पछिल्लो नौ महिनामा पुनःनिर्माणले लियो गति « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

पछिल्लो नौ महिनामा पुनःनिर्माणले लियो गति


५ कार्तिक २०७४, आइतबार


काठमाडौं । पछिल्लो नौ महिनामा निजी आवास पुनःनिर्माणतर्फ बन्दै गरेका र बनिसकेका घरको संख्या एक लाख ८० हजार पुगेको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको पुनरावलोकन प्रतिवेदनअनुसार पछिल्लोे नौ महिनामा एक लाख ३० हजार २७३ लाभग्राहीको घर निर्माणाधीन अवस्थामा छ । ५० हजार २१७ घर बनिसकेका छन् ।

गत वर्ष पुस मसान्तसम्म जम्मा निर्माणाधीन घरको संख्या १७ हजार ९९ थियो भने निर्माण सम्पन्न घरको संख्या ११ हजार ८७१ मात्र भएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा. डा. गोविन्दराज पोखरेलले बताए ।

प्राधिकरण निर्देशक समितिको बैठकले निजी आवास अनुदानका लागि समयसीमा निर्धारण गरेकाले घर बनाउनेको संख्या उल्लेख्य वृद्धि भएको हो । प्राधिकरणले अनुदान सम्झौता गरिसकेका सबै लाभग्राहीले निजी आवास पुनःनिर्माणका लागि आगामी असार मसान्तसम्म सबै किस्ता लिइसक्नुपर्ने नयाँ व्यवस्था लागू गरेको छ ।

विभिन्न निकायबाट प्राप्त भएका करिब दुई लाख पाँच हजार बढी गुनासोलाई फछ्र्यौट गरी ४० हजार ९६७ घर धुरीलाई लाभग्राहीमा समावेश गरिएको छ । पुनःनिर्माण तथा अनुदान वितरणसम्बन्धी विगतका अव्यावहारिक प्रावधान र मापदण्डलाई व्यावहारिक बनाउन कार्यविधि संशोधन गरिएकाले पनि निजी आवास पुनःनिर्माणले तुलनात्मकरुपमा गति लिएको प्राधिकरणको भनाइ छ ।

यस्तै मापदण्डअनुसार नबनेका घरलाई मापदण्ड पु¥याई अनुदान लिनका लागि अपवाद तथा सुधार पुस्तिका तयार गरी प्राविधिकलाई तालीम दिई समस्या समाधान गर्न जिल्ला पठाइएकाले पनि अनुदानबाट बञ्चित भएका लाभग्राहीले दोस्रो र तेस्रो किस्ताको रकम पाएका छन् ।

हालै मात्र प्राधिकरणको प्रस्तावबमोजिम सरकारले भूकम्प प्रभावित क्षेत्रमा बन्दै गरेको घरसमेत धितो राखेर रु तीन लाख निव्र्याजी ऋण दिने व्यवस्थाले पनि पुनःनिर्माणलाई थप गति दिनेछ ।

“समग्र पुनःनिर्माणको अवस्थालाई हेर्दा केही ढिलाइ भएजस्तो देखिएपनि पछिल्लो नौ महिनाको बढ्दो अनुपातलाई हेर्दा निराश हुने अवस्था छैन, निजी आवास पुनःनिर्माणले गति लिएको तथ्यांकले नै पुष्टि गर्छ”– उनले भने ।

इन्डोनेशियामा पुनःनिर्माण शुरु भएदेखि स्थायी संरचना निर्माण सम्पन्न हुन आठ वर्ष र पाकिस्तानमा पाँच वर्ष लागेको थियो । भारतको गुजारतसँग तुलना गर्दा नेपालमा पनि केही ढिलाइ भए पनि अझै स्रोत साधनको उपलब्धता र सरोकार भएका निकायबीच समन्वय भए तोकिएकै समयमा पुनःनिर्माण सम्पन्न हुने प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताए ।

प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लामा असोज मसान्तसम्म ८५ हजार बढी घरधुरीले दोस्रो किस्ता बुझेका छन् । एक लाख छ हजार बढी लाभग्राहीले दोस्रो किस्ता भुक्तानीका लागि निवेदन दिएका छन् । करिब ९७ हजार लाभग्राहीलाई दोस्रो किस्ता भुक्तानीका लागि प्रमाणीकरण गरिएको छ ।

चाडपर्वका कारण इञ्जिनियर निर्माणस्थलमा नभएको र कतिपय ठाउँमा प्राविधिक जनशक्ति अपुग भएकाले प्राधिकरणको सूचना प्रणालीमा तथ्यांक समावेश हुन नसकेको इञ्जिनियर प्रवीण आचार्यले बताए ।

“बनिसकेका र बन्दै गरेका घरको तथ्यांक सूचना प्रणालीमा अद्यावधिक शुरु भए यो संख्या थप बढ्नेछ, पुस मसान्तसम्म तीन लाख ५० हजार घर बन्ने हाम्रो अनुमान छ”– उनले भने ।

शैक्षिक क्षेत्रको पुनःनिर्माणमा उल्लेख्य प्रगति

नौ महिनाअघि २०० शैक्षिक संस्था निर्माण सम्पन्न भएकामा हाल यो संख्या दुई हजार ४५६ पुगेको छ । निर्माणाधीन शैक्षिक संस्थाको संख्या भने एक हजार २८६ छ ।

शिक्षा मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख इमनारायण श्रेष्ठ भूकम्पबाट क्षतिग्रस्त आठ हजार ९२३ शैक्षिक संस्थामध्ये अहिलेसम्म चार हजार ३८१ शैक्षिक संस्था निर्माणाधीन र निर्माण सम्पन्नको अवस्थामा पुगेको बताए ।

यसैगरी स्वास्थ्य संस्था, सरकारी भवन र खानेपानी पूर्वाधारलगायतको क्षेत्रले पनि पछिल्लो नौ महिनामा गति लिएको प्राधिकरणले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस