व्यक्तिगत चन्दा संकलनले विकृति « प्रशासन
Logo ११ मंसिर २०७८, शनिबार
   

व्यक्तिगत चन्दा संकलनले विकृति


३० कार्तिक २०७४, बिहिबार


काठमाडौं । उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष पशुपति मुरारकाको मोबाइल केही दिनयता धेरै समय अफ हुन्छ । चन्दा माग्नेको फोनबाट आजित भएपछि मोबाइल अफ गर्न थालेका हुन् । मंगलबार भेट हुँदा कसैलाई फोन गर्नुपर्दा मोबाइल अन गर्ने उनी कुराकानी सिद्धिनेबित्तिकै अफ गरिरहेका थिए । बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले चुनावको मिति घोषणा भएकै दिन मोबाइलको फोन बुकमा सेभ नभएका नम्बरबाट कल नआउने बनाएका थिए, जुन चुनावको दिनसम्मै रहनेछ।

बस्नेत चन्दा÷सहयोग पनि चेकमार्फत दिन्छन् । यसअघि उनले चेकमार्फत कम्पनीकै खाताबाट दिएको चन्दा रकम कर प्रयोजनका लागि खर्च नमानिएपछि यसपालि व्यक्तिगत खाताबाट चन्दा दिनुपरेको छ । ‘व्यक्तिगत खाताबाट दिनुपर्ने भएपछि चन्दा पाउनेको सूची र रकम दुवै घटाएको छु’, उनी सुनाउँदै थिए। मुरारकाको पुख्र्यौली थलो लहान हो, विराटनगर, भैरहवा र नेपालगन्जमा उनका उद्योग छन् ।

परिवारको बसोवास काठमाडौं र विराटनगरमा छ। उद्योग र बसोवास भएका ठाउँका उम्मेदवारलाई सहयोग गर्नै पर्ने भएकाले सूची यसै पनि लामो हुन्छ । ‘चन्दाको चाप थेग्न नसक्ने गरी पर्न थाल्यो’, उनी गुनासो गर्छन् । कमाएपछि अरूलाई परेका बेला खर्च गर्नुपर्छ भन्ने उद्योगी शशिकान्त अग्रवाल मनले खाएका उम्मेदवारलाई स्वैच्छिक चन्दा दान गर्न पाउनुपर्छ भन्छन् । ‘सानै रकम पनि करकापमा चन्दा दिनुपर्दा मन खिन्न हुन्छ’, उनी भन्छन् ।

सामान्यतया पार्टीले चन्दा संकलन गरी उम्मेदवारलाई बाँड्नुपर्ने हो । सबैजसो पार्टीको चन्दा संकलन संस्थागत कम, व्यक्तिगत बढी छ । संस्थागत चन्दा संकलनमा रुचि नदेखाएका दलले उम्मेदवारलाई चुनाव खर्च दिँदैनन्, दिए पनि टोकन मनीको रूपमा। उम्मेदवार आफैं चन्दाका लागि भिड्ने भएकाले बजारमा चन्दा आतंकको अवस्था छ । ‘पार्टीले मात्र चन्दा संकलन गर्ने थिति बसालेको भए यस्तो अवस्था हुन्थेन’, मुरारका भन्छन् ।
०४६ सालको परिवर्तनपछि सत्तामा पुगेका दल त्यसअघि प्रतिबन्धित भएकाले देशमा पार्टीले चन्दा संकलन गर्ने पद्धतिको सुरुवातै भएन । पूर्वअर्थसचिव रामेश्वर खनालका अनुसार प्रतिबन्धित कालमा खाता खोलेर चन्दा संकलन गर्न सम्भव पनि थिएन । कांग्रेसमा गुटबन्दी चर्किन थालेपछि गिरिजाप्रसाद कोइरालाले आफैंले पैसा संकलन गर्ने र कार्यकर्तालाई वितरण गर्ने रणनीति अपनाउन थाले। कार्यकर्तालाई आफूप्रति बफादार बनाउने उनको रणनीति सफल भयो। केपी ओली, प्रचण्ड, कमल थापा आदिले ‘गिरिजा शैली’ पच्छ्याए ।

एमालेले चन्दा उठाएर पार्टी कार्यालय बनाउने जिम्मा वामदेव गौतमलाई दियो। ‘संस्थागत नगरी व्यक्तिगत चन्दा संकलन गर्दा नेतालाई फाइदै फाइदा छ’, खनाल थप्छन्, ‘कार्यकर्तालाई दिएर बफादारी किन्न सकिन्छ, जोगाएर धनी पनि भइन्छ ।’ यसरी चन्दा उठाएर बफादारी किन्नेकै पार्टीमा वर्चस्व स्थापित भएको छ। उनका अनुसार भारतमै पनि पार्टी धनी छन् । यहाँ पार्टीको कोषमा नगन्य पैसा छ, नेतासँग करोड होइन, अर्ब रुपैयाँ भएको सुनिन्छ ।

दलले संस्थागत रूपमा चन्दा संकलन नगरी उम्मेदवारलाई निर्वाचन खर्च व्यवस्थापन गर्ने जिम्मा दिँदा आर्थिक विकृति बढेको माओवादी केन्द्रका केन्द्रीय लेखा परीक्षण आयोग प्रमुख डोरप्रसाद उपाध्याय स्विकार्छन् । चन्दा उठाएर आर्जन गर्न सकिने लोभमा पनि हार निश्चित भएका, जनतामाझ अपरिचितले पनि टिकटका लागि हानथाप गर्ने हदको विकृति बढेको उनी बताउँछन् । उनका अनुसार पार्टीले चुनाव खर्च दिने परिपाटी नै हराउन थाल्यो। उम्मेदवारले जति चन्दा उठाए पनि विवरण पार्टीलाई बुझाउनु पनि पर्दैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस