बेनामी मुस्कान « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बेनामी मुस्कान


१८ कार्तिक २०७४, शनिबार


होटलको काउन्टरमा बसेको ठिटो । झट्ट हेर्दा ऊ बंगालीजस्तो देखिन्थ्यो । काउन्टर छेउमा पुग्नासाथ उसले हाम्रो स्वागत गर्दै भन्यो, ‘वार्म वेलकम यू म्याम ।’ मैले पनि तुरुन्तै जवाफ फर्काएँ, ‘थ्याङ्क्यु ।’

त्यो बेलै ऊसँग मेरो भलाकुसारी भयो । हामीबीच बसाइबारे केही कुरा भएका थिए । यद्यपी हामी दुवैले एक–अर्काको नाम, ठेगाना भने सोधेनौं ।

कुराकानी गर्दा बेलाबेला ऊ दाहिनेतर्फ ओठको कुना थोरै बङ्ग्याएर मुस्कुराउथ्यो । मलाई उसको त्यो मुस्कान खास लागेको थियो । र, त मलाई उसको मुस्कानले मोहनी झै लगाएको थियो ।

अर्चाडको लबीमा म त्यही अन्जान ठिटोका लागि छट्पटिएँ । अन्जान ठिटोको मुस्कानले किन तान्दैछ ? मेरो मनले प्रश्न गथ्र्याे ।

म चैनसँग घुम्न र साथीसँग रमाउन चाहन्थे । तर, अन्जान ठिटोको मुस्कानले त्यो इच्छा हरण गरेको थियो । थाहै नपाई उसको मुस्कानमा मैले अपनत्व महसुस गरेकी थिएँ । उसले मेरो ख्याल पनि त राखेको थियो नि । दोस्रो दिन उसले रेस्टुरेन्टबाट चिया बनाएर मलाई दिँदै भन्यो, ‘म्यामका लागि नयाँ टेस्ट ।’

मलाई त्यो आवाज मुरलीको धुन जस्तै लागेको थियो । म फेरि उसले बनाएको चिया पिउन चाहान्थे । जहाँ नेपाली टेस्ट पाइन्थ्यो । तर, मैले अर्चाडको काउन्टरमा ख्याउटे ठिटोलाई देखिरहेकी थिएँ । ऊ निकै हतार गरिरहेको हुन्थ्यो । कागजका पाना हातभरि लिएर ऊ औँला यत्रतत्र नचाइरहेको हुन्थ्यो । एक हातले टेलिफोन समाई मुस्कुराउने प्रयास गरिरहन्थ्यो ।

होटलमा पहिलो दिन स्वागत गर्न आएकी अधबैंसे महिलाबाहेक अरु ठिटी मैले देखिनँ । यसमा मैले ध्यान पनि नदिएको हुन सक्छ । सोचे तसलिमाको देशमा कुन महिला होटलमा काम गर्दी हो र ! सपिङ मल, होटल, पार्क, अफिसमा पनि त मैले महिलाका मुहार देखिनँ । बुर्काभित्र सजिएका सुन्दर अनुहार हेर्ने अवसर पनि जुरेन । तर, बुर्काभित्रको अनुहार हेर्ने कौतुहलता थियो ।

आरामदायी सोफामा शान्त बसेकी मैले मनको उडानलाई रोक्न सकेकी थिइन् । मनभन्दा छिटो आँखा अर्चाडको काउन्टर र मूल ढोकामा दौडिरहेका थिए । मैले इन्द्रियलाई रोक्न सकिनँ । किनकि मसँग केही क्षण समय मात्रै थियो । कालो पोशाकमा सजिएको गार्ड रेस्टुरेन्टमा कफी पिइरहेकी गोरीलाई हेरिरहेको थियो । उसका आँखा युवतीले कफी सुक्र्याउने ओठको वरिपरि केन्द्रित थिए । ऊ युवतीसँगै बसेको युवकप्रति इश्र्यालु देखिन्थ्यो । मैलै नचाहँदा नचाहँदै पनि यो दृश्य हेर्नुपरेको थियो । किनकि मेरा आँखा अर्चाडको मूल ढोकाबाट हट्न मानिरहेका थिएनन् । म चाहन्थे, ‘बिदाइका बेला अन्जान ठिटोले मुस्कुराउँदै बाई भनोस् ।’

परदेश बसाइको अन्तिम समय स्मरणयोग्य बनाउन केही गर्नुपर्ने थियो । बिदाइका पल कैद गर्न क्यामेरा चलाउनुपथ्र्याे । तर, म केही गर्न सकिरहेकी थिइनँ ।

मन र आँखा बिच्छिइरहेका थिए । भिडभाड र सुन्दर लवीको प्राण थिएन । म हराएको त्यही प्राण खोजिरहेकी थिएँ । होटल बसाइको अन्तिम क्षण भइसकेको थियो । मेरो चाहना पूरा गर्न कुनै चमत्कारको कामना गरिरहेकी थिएँ ।
‘गुड मर्निङ म्याम ।’

यो आवाजले सुनेपछि म झस्किएँ । हेरे, नयाँ ठिटो रहेछ । यसले मन अमिलो भएको थियो । आँखा सुख्खा बनेका थिए । यो अवस्थामा देखेर सँग बसेका साथीले सोधे, ‘के भयो, सन्चो छैन कि क्या हो ?’ मैले तुरुन्तै जवाफ फर्काए, ‘हैन, हैन, ठिकै छु ।’ त्यसपछि मैले आफूलाई नियन्त्रणमा राख्न खोजेँ । तर, किन आफैसँग आफै पराई भएजस्तो लागिरहेको थियो ।

लबीमा मन र काउन्टरमा आँखा छाडेर म ड्राइभरको पछि लागे । त्यतिबेला मूल गेटबाट अन्तिमपटक काउन्टरमा आँखा दौडाएकी थिएँ ।

बाफिलो गर्मीमा सडकको शान्त भिड छिचोल्दै हजरात साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा पुगे । साथीहरू ड्यूटी फ्रीको फाइदा उठाउन बचेखुचेको डलर रित्याइरहेका थिए । मसँग एक सय पचास डलर बाँकी थियो ।

प्लेनभित्र धिमा गतिमा मधुरो संगीत गुञ्जिरहेको थियो । एयरहोस्टेस खानेकुरा बाँडिरहेका थिए । राइट दाजुभाइको आविष्कार सेता बादलमाथि आकाशमा थियो । म झ्यालबाट बादलका पहाडमा एउटा मुस्कान कुँदिरहेकी थिएँ । मैले कुँदेको थोरै बायाँ मुस्कुराउने मुस्कान कुल्चिएर प्लेन उडान भरिरहेको थियो । सोचे, अरुले सजिलै मेटिदिने मुस्कान, आकृति फेरिरहने बादलमा नै किन कुँदौ ? त्यसपछि तिनै बंगाली युवकले झै थोरै बाङ्गो मुस्कुराउँदै म प्लेनबाट बाहिर निस्किए ।

Tags :
प्रतिक्रिया दिनुहोस