोग भने बढ्दो छ । वाम गठबन्धन र कांग्रेसले बजार क्षेत्रमै गाडीमा प्रचारात्मक गीत घन्काउने गरेका छन् । सामाजिक सञ्जाल प्रयोग बढी गर्नेमा विवेकशील साझा पार्टी, नयाँ शक्ति पार्टीलगायत पनि कम छैनन् । संघीय समाजवादी फोरम, राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक मञ्च, मंगोल नेसनल अर्गनाइजेसन लगायतले भेटघाट र घरदैलोमार्फत प्रचार तीव्र पार्दै सामाजिक सञ्जाल प्रयोग बढाएका छन् ।

भित्ते लेखन र पर्चा पम्प्लेट टाँस्ने क्रम घटेको छ । बरु कार्यकर्तामार्फत घोषणापत्र र प्रचार सामग्री मतदाताका घरघर पुर्‍याइँदै छन् । बजार क्षेत्रमा झन्डा राख्न भने प्रतिस्पर्धा नै देखिएको छ । पार्टी झन्डासहित चुनाव चिह्न प्रचार गर्नेमा कांग्रेस र वाम गठवन्धन अगाडि छन् । गठबन्धनले देशको समृद्धि र स्थायित्वका लागि संविधानको कार्यान्वयन र दिगो सरकारको नारा अघि सारेको छ । कांग्रेस नेतारकार्यकर्ताले भने लोकतन्त्रको रक्षा र अधिनायकवाद आउन नदिन पार्टीलाई मतदान गर्न आग्रह गर्ने गरेका छन् । प्रचारक्रममा आचारसंहिता उल्लंघन गरेको उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

तेह्रथुममा दलहरूले प्रचारको समय नै फेरेका छन् । अन्न थन्क्याउने चटारोमा रहेका मतदाता दिउँसो घरगोठमा नभेटिने भएकाले उम्मेदवार र कार्यकर्ता रातिराति घरदैलो गरिरहेका छन् । केही उम्मेदवार भने किसानका खेतबारीसम्मै पुगेर मत मागिरहेछन् ।

यस पटक प्रचारशैली केही व्यवस्थित र फरक बनाइएको एमाले जिल्ला अध्यक्ष एवं प्रदेशसभा ‘क’ उम्मेदवार लक्ष्मण तिवारीले बताए । इलाका स्तरमा हुने आमसभाबाहेक अन्य कार्यक्रममा कलाकार, बाजागाजासमेत प्रयोग नगरिएको वाम गठबन्धनको चुनाव परिचालन कमिटी संयोजक दुर्गाप्रसाद चापागाईंले जानकारी दिए ।

अघिल्ला निर्वाचनमा सांस्कृतिक कार्यक्रमसहित घरदैलो पुग्ने गरेको कांग्रेसले पनि यस पटक त्यसो गरेन । गत सोमबार सदरमुकाम म्याङलुङमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले सम्बोधन गरेको कार्यक्रममा समेत सांस्कृतिक प्रस्तुति देखाइएन । बरु पार्टीले स्थानीय रेडियो, अनलाइन, फेसबुकमार्फत उक्त कार्यक्रम प्रत्यक्ष प्रसारण गर्‍यो । ‘हामीले प्रचारशैली फरक बनाएका छौं,’ कांग्रेस जिल्ला सभापति एवं प्रदेशसभा ‘क’ उम्मेदवार गोविन्द ढुंगानाले भने, ‘यस पटक प्रचार व्यवस्थित छ ।’

जिल्लामा अन्य साना दलका ११ उम्मेदवार पनि चुनावी प्रतिस्पर्धामा छन् । सबैले एफएम रेडियो, अनलाइन, फेसबुक, टवीटर, इन्स्टाग्रामलगायत सञ्चार माध्यम र सामाजिक सञ्जाललाई चुनावी प्रचारमा जोडेका छन् । यी माध्यमबाट खर्च कम र प्रचार व्यवस्थितसमेत हुने गरेको वाम गठबन्धनबाट प्रतिनिधिसभाका उम्मेदवार भवानी खापुङले बताए । विगतमा जस्तो नेताहरू आएपिच्छे बाजा बजाउने, फूलमाला लगाइदिने, सांगीतिक कार्यक्रम आयोजना गर्ने चलन हटदै छ । पहिलो चरणमा नेता/कार्यकर्ता घरदैलोमा पुग्ने, दोस्रो चरणमा उम्मेदवारसहितको टोली गएर भोट माग्ने र अन्तिम चरणमा पुनस् घरदैलो गर्ने दलको योजना छ । उनीहरू खानेपानी, सिँचाइ, सडक, बिजुली, कृषि उद्यम, पर्यटन, रोजगारी, साना तथा मझौला उद्योग स्थापनाजस्ता विकास आश्वासन देखाएर भोट फकाइरहेका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस