गाउँबाट सहर पस्दा « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

गाउँबाट सहर पस्दा


१८ कार्तिक २०७४, शनिबार


बालापन गाउँमै बित्यो । गाउँमै हुर्केकाले सवारीसाधन चढ्नु त परै जाओस्, देखेकोसम्म थिइनँ । बालापनमा गाउँ नै सम्पूर्ण संसार हो लाग्थ्यो । १५ वर्ष हुँदासम्म पनि जिल्लाभन्दा बाहिर निस्कन पाइएन ।

बाल्यकालमा सहरप्रति थुप्रै कुराले मन कौतुहल बनाउथ्यो । सहर कस्तो होला ? त्यहाँका मान्छे कस्ता होलान् ? के खालान् ? धेरै कुराले मन कौतुहल खेल्थे ।

१० कक्षासम्म गाउँकै स्कुलमा पढेँ । एसएलसी पास भएपछि भने गाउँ छोड्नु बाध्यता भयो । गाउँमा उच्च तह पढाइ हुने उमावि र क्याम्पस थिएनन् ।

सहर झरेको केही दिनसम्म गाउँको न्यास्रो लाग्यो । परिवार तथा साथीभाइको मायाले पिरोल्यो । सहरमा बस्दा पिँजडामा रहेको अनुभव हुन्थ्यो ।

वन, पाखापखेरा र खेतबारीमा उकाली–ओराली गर्दा रमाउने ज्यानलाई केही दिनसम्म सहरको वातावरण पचेन । तर, यहाँको वातावरणमा घुलमिल नभई सुखै थिएन ।

सहर आएपछि दिनचर्या पनि फेरिएको थियो । घरमाजस्तो साँझ–बिहान खेतबारीको काम गर्नुपर्दैनथ्यो । अध्ययनसँगै खाना पकाउने काम मात्रै गर्नुपथ्र्याे ।

कलेजपछिको समय खाली बस्नुपथ्र्याे । यसले दिक्क महसुस हुन्थ्यो । सहर अल्छीको बासस्थानजस्तो लाग्थ्यो ।

सहर बसाईले म पनि अल्छी भएँ । बिहान ढिलो उठ्न थाले । गाउँमा बस्दा म सधै बिहान पाँच बजे उठ्थे । यहाँ भने उठ्दा जहिल्यै सात बज्थ्यो ।

गरिब परिवार भएकाले घरखर्च चलाउन निकै समस्या थियो । घरव्यवहार चलाउन बुबाले अधिकांश समय रोजगारीका लागि भारतमै बिताउनुभयो । अहिले पनि उहाँ उतै हुनुहुन्छ ।

दिन बित्दै गए, सहरले मन तान्दै गयो । गाउँको याद सहरका रमझममा बिलिन हुन थाले । केही दिनअघि म सहरप्रेमी हुन थाले । समयको परिर्वतन या बाध्यताले म अल्छी बन्दै गए । नबनु पनि कसरी ? काम नै नभएपछि ।

अनेक स्वभावका साथी थपिँदै गए । कोही गफाडी थिए त कोही भद्र । यहाँका साथी गाउँकाभन्दा अनौठो व्यवहार थिए । हुन त स्कुले जीवनभन्दा कलेज लाइफ खुला भएर होला । कतिपय साथी त कक्षाकोठामै गुटखा र सुर्ती खान्थे । तर, म भने त्यो चिजतिर लाग्दै लागिनँ ।

घरदेखि टाढा डेरामा एक्लै बस्दा खुला तरिकाले बस्न पाएको थिएँ÷छु । गाउँमा छँदा बन्धनमा बाधिए जस्तो लाग्थ्यो । नलाग्नु पनि कसरी ? परिवारको आग्रह पालना नगरी सुुखै थिएन । एक हिसावले भनौं अहिले मन चंगाजस्तै भएको छ । जता उडायो, उतै उड्ने । केवल उडाउने कला मात्रै चाहिने ।

मुलुकको सबैभन्दा दुर्गममा पर्ने बझाङ, त्यसको पनि दुर्गममा मेरो घर छ । सडक पुगेको स्थानबाट मेरो घर पुग्न एक दिन पैदल यात्रा गर्नुपर्छ ।

मेरो गाउँ भौगोलिक विकट त छ नै राज्यको दृष्टिमा पनि पुग्न सकेको छैन । अझै त्यहाँ विकासका पूर्वाधारले छुन सकेको छैन ।

स्वास्थ्य चौकी पुग्न एक–दुई घण्टा पैदल हिँड्नुपर्ने बाध्यता छ । यस्तो कहर भोग्न विवश छन्, यहाँका स्थानीय ।

विकासमा पछाडि परेको गाउँबाट सहर आउँदा विकासको अनुभूति भएको छ । सहरमा जस्तै गाउँमा पनि अस्पताल, विद्यालय, खानेपानी, विद्युत इत्यादि सुविधा भएको भए गाउँबासीलाई कति सुविधा हुन्थ्यो होला । के यसतर्फ राज्यको ध्यान पुग्ला र  ?

Tags :
प्रतिक्रिया दिनुहोस