सार्वजनिक मामिलाको व्यवस्थापनका अवयवहरु « प्रशासन

सार्वजनिक मामिलाको व्यवस्थापनका अवयवहरु


प्रकाशित मिति : ६ मंसिर २०७४, बुधबार ०७:०१

भिन्न भूमिकाहरुको सकारात्मक अन्तर सम्बन्ध

समाज सार्वजनिक सरोकारवालाहरुको अन्तरसम्वन्धको सम्मिश्रण हो । यी सरोकारवालाहरुको वीचमा धेरै आवश्यकताहरु रहेका हुन्छन् । आवश्यकताहरुको सम्बोधनको आधारमा नै सरोकारवालाहरुको सम्बन्धको निर्धारण हुने गर्दछ । यस्ता आवश्यकताहरुको एकल वा सामूहिक प्रयत्नद्वारा समाधानको निमित्त गरिने प्रयास नै सार्वजनिक मामिलाहरुको व्यवस्थापन हो ।

सामाजिक आवश्यकताहरुको माग र आपूर्तिमा धेरै सरोकारवालाहरुको उपस्थिति र सहकार्यले एउटा अन्तरसम्बन्ध स्थापित गरेको हुन्छ र सबै सरोकारवालाहरुको सुमधुर सम्बन्धले सार्वजनिक मामिलाहरुको व्यवस्थापनलाई प्रभावकारी बनाइदिन्छ ।

जनता, नागरिक समाज, सामुदायिक संस्थाहरु, निजी क्षेत्र, व्यापारिक र व्यवसायिक समुदाय सार्वजनिक मामिलाका सरोकारवालाहरु हुन् । यी सरोकारवालाहरु भिन्न भिन्न परिस्थितिमा भिन्न भिन्न भूमिकामा देखिने गर्दछन् । यस्तो भूमिका कहिले माग पक्ष, कहिले मध्यस्थ पक्ष र कहिले आपूर्ति पक्षको रुपमा रहने गर्दछ । समान्यतयाः सरकार वाहेकका सरोकारवालाहरुलाई माग पक्ष र सरकारलाई आपूर्ति पक्षको रुपमा बुझिने गरेको भएतापनि नीतिको कार्यान्वयनमा जन अपनत्व कायम हुने पक्षमा सरकार माग पक्षको रुपमा रहने गर्दछ ।

साथै सरोकारवालाहरु वीचमा सदभाव र समन्वय कायम गर्ने तथा नीतिको सकारात्मक वहस पैरवी र कार्यान्वयनमा सरकार वाहेकका पक्षहरु मध्यस्थ र आपूर्तिकर्ताको रुपमा रहने गर्दछ । यसरी सार्वजनिक मामिलाहरुको व्यवस्थापनमा विभिन्न सरोकारवालाहरुको उपस्थिति रहने तथा यी सरोकारवालाहरुको भूमिका भिन्न भिन्न हुने र यी भूमिकाहरुको सकारात्मक अन्तर सम्बन्धले सार्वजनिक मामिलाको व्यवस्थापनलाई प्रभावकारी वनाइदिन्छ ।
सरकारले जनताप्रति प्रवाह गर्नु पर्ने सेवा सुविधाहरु आफ्नो प्रशासनिक संयन्त्रको परिचालनबाट गर्नेे गर्दछ । यसैले प्रशासनिक संयन्त्रलाई सार्वजनिक प्रशासन पनि भन्ने गरिन्छ । सरकारी सेवा सुविधाको प्रवाहको मूलभूत स्थायी संयन्त्र तथा जन आकांक्षाहरुलाई नीति निर्माणको लागि जनताबाट पृष्ठपोषण प्राप्त गरी सरकार समक्ष पुर्याइदिने सम्वाहकको रुपमा सार्वजनिक प्रशासनको भूमिका अति नै महत्वपूर्ण रहने गर्दछ । विश्वव्यापीकरण, शिक्षा, सूचना र प्रविधिको तीव्र विकासले जन आकांक्षाको तह पनि उच्च रुपमा बढेको छ यस सन्दर्भमा सार्वजनिक प्रशासनको कार्यक्षमता, प्रभावकारिता र सवल उपस्थिति सार्वजनिक मामिलाको व्यवस्थापनमा अनिवार्य शर्त हो ।

निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता सार्वजनिक प्रशासनका मूलभूत न्यूनतम विशेषताहरु हुन् । यी विशेषताहरुको सक्षम उपस्थितिले नै सक्षम प्रशासनको कल्पना गर्न सकिन्छ र यी विशेषताहरुको न्यून उपस्थिति वा क्षयीकरणले प्रशासन मात्र होइन समग्र शासकीय संयन्त्र नै व्यापक आलोचनाको पात्र बन्न पुग्दछ, जसले प्रशासन शासकीय संरचना र सरकार (राज्य संयन्त्र) प्रति जनताको अपनत्वबोध समाप्त हुन जाने खतरा बढ्दछ । राज्य संयन्त्र प्रति जनताको अपनत्वबोध कायम गर्न जति सरकारी कर्मचारीहरुको सकारात्मक भूमिका महत्वपूर्ण हुन्छ त्यति नै मात्रामा अन्य सरोकारवालाहरु पनि सहयोगी र सकारात्मक हुनु आवश्यक हुन्छ ।

मानव संवेदनाका सकारात्मक पक्षहरु

सरोकारवालाहरुको अन्तरसम्बन्धलाई नीति, कानून, निर्देशिका र विभिन्न प्रक्रियाहरुले निर्देश गरिरहेका हुन्छन् । कागजी दस्ताबेजका विविध प्रावधानहरुले कार्य प्रक्रियाको श्रृड.खलालाई विधि सम्मत गराउन अवश्य पनि सहयोग पुग्दछ तथापि सरोकारवालाहरुको व्यक्तिगत रुपमा हुने सकारात्मक भावना, सकारात्मक प्रवृत्ति र सहयोगी चरित्रले बैधानिक प्रक्रियाको अवलम्बनमा थप सहजता प्रदान गर्दछ । यस लेखमा यस्तै सहयोगी आवश्यकीय केही मानव संवेदनाका सकारात्मक पक्षहरुको वारेमा सामान्य चर्चा गर्ने प्रयास गरिएको छ ।

आध्यात्मिकता

आध्यात्मिकता मानव जीवनको एउटा महत्वपूर्ण र आवश्यकीय पक्ष हो । आध्यात्मिकताको जानकारी र प्रयोगले जीवनमा प्रसन्नता ल्याउछ । तत्वमा जीवन जीउने कला जान्नु नै आध्यात्मिकता हो । पूजा पाठको पद्दति वा कर्मकाण्ड समग्रमा आध्यात्मिकता होइन यो आध्यात्मिकताको एउटा सानो पक्ष भने हुन सक्दछ । योे जीवनका आरोह र अवरोहलाई सरल र हर परिस्थितिहरुमा एकरस वनाउने उद्देश्यले अपनाइने एक सकारात्मक दृष्टिकोण र कार्य व्यवहार हो ।
आध्यात्मिकताको सही अवलम्वनले जीवन खुशी र सुखमय बन्दछ । मानव जीवनका स्वार्थ रहित मित्रता, उद्देश्यपूर्ण जीवन र भावनात्मक सन्तुष्टता प्रसन्नताका आधारहरु हुन् । प्रसन्नता प्राप्ति वा यसको अभावको वाह्य कारणको प्रभाव होइन यो आन्तरिक विषय नै हो । आत्मिक उन्नति ले नै हर परिस्थितिहरुमा विजयी वन्नमा सहयोग गर्दछ यसर्थ हाम्रा प्रयासहरु आत्मिक उन्नति गराउने साधनहरुको प्रयोग तर्फ आकर्षित हुनु पर्दछ । आत्म अनुशासित व्यक्ति ले आत्मिक उन्नति र हर परिस्थितिहरुमा विजयी बन्न सक्दछ । यसर्थ आध्यात्मिकताको अबलम्बनले सार्वजनिक प्रशासकहरु र सार्वजनिक मामिला संग सम्बध्द सरोकारवालाहरुमा उनीहरु वीचको सहकार्यलाई परिणाममूलक बनाउनमा सहयोग पुग्दछ ।

आत्म अनुशासन

आत्म अनुशासन त्यस्तो एउटा गैर कानूनी, भौतिक सूचकहरुवाट मापन गर्न नसकिने व्यक्तिमा अन्तरनिहित विशिष्ट पक्ष हो । आत्म अनुशासन सबल कानूनी आधारशीला र कठोर कानूनी लक्ष्मणरेखा बाट समेत प्राप्त गर्न नसकिने व्यक्तिमा स्वतः स्फूर्त विकास भएको आदर्शतम गुणहरु मध्ये एक हो । आत्म अनुशासन सैद्धान्तिक रुपमा जति आवश्यकीय, सुन्दर र अपेक्षित विषयमा पर्दछ त्यति नै मात्रामा व्यवहारिक रुपमा यसको प्राप्तिको विषय कठिन समेत मान्ने गरिन्छ । तर केही न्यूनतम आवश्यकताहरुको परिपूर्ति गर्न सक्ने हो भने आत्म अनुशासन प्राप्तिको विषय त्यति कठीन भने छैन ।

दृढ निश्चयता

दृढ निश्चयता यस्तो एउटा यस्तो भावनात्मक पक्ष हो जसमा आफ्ना सारा प्रयासहरु सकारात्मक तथा आवश्यकीय निकतम उद्देश्य प्राप्तिको लागि केन्द्रित गरिन्छ । उद्देश्य प्राप्तिको क्रममा गरिने प्रयासका क्रममा आउने बाधा, बिरोध र अवरोधलाई सामना गर्न सक्ने शक्ति दृढ निश्चयी व्यक्तिमा विकास भएको हुन्छ । दृढ निश्चयता उद्देश्य प्राप्ति पूर्व व्यक्ति भित्रस्व स्फूर्त रुपमा विकसित हुने उत्प्रेरणाको त्यो आन्तरिक भावनात्मक पक्ष हो जसले एकातर्फ आफ्नो उद्देश्य प्राप्तिको लागि स्व स्फूर्त रुपमा विकसित उत्प्रेरणाको भावनात्मक पक्ष लाई कार्यरुपमा रुपान्तरण गर्न सहयोग पुर्याउने मात्र होइनकि यसले कुनै कारणले विपरीत वा नकारात्मक परिणाम प्राप्त भएपनि सहजरुपमा स्वीकार्ने र उद्देश्य प्राप्तिको प्रयासलाई निरन्तरता दिन थप उत्प्रेरणा प्रदान गर्दछ । असहज परिस्थितीलाई अवसर सम्झेर आफ्नो निश्चयको आधारस्तम्भ मजबूत बनाउन सक्नु दृढ निश्चयताको अर्को आधार हो । समस्या र असहजतालाई कारणमा खोज्ने होइन निवारणमा परिवर्तन गर्ने शक्तिले सफलता तर्फको मार्ग प्रशस्त गराउँदछ । शुभ भावनाले कारणलाई निवारणमा परिवर्तन गर्ने शक्ति दिन्छ । कारण र निवारणको द्विविधामा नपरेर हरेक नकारात्मकतालाई सकारात्मकतामा परिवर्तन गर्न अटल ईच्छाशक्ति र दृढ संकल्पको आवश्यकता पर्दछ । यस्ता विशेषतायुक्त व्यक्ति नै आत्म अनुशाशित हुन सक्दछन् र अन्तत उनीहरुनै पविर्तनको सकारात्मक संवाहक बन्न सक्दछन् ।

पवित्रता

पवित्रता सवैभन्दा उच्च चरित्र हो, पवित्रता भन्नाले संकल्प र सोचाइमा मात्र होइन सो अनुरुप कर्ममा पनि पवित्रताको आवश्यकता हुन्छ यसैले आफैलाई सुधार्नको लागि पवित्र जरुर वन्नु छ ।ज्ञानी आत्मा त्यो हो जसमा आफ्नो गुण र विशेषताहरुको पनि अभिमान हुदैन। आध्यात्मिकताको वास्तविक अवलम्बन गरेका र दृढ निश्चयीहरुमा यस्तो अभिमान आउन सक्दैन । उनीहरुमा पवित्रताको शक्तिद्वारा आफ्नो संस्कारहरुलाई शुद्ध ज्ञान स्वरुप वनाएर कमजोरीहरुलाई समाप्त गर्ने क्षमताको विकास भएको हुन्छ ।

तटस्थता

तटस्थता प्रशासनयन्त्रको त्यो अपरिहार्य गुण हो जसमा कर्मचारी कुनै वाद, आस्था, समूह वा वर्गगत साइनोवाट आफूलाई पूर्ण रुपमा मुक्त गराउँछ । उसको मूल ध्येय भनेको कानूनले निर्धारित गरेका प्रक्रियालाई पूर्णरुपमा परिपालन गर्दै सेवाग्राही सम्बन्धको सम्बन्धमा स्वच्छता, निष्पक्षता, इमान्दारिता र तटस्थतालाई आफ्नो मूलमन्त्र बनाई पेशागत दक्षता, व्यवसायिकता र विशिष्टताका आधारमा सरकारको प्रतिनिधिको रुपमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, जनमुखी र परिणाममूलक बनाउनु हो । तटस्थतामा राजनीतिक तटस्थता, वर्गीय तटस्थता, संस्कारगत तटस्थता, भौगोलिक तटस्थता, भाषिक तटस्थता, धार्मिक तटस्थता आदि पर्ने गर्दछन् र सार्वजनिक जिम्मेवारी ग्रहण गरेका प्रशासकहरु यस्ता सामीप्यताबाट मुक्त रहन सक्नु पर्दछ ।

स्थायी सरकारको हैसियतले एउटा राष्ट्सेवकको रुपमा कर्मचारीको आफ्नो राष्ट्प्रति विशिष्ट दायित्व रहेको हुन्छ । प्रशासनयन्त्र कुनै पनि दल विशेषको राजनैतिक दर्शन, सिद्धान्त र चिन्तनवाट सार्वजनिक रुपमा प्रभावित हुनुहुँदैन । कर्मचारीहरुले आफ्नो कार्यसम्पादन गर्ने क्रममा यस्तो झुकाव प्रदर्शन गर्नु तटस्थताको परम्परागत अवधारणाका दृष्टिले उपयुक्त मानिदैन । सार्वजनिक प्रशासनका आदि पुरुष वुडरी विल्सन अनुसार राजनीति र प्रशासनको वीचमा एउटा लक्ष्मणरेखा विद्यमान रहेको हुन्छ र त्यो लक्ष्मणरेखा नीति निर्माण र नीति कार्यान्वयन गरी दुई कित्तामा विभाजित भएको हुन्छ । नीति निर्माणको दायित्व राजनीति अर्थात सरकारको हो भने नीति कार्यान्वयनको दायित्व प्रशासनयन्त्रको हो । वुडरी विल्सन पछि म्याक्स वेबर लगायतका प्रशासनका व्यक्तित्वबाट यस्तै तटस्थतामा जोड दिइएको पाईन्छ ।

तटस्थताको आधुनिक विचारधारा परम्परागत विचारधारा भन्दा केही फरक छ । यस अवधारणा अनुसार कर्मचारी समाजको एउटा सदस्यको हैसियतले समाजको जे जस्तो चरित्र छ त्यो चरित्र कर्मचारीको आचरण र व्यवहारमा कुनै न कुनै रुपमा प्रतिबिम्वित भएको हुन्छ । यसर्थ कर्मचारीवाट पुरै तटस्थता प्रदर्शित नहुन सक्दछ भन्ने तर्क तटस्थताको आधुनिक विचारकहरुवाट प्रस्तुत गर्ने गरेको पाईन्छ । राजनीति र प्रशासन दुई फरक जिम्मेवारी भए पनि नीति निर्माणमा कर्मचारी पूर्ण रुपले अलग हुने भन्ने कुरा व्यवहारमा त्यति संभव छैन कर्मचारीले स्वभावतः नीति निर्माणको चरणमा नीति पृष्ठपोषणको रुपमा नीतिका अन्तरवस्तुहरुमा आफ्नो व्यवसायिक विशिष्टताको आधारमा विचार राख्न सक्दछ जसले सही र यथार्थपरक नीति निर्माणमा सहयोग पुग्न जान्छ । यसलाई प्राकृतिक परिपूरकताको सिद्धान्त भनिन्छ ।

दक्षता सहितको तटस्थता

नीति निर्माण राजनीतिक नेतृत्वको मूल कार्यक्षेत्र हो । तर राजनीतिक नेतृत्वसंग जनताका ईच्छा, आकांक्षा,चाहनाका सन्दर्भमा परिवर्तनको एउटा स्पष्ट लक्ष्य रहेको हुन्छ तर त्यो ईच्छा, आकांक्षा, चाहनालाई कानूनी र प्रशासनिक प्रक्रियाको माध्यमवाट नीति दस्तावेजमा प्रतिविम्वित गराउन, कार्यान्वयनको सुनिश्चितताको लागि संस्थागत संयन्त्रको परिचालन गर्न र तल्लो तहसम्म फैलिएको प्रशासनिक संयन्त्रको परिचालनद्वारा जनतासंग सम्पर्क कायम गर्न प्रशासनिक संयन्त्रको परिचालनको आवश्यकता हुन्छ । यसैले तटस्थता प्रशासनयन्त्रको अपरिहार्य विषवस्तु भएपनि विषगत विज्ञता र स्थायी संयन्त्र भएको कारणले प्रशासनयन्त्रले दक्षता सहितको तटस्थता द्वारा सकारात्मक योगदान गर्न सक्छ भन्ने मान्यताको विकास हुँदै गएको छ । यो अवधारणाले आस्था, वाद वा विचारको आवध्दता सहितको दक्षतालाई पूर्ण रुपमा नकारेको छ ।

प्रतिबद्धताः सरकारको नीति, नियम र कार्यान्वयन प्रति प्रतिबद्ध

प्रशासनयन्त्र सरकारको मूल सहयोगी र कार्यकारी संयन्त्र हो । स्थायी सरकारको रुपमा रहेर प्रशासनयन्त्रले सरकारका नीति नियमको कार्यान्वयन, सरकार समक्ष आएका जनताका चाहना, सरकारले जनता समक्ष पुर्याउनु पर्ने सेवा सुविधालाई सरल, सहज, कम झन्झटिलो तरीकाले पुर्याउनु यसको प्रमुख दायित्व हो । यसका लागि कर्मचारीहरुमा सरकारी नीति र कार्यक्रम प्रति अपनत्वबोध हुनु आवश्यक छ । सरकारी नीति र कार्यक्रम प्रतिको अपनत्वबोध, स्वामित्व ग्रहण, कार्यान्वयनमा तदारुकता र दृढ ईच्छाशक्ति, मनोवलयुक्त भावनाको व्यवहारगत अबलम्बन नै प्रतिबद्धता हो । सेवाग्राहीप्रतिको प्रतिबद्धता, आफुप्रतिको प्रतिबद्धता, नियम कानूनप्रतिको प्रतिबद्धता रकामप्रतिको प्रतिबद्धतालाई प्रतिबद्धताको न्यूनतम शर्त हो ।

अहिले योग्यता प्रणाली छनौट प्रणालीको मूल आधार बन्दै गएको छ । यस प्रणाली अनुसार कर्मचारीहरु योग्यता, दक्षता र प्रतिस्पर्धाको आधारमा छनौट हुन्छन् र कर्मचारी छनौट प्रक्रियामा राजनीतिको कुनै भूमिका रहदैन । तथापि योग्यता प्रणाली छनौट भएका कर्मचारीहरु बाट सरकारले उति नै तहको प्रतिबद्धताको अपेक्षा गरेको हुन्छ फरक यति हो यस प्रणालीमा कर्मचारीहरुको प्रतिबद्धताको तहलाई उच्च राख्न उचित कार्य वातावरण, उत्प्रेरणाका अवयवहरु, कार्य संचालनका स्पष्ट आधार, अधिकार र उत्तरदायित्व जस्ता तत्वहरुलाई प्रयोगमा ल्याईएको हुन्छ । यसलाई सन्तुलित प्रतिबद्धता भनिन्छ । प्रतिबद्धताका क्षेत्रहरुमा कानून प्रतिको प्रतिबद्धता, नीति प्रतिको प्रतिबद्धता, कार्यान्वयन तहको प्रतिबद्धता, सेवाग्राही प्रतिको प्रतिबद्धता र परिणाम प्रतिको प्रतिबद्धता पर्दछन् ।

मूल्य मान्यताको अवलम्बन

मूल्य मान्यताको अवलम्बनको सैद्धान्तिक धरातलमा नैतिकता सहितको हरेक कदमले एउटा व्यक्तिलाई उन्नत, परिस्कृत र पूर्ण व्यक्तिमा दिगो रुपमा रुपान्तरण गर्नमा सहयोग पुर्याउछ । यसै आधारको अवलम्बनले सार्वजनिक दायित्व निर्वाह गर्ने व्यक्तिहरुलाई सार्वजनिक चरित्रको प्रवेशताद्वारा सकारात्मकताको सन्देश प्रवाह गर्ने आदर्श चरित्र निर्माण गर्नमा सहयोग पुग्दछ । वास्तवमा स्वीकार्य मूल्य मान्यता तथा नैतिकताको प्रवद्र्धन गर्ने गराउने परिपाटीको अभावले आजको सार्वजनिक प्रशासन एकाध अपवाद बाहेक ‘सार्वजनिक’ बन्न नसकि सदाचारमा कमजोर, बोझयुक्त, अविवेकी, मर्यादाहीन, अनुशासनहीन, नातावाद जस्ता नकारात्मक विशेषणबाट आभुषित हुन पुगेको हो । यसैले पनि मूल्य मान्यता र नैतिकताको प्रवद्र्धन सार्वजनिक प्रशासन र सार्वजनिक सरोकारवालाहरुको लागि अपरिहार्य आवश्यकता हो । यो सन्दर्भ सार्वजनिक प्रशासनको परिवेशमा जति सान्दर्भिक देखिएको छ त्यति नै अन्य पक्षहरुमा पनि उत्तिनै आवश्यक देखिएको छ ।

मूल्य तथा मान्यता गुण र अपेक्षित स्तरको आवश्यकीय आदर्श सैद्धान्तिक आधार हो । यो स्व प्रयोगमा आधारित नियम तथा नैतिकताको आधारशीला हो जसले जीवनको स्पष्ट र सहजयात्रामा सहयोग पुर्याउदछ । मूल्यलाई विश्वव्यापी, मानवीय र अल्पकालीन मूल्यमा वर्गीकृत गर्न सकिन्छ जसमा धार्मिक, कलात्मक, व्यवसायिक, सांस्कृतिक, आर्थिक, वातावरणीय, नैतिक, पारिवारिक, सामाजिक संस्थागत, राजनीतिक मूल्यहरु पर्दछन् । नैतिकता भित्र सकारात्मक प्रकृतिका आवश्यकीय अपेक्षित व्यवहार र संस्कृति पर्दछन् । त्यस्तै स्वस्थ्य आध्यात्मिकता सवल जीवन शैलीको आधार हो । आध्यात्मिक योग्यता भएको मानिसले प्रत्येक घटना, परिस्थिति र समस्यालाई सकारात्मक दृष्टिकोणका साथ ग्रहण गर्दछ, घटनावाट शिक्षा लिएर अनुभवी वन्दै दृढ मनोबल प्राप्त गर्न सक्दछ । तसर्थ स्वस्थ्य र वैज्ञानिक आध्यात्मिकता पनि सही मूल्य मान्यता र नैतिकताको प्रबध्र्दन गर्ने सहयोगी अंग बन्न सक्दछ ।

कर्मचारीहरु सरकारको अंग भएर मात्र होइन समाजको एउटा आदर्श चरित्रको रुपमा समेत स्थापित हुनुपर्ने कारणले उनीहरुबाट नैतिकता र मूल्य मान्यताको अपेक्षा बढी हुनु स्वभाविकै हो । यसैले पनि मूल्य मान्यता र नैतिकताको प्रवद्र्धन सार्वजनिक प्रशासनको लागि अपरिहार्य देखिएको हो । यसर्थ अबको सार्वजनिक प्रशासन यसमा अन्तरनिहित सवलपक्षलाई कायम राख्दै यसलाई थप परिस्कृत र समाजपयोगी वन्न सक्नु पर्दछ । यसको लागि यसका पाठ्यक्रमहरु छनौट प्रणाली, कार्य संचालनका आधारहरु यसलाई सहयोग गर्ने खालको हुनु आवश्यक छ ।

यसर्थ यसको लागि शैक्षिक संस्था, तालीम प्रदायक संस्थाहरुले नैतिक मूल्य, मान्यता, दायित्व वोध, समर्पण भाव, मधुरता, धैर्यता परोपकारिता, सहिष्णुता, निष्पक्षता, तटस्थता, सदाचारिता, पारदर्शिता जस्ता विषयहरुलाई पक्षको विकासमा टेवा पुग्ने गरी तालिम कार्यक्रमहरु संचालन गर्नु पर्ने हुन्छ जसवाट कर्मचारीहरुको पेशागत दक्षता र प्रभावकारिता अभिबृद्धि गर्नमा सहयोग पुग्न जान्छ । यसवाट सार्वजनिक दायित्व निर्वाह गर्ने व्यक्तिहरुलाई सार्वजनिक चरित्रको प्रवेशताद्वारा सकारात्मकताको सन्देश प्रवाह गर्ने आदर्श चरित्र निर्माण गर्नमा सहयोग पुग्दछ जसले अन्ततः सार्वजनिक सेवालाई जनमैत्री संयन्त्रको रुपमा लिई आस्थाको आवश्यकीय धरोहर मान्ने संस्कृतिको विकास हुन जान्छ ।

प्रतिक्रिया दिनुहोस