रंग हराएको ‘गुलाबी सहर’ « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

रंग हराएको ‘गुलाबी सहर’


१३ मंसिर २०७४, बुधबार


राजविराज । सिंगो राष्ट्र यतिबेला प्रतिनिधि र प्रदेशसभाको ऐतिहासिक निर्वाचनमा होमिएको छ । हरेक राजनीतिक र सामाजिक आन्दोलनमा चर्चाको शिखरमा रहने सप्तरी जिल्ला पनि यो ऐतिहासिक अभियानबाट अछुतो छैन । संघीय संरचनामा प्रवेश गर्नु अघिसम्म मुलुककै सबैभन्दा बढी एक सय १४ वटा गाउँ विकास समिति रहेको सप्तरी जिल्लाले विगतमा पटक–पटक राष्ट्रिय राजनीतिमा गतिलै पहुँच राख्ने नेता र शक्तिशाली मन्त्री पाए पनि विकासको गोरेटो पछ्याउने सवालमा भने यो जिल्ला सधैं पछि पर्दै आएको छ ।

करिब ६ लाख ४० हजार जनसंख्या रहेको सप्तरी जिल्लावासीका लागि अहिले पनि न्यूनतम मानवीय आवश्यकतासमेत आकाशको फलझैं बनेका छन् । भौगोलिक परिवेश र यातायातको दृष्टिकोणले सुगम हुँदाहुँदै पनि बहुसंख्यक जिल्लावासीका लागि गुणस्तरीय शिक्षा र स्वास्थ्य, पर्याप्त रोजगारीका अवसर, विभिन्नखाले सामाजिक विभेदका विषय प्रमुख चुनौतीका रूपमा रहँदै आएका छन् ।

विगतका निर्वाचनमा झैं यसपटक पनि विभिन्न राजनीतिक दलका उम्मेदवारहरू तिनै पुराना आश्वासन र सपना बोकेर जनताको घरदैलोमा धाइरहँदा अधिकांश मतदाता भने उनीहरूप्रति आश्वस्त हुन सकिरहेका छैनन् । ‘जनता निरास छन्, आश्वासन धेरै भए, कार्यान्वयन छैन । विकास निर्माणको क्षेत्रमा जिल्ला झन्झन् पछि पर्दै गएको छ’, देशकै सबैभन्दा पुरानो नगरपालिका राजविराजका स्थानीय समाजसेवी गोविन्द सिंह भन्छन्, ‘अब जनताको विश्वास जित्न सजिलो छैन । उमेरको हिसाबले राजविराज यतिबेला उपमहानगरपालिका भइसक्नुपर्ने थियो । त्यसैले अहिले जनताले उम्मेदवार र तिनका दलबाट स्थानीय मुद्दामा स्पष्ट राजनीतिक प्रतिबद्धता चाहेका छन् ।’

जिल्लाको प्रमुख आकर्षणको केन्द्र हो, राजविराज नगरपालिका । उमेरले विराटनगर महानगरपालिका भन्दा एक वर्षअघि २०१६ सालमै नगरपालिका घोषित भए पनि राजविराजले विकास निर्माणको दिशामा भने खासै गति लिन सकेको छैन । २००२ सालमा स्थापना गरिएको यो सहरको नक्सा तत्कालीन आर्किटेक्ट इन्जिनियर डिल्लीजंग थापाले तयार पारेका हुन् । भारत राजस्थानको जयपुर सहरको नक्साका आधारमा ‘गुलाबी’ राजविराज सहर बसाइएको थियो ।

प्रत्येक चार घरपछि एउटा सहायक बाटो, नगरलाई हरियालीयुक्त बनाउन प्रत्येक घर अगाडि एउटा रूख, नगरभित्र बन्ने प्रत्येक घरमा गुलाबी रङको प्रयोगजस्ता अवधारणासहित बसाइएको थियो, राजविराज सहर । तर आफ्नो स्थापनाको सात दशक र नगरपालिका घोषित भएको ५८ वर्ष बितिसक्दा पनि यो नगरको नियतिमा भने खासै परिवर्तन आउन सकेको छैन ।

त्यसैले पनि बहुसंख्यक मतदाताको चाहनालाई पछ्याउँदै राजविराज नगरको विकासको विषयलाई यसपटक यसक्षेत्रका अधिकांश उम्मेदवारले आफ्नो प्रमुख मुद्दा बनाएका छन् । ‘यतिबेला यो गुलाबी सहरको रङ हराएको छ । राजविराजभन्दा पछि नगरपालिका घोषित भएका सहरहरू विकास निर्माणको क्षेत्रमा निकै अगाडि बढिसकेका छन् । हाम्रो सहर भने सधैं नेताहरूको राजनीतिक भर्‍याङका रूपमा मात्र प्रयोग हुँदै आएको छ’, स्थानीय जीवन श्रेष्ठ गुनासो गर्छन् ।
यसैगरी स्वास्थ्य क्षेत्रमा सिंगो सगरमाथा अञ्चल र सीमा क्षेत्रका भारतीय बासिन्दाको समेत आशाको केन्द्र हो, गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल । २०२८ साल जेठ ३० गते तत्कालीन शिक्षा, भूमिसुधार, कृषि तथा खाद्यमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीबाट उद्घाटन भएदेखि नै यो अस्पतालले कहिल्यै आफ्नो दरबन्दी अनुसारको चिकित्सक पाउन सकेको छैन । अञ्चल अस्पताल स्थापनाको ४६ वर्ष बितिसक्दा पनि सामान्य रोगको पहिचान र उपचारका लागि समेत यस क्षेत्रका नागरिकले विराटनगर, धरान, काठमाडौं वा भारतका सुविधासम्पन्न अस्पतालमा धाउनुपर्ने बाध्यता छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस