नारी शरीर « प्रशासन
Logo १३ असार २०७९, सोमबार
   

नारी शरीर


२ मंसिर २०७४, शनिबार


अहिलेसम्म पुरुषद्वारा नारी शरीरका बारेमा धेरै लेखियो, मूल्याङ्कन गरियो र आफ्नो मनको मधुरता मिलाएर धेरै रचना गरियो । नारी शरीरलाई लिएर नारीलाई भने लेख्ने अधिकार थिएन । नारी मनका बारेमा लेख्न सक्छन्, तर शरीरका बारेमा लेख्न सक्दिनन् । तर अहिले लेखिएकाहरू, कवीयत्रीहरू, पुरुषहरूद्वारा तयार गरिएको घेराबाट बाहिर निस्कन चाहन्छन् ।

अहिले यी महिलाहरू आफ्नो शरीरका बारेमा आफ्नै तरिकाले लेखिरहेका छन् । नारी–शरीर पुरुषको सम्पत्ति होइन या लेखक–कविहरूको अधिकारको विषय होइन, यदि लेखिका, कवयित्रीले यस कुरालाई मनन गरेमा साहित्य जगत्मा धेरै गुलो परिवर्तन आउने छ । बङ्गाली समाज घृणित पुरुषतन्त्रद्वारा अहिले पनि आक्रान्त छ, तर बङ्गाली साहित्यमा पुरुषतान्त्रिक नियम–नीतिहरूलाई तोड्नका लागि थोरै सही, कोसिस जारी छ । त्यो सायद यसकारण कि अधिकांश बङ्गाली लेखिका–कवयित्रीहरू सुशिक्षित र आत्मनिर्भर छन् तथा आफ्नो अधिकारप्रति जागरूक छन् । तर समाजमा अहिले पनि नारी असहाय छन्, उनीहरू स्कुल, कलेज त गइरहेका छन् तर साँचो अर्थमा शिक्षित भइरहेका छैनन् । नारी स्वयं आर्जन त गरिरहेका छन् तर पुरूषप्रति पहिलेझैँ निर्भर छन् ।

अधिकतर नारी नै पुरुषतन्त्रका संवाहक छन् । अधिकतर नारी स्वयं नै कैदी जीवनबाट मुक्त हुन डराउँछन् । यस्तो असहाय स्थिति यस पुरुषतान्त्रिक व्यवस्थाले नै रचेको हो । यस समाजमा नारी पुरुषकी दासी हुन् । तथापि नाङ्गो आँखाले हेरेमा दासी, दासीजस्ती लाग्दिनन् । नाताको गहिराइमा गएमा यो कुरा स्पष्ट भैहाल्छ । नारी जुनबेला प्रेमिका हुन्छ त्यसबेला ऊ दासी हुन्छे । जुनबेला श्रीमती बन्छे त्यसबेला पनि दासी नै रहन्छे, उच्च स्तरकी दासी । उसले पुरुष–नारीले आफूलाई त्यसैअनुरूप ढाल्नु पर्छ ।
नारीलाई कमजोर बनाउने हतियार । ईश्वर र दासीबीच माया हुन सक्दैन । सामग्रीका साथ अन्य जेसुकै होस्, माया हुनै सक्दैन । नारीले यदि आफ्नो यौनइच्छा प्रकट गरेमा समाजका सबै मान्छे उसलाई घृणा गर्दछन् । नारीमा यौनइच्छा हुनुहुँदैन । यदि उसले आफ्नो यौनइच्छा प्रकट गर्छे भने नारी निर्लज्ज हुन्, भ्रष्ट हुन्, वेश्या हुन् । नारीले आफ्नो यौनइच्छा प्रकट गर्छे भने नारी निर्लज्ज हुन्, भ्रष्ट हुन्, वेश्या हुन् । नारीले आफ्नो शरीरको अङ्गअङ्ग सजाऊन् पुरुषका लागि, आफ्नो लागि होइन । नारी बाँचून् पुरुषका लागि, आफ्नो लागि बिल्कुल होइन । यस्तै नियम छ । कति नारीलाई थाहा छ– समागममा एक आत्मबोध हुन्छ, जसको नाम हो चरम आनन्द । केही नारीलाई मात्र थाहा छ । अधिकांश नारी यही मान्छन् सेक्स पुरूषको कुरा हो ।

नारीको प्रयोग केवल पुरुषको मोजमस्तीका लागि हो । शरीर नारीको हो तर त्यसमाथि अधिकार पुरुषको छ । नारी जिन्दगीभर एक हातबाट अर्को हातमा समर्पित भई रहन्छन् । केवल उसको मालिक बद्लिरहन्छ । बुबाबाट प्रेमी, प्रेमीबाट श्रीमान्, श्रीमान्बाट छोराछोरीहरू । नारीको जिन्दगी नारीको हुँदैन । नारी विभिन्न नाताले पुरुषसँगै बाँधिएका हुन्छन्, साङ्लोमा जकडिएका हुन्छन् ।

जुनबेला हाम्रो समाजको यस्तो स्थिति छ, त्यसबेला लेखिका–कवयित्रीले आफ्नो शरीरमाथि आफ्नो अधिकारको बारेमा लेख्छन्, यौन–स्वतन्त्रताका बारेमा लेख्छन्, त्यसबेला यो सम्भव छ– त्यसले समाजको सही रूप प्रस्तुत गर्दैन, तर एक किसिमको क्रान्ति त्यसले ल्याइरहेका छ चाहे त्यो सानोतिनो नै किन नहोस्, चाहे त्यो कलम–कागजमा नै किन नहोस् । धेरथोर आगोका झिल्काजस्तै, कसैले सल्काई दियो, अब मात्र फैलन बाँकी छ । जुन नारी लेखिका–कवयित्री छैनन्, तिनीहरूभित्र आगो छैन भन्ने पनि होइन । तर त्यो आगो उनीहरूभित्र नै दबिएर रहन्छन्, प्रकट हुँदैनन् । त्यसैले समाज परिवर्तनका लागि कलाकारहरू, साहित्यकारहरूको सधैँ नै निकै ठूलो भूमिका रहन्छ ।

म ठूलो समालोचकजस्तो यो भन्दिनँ केवल नारी–शरीरको बारेमा लेखेर मात्र हुँदैन, उनीहरूले लेखेको साहित्य स्तरीय भयो या भएन, त्यो पनि हेर्नुपर्छ । होइन, म यी सब हेर्दिनँ । नारीले चाहे जेसुकै लेखून्, जस्तोसुकै लेखून् यदि भित्री तहबाटै पूरा सत्यका साथ लेख्छिन् भन्ने त्यसले अरूको मन छुने छ नै । साहित्यको म कुनै परिभाषा दिन चाहन्नँ । पाठकलाई यदि कुनै कविता, कथा, उपन्यास, निबन्ध राम्रो लागे, त्यसलाई पढेर प्रफुल्ल् भए, त्यो नै साहित्य हो । । कम से कम म यस्तै सोच्छु ।

नारी साङ्लो चुँडालेर बाहिर निस्किएका छन्, यो मेरोलागि बेजोड कविता हो । साङ्लो टुट्दा या तोडिँदाको यो आवाज नै, मेरालागि सर्वाधिक प्रिय सङ्गीत हो । यस बारेमा यदि कसैले कथा या कविता लेखेमा त्यो आश्चर्यजनक, राम्रो, अद्भुत साहित्य हुनेछ– यो कुरा म हिचकिचाहटविना नै भन्न सक्छु । हजारौँ वर्षदेखि हातखुट्टामा बाँधिएका साङ्लाहरू तोडेर जुन नारी मुक्त हुन्छे, उसले चाहे कुनै कविता नलेखून तर म उसलाई कवि नै भन्ने छु, यो मेरो अटुट विश्वास हो ।

तसलीमा नसरीनको आइमाईको कुनै देश छैनबाट साभार

प्रतिक्रिया दिनुहोस