वन पैदावर बिक्रीबाट सामुदायिक वनको पचास लाख आय « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

वन पैदावर बिक्रीबाट सामुदायिक वनको पचास लाख आय


२३ आश्विन २०७४, सोमबार


कञ्चनपुर । वन पैदावार बिक्री गरी कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ मा रहेको वातावरण मध्यवर्ती सामुदायिक वनले वार्षिक रुपमा ५० लाख आय गर्दै आएको छ ।

सामुदायिक वनले बाँस, काठ, अदुवा, बेसार, कागती, आँप र अन्य वनपैदावार बिक्री गरी आम्दानी गर्दै आएको हो । दुई हजार बाँसका बिरुवाबाट मात्रै सामुदायिक वनले वार्षिकरुपमा रु पाँच लाख आम्दानी गर्दै आएको छ ।

कागतीका पाँच हजार र आँपका ७०० रुखलाई वार्षिक रुपमा एकलाख ६५ हजार दिने गरी ठेक्का दिई आम्दानी गरिँदै आएको सामुदायिक वनका सचिव लोकेन्द्रराज जोशीले बताए ।

“काठ, अदुवा, बेसार र ढुंगा उपभोक्तालाई न्यून शुल्कमा बिक्री गरी अन्य आम्दानी हुँदै आएको छ” उनले भने । सामुदायिक वनले गरेको आम्दानीमध्ये ३५ लाख रकम खर्चेर जंगली जनावर बस्तीमा छिर्न नदिनका लागि यस वर्ष झण्डै डेढ किलोमिटर क्षेत्रमा तारबार गरेको छ ।

“स्थानीय सडकमा ग्राभेल हाल्न, विद्यालयलाई कम्प्युटर, मन्दिर निर्माण गर्न र स्वास्थ्य चौकी भवन निर्माणका लागि आवश्यक रकम उपलब्ध गराएका छौँ” सामुदायिक वनका अध्यक्ष पुष्करबहादुर सिंहले भने ।

सामुदायिक वनले अर्को वर्ष पिकनिक स्पट निर्माण गर्ने, नर्सरी व्यवस्थापन गर्ने, पर्यटकीय क्षेत्रका रुपमा सामुदायिक वनलाई विकास गर्ने, असहायलाई सहयोग रकम निरन्तर उपलब्ध गराउने र रोजगारीका अवसर सिर्जना गर्नमा भूमिका खेल्ने खालका कार्यक्रम ल्याउनका लागि योजना अघि सारेको छ ।

चार सय हेक्टर क्षेत्रफलमा फैलिएको सामुदायिक वनमा एक हजार २०० उपभोक्ता आश्रित रहेका छन् । सामुदायिक वन वि.सं. २०५४ मा स्थापना भएको हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस