पहिले जुन कुरा सुनिन्थ्यो अहिले त्यो घट्दै गएको छ « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

पहिले जुन कुरा सुनिन्थ्यो अहिले त्यो घट्दै गएको छ


२० आश्विन २०७४, शुक्रबार


यातायात व्यवस्था कार्यालय, धनगढी सेवाग्राहीको निकै चाप हुने निकायमा पर्छ । सीमित साधन तथा स्रोतबीच सेवाग्राहीलाई सन्तुष्ठ पार्न उतिकै चुनौतीपूर्ण छ । कार्यालय सञ्चालनका चुनौती, यसको व्यवस्थापनलगायत विषयमा यातायात व्यवस्था कार्यालय, धनगढीका प्रमुख कृष्ण भुसालसँग प्रशासन डट कमका एसराज उपाध्यायले गरेको कुराकानी ।

तपाईँको कार्यालयमा सेवाग्राहीको अत्याधिक भिडभाड देखिन्छ, कसरी कामको व्यवस्थापन गरिरहनुभएको छ ?
सेवाग्राहीको भिडले काम गर्न समस्या छ । हाम्रोमा सवारी र लाइसेन्स दुइटै छ । सेवाग्राही तुरून्तै काम गरेर जान पाइयोस् भन्ने मनस्थिति बोकेर आएको हुन्छ, जुन हाम्रो क्षमताले पनि भ्याउन नसकेको अवस्था छ ।
कहिलेकाहीँ प्राविधिक समस्याले समस्या देखापर्छ । यस्तो अवस्थामा सेवाग्राहीलाई सम्झाउन पनि समस्या हुन्छ । जस्तो कहिलेकाही सर्बर र विद्युत नै जान्छ । कम्प्युटर बिग्रिन्छ । विद्युत गएका बेला तुरून्तै जेनेरेटर त चलाउछौं । तर, सेवाग्राहीलाई ढिलो भइसक्छ । कहिलेकाहीँ कर्मचारी खाजा खान बस्न नपाउने अवस्था पनि हुन्छ । कर्मचारी बिदामा बस्दा निकै समस्या हुन्छ । त्यतिबेला अर्काे शाखाको कर्मचारीले काम गर्नुपर्ने बाध्यता छ ।

अत्याधिक भिडभाड भएको हुनाले जनशक्ति बढाउनुपर्ने देखिन्छ । कर्मचारीलाई दक्ष बनाउन बेलाबेलामा तालिम दिन सके सेवाप्रवाहलाई अझ प्रभावकारी बनाउन सकिन्छ ।

यातायात कार्यालयमा जान त कर्मचारी तँछाडमछाड नै गर्छन्, पछिल्लो रेकर्डले पनि त्यही देखाउँछ, मालामाल हुने भएर हो ?
मलाई त्यस्तो लाग्दैन । तल्लो तहका कर्मचारीमा त्यो किसिमको प्रवृति छ । तर, अहिले त्यति चाप देखिँदैन । नियमनकारी निकाय चनाखो भएकाले पनि कर्मचारी डराइरहेको अवस्था छ । कतिपय ठाउँमा दरबन्दी खाली छ ।

जहाँ लाइसेन्स मात्रै वितरण हुन्छ, त्यहाँ दरबन्दी खाली देखिएको छ । जस्तो ः बुटवलमै पनि थुप्रै दरबन्दी खाली छ । वीरगन्ज र महाकाली कार्यालयमा पनि दरबन्दी फुलफिल छैनन् । हाम्रो कार्यालयमा भने अहिलेसम्म दरबन्दी फुलफिल नै भएको देखिन्छ । तर, कर्मचारी जान मरिहत्ये गरेको लाग्दैन । किनकि पहिले जुन कुरा सुनिन्थ्यो अहिले त्यो बिस्तारै घट्दै गएको छ । टेक्नोलोजीले यो सम्भव भएको हो । कर्मचारीले यताउता गर्ने वातावरण छैन । यातायात पनि स्वच्छ कार्यालयका रूपमा स्थापित हुँदैछ । त्यो हुनाले कर्मचारीले तँछाडमछाड गरेरै जानुपर्ने भन्ने मलाई लाग्दैन ।

यातायात कार्यालयप्रति जनताको दृष्ट्रिकोण खासै राम्रो हुन सकेको छैन, सुदूरपश्चिमको सन्दर्भमा के छ ?
यातायात व्यवस्था कार्यालयप्रति जनताको गुनासो सधै रहने गरेकै हो । अहिले पनि केही गुनासा छन् । किनकि जनताको अत्याधिक भिडभाड हुन्छ । सेवाग्राही बढी भएपछि स्वभाविकरूपमा सेवा दिन टाइम लाग्छ । सेवाग्राही बिहान सातै बजेदेखि नै लाइन लागेको हुन्छ । काम सकिन १२–२ पनि बज्न सक्छ । त्यो हुनाले गुनासो नै छैन भन्दिनँ । क्यापासिटिले भ्याएसम्म काम गरेका छौं । कहिलेकाही त काम गर्दागर्दै बेलुका ७–८ पनि बज्छ । तैपनि जनता त खुसी हुँदैनन्, किनकि उनीहरूलाई हामीले भनेजति पर्याप्त सेवा त दिन सकेनौं नि ।

यसमा कर्मचारीको कुनै दोष छैन । कार्यालय समयभन्दा बढी काम गरिरहेकै छौं । यो भन्दा कति गर्ने ? सांगठनिक संरचनालाई अलिकति सच्चाउनु आवश्यक छ । लाइसेन्स र सवारी एकै ठाउँमा हुँदा सेवाग्राहीको अत्याधिक भिडभाड हुने भयो । त्यसकारण यी दुइटैलाई अलग गरिनुपर्छ ।

जनताको नजरमा खासै राम्रो छाप नभएको कार्यालयमा एउटा कर्मचारी म त्यहाँ काम गर्छु भनेर गयो भने परिवेस र परिस्थिति त त्यो जाने वित्तिकै सुध्रिदैन, त्यही बीचबाट काम गर्नु पर्ने हुन्छ यस्तो अवस्थामा त्यो कर्मचारी कसरी सन्तुष्ट हुन सक्छ ?
कार्यालय कसरी व्यवस्थित गर्ने ? जनतालाई कसरी सेवा दिने ? कर्मचारीलाई कसरी नियन्त्रणमा राख्ने ? कुरा नेतृत्वमा भर पर्छ । कार्यालय प्रमुखले चाह्यो भने धेरै कुरा गर्न सकिने रहेछ भन्ने कुरा यसअघि तपाईंलाई इन्टरभ्यु दिँदा र अहिले फरक पाउनुभयो होला । वास्तवमा कार्यालय प्रमुखले आफू एउटा अडानमा रहने अफिसमा स्ट्यान्डरपन चलाउने हो भने सकिने रहेछ भन्ने हाम्रो अपिसमा गए तपाईंले देख्न सक्नुहुन्छ । यो कुरा मेरो अनुभवले पनि भन्छ । म पनि यातायात क्षेत्रमा नयाँ हुँ । सबै नियम/कानुन आउँछ भन्ने पनि होइन । कतिपय किताब पल्टाएर हेर्नुपर्ला, कतिपय जान्ने बुझ्ने या मातहतका कर्मचारीलाई नै सोध्नुपर्ला । तर, चाह्यो भने एउटा अफिसलाई स्मुथ्ली लैजान सकिन्छ भन्ने मलाई लाग्छ ।


र यो पनि,

भिडभाड बढ्दा पनि सेवाग्राहीलाई सन्तुष्ट बनाएका छौं

Tags :
प्रतिक्रिया दिनुहोस