सुन तस्करी प्रकरणः मिङ र्‍याडिसन होटलबाट फरार « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

सुन तस्करी प्रकरणः मिङ र्‍याडिसन होटलबाट फरार


२१ भाद्र २०७४, बुधबार


काडमाडौं । प्रहरीले आइतबार बिहान ८८ किलो अवैध सुन नियन्त्रणमा लिइरहँदा चिनियाँ तस्कर वान विई मिङ पाँचेतारे होटल र्‍याडिसनमा मस्त निद्रामा थिए । इतिहासमै सबैभन्दा ठूलो परिमाणमा सुन बरामद भएको खबरले बजार तातिसक्दा बिहान १० बजे उनी आरामपूर्वक होटलबाट बाहिरिँदै फरार भए ।

होटल स्रोतका अनुसार बाहिरैबाट रुम बुक गरी साँझ अबेर होटल आएका उनले आफ्नो पासपोर्ट देखाएनन् । बरु नेपाली लाइसेन्स राख्न खोजे । रिसेप्सनिस्टले लाइसेन्सले नहुने भनेपछि उनले आफ्नो पासपोर्ट अध्यागमन विभागमा छाडेको हुनाले सोमबार बिहान चेक आउट हुनेबेलासम्म ल्याउने भनी आश्वस्त गराए । हालसालै जागिर खाएकी रिसेप्सनिस्टले त्यो कुरा पत्याइन् । तर, भोलिपल्ट बिहान निस्केको उनी फर्केनन् । बरु केही घन्टामा प्रहरीको टोली आएर सोधखोज गर्न थाल्यो र सुन तस्करले आफू जोगिन होटल प्रयोग गरेको थाहा लाग्यो ।

‘यो घटना अनपेक्षित हो । तत्काल मिटिङ राखेर हामी स्टाफलाई यस्ता घटना हुन सक्नेप्रति सचेत गरायौं,’ होटलका एक कर्मचारीले भने । महानगरीय प्रहरी महाशाखाले र्‍याडिसनमै भेटिएको चिनियाँ तस्करको नेपाली लाइसेन्सका आधारमा तत्काल अनुसन्धान अगाडि बढायो । उक्त लाइसेन्स यातायात व्यवस्था विभागबाट जारी भएको देखिए पनि त्यसका लागि चिनियाँले आफ्नो पासपोर्टको प्रतिलिपिसमेत नराखेको (वा गायव पारिएको) पत्ता लागेको छ ।

विभागको रेकर्डमा सवारी अनुमतिपत्र वाहकको उल्लिखित नामबाहेक ‘ठेगाना चीन, हुलिया आँखा चिम्सा’ भन्ने मात्र उल्लेख भएको प्रहरीको भनाइ छ । विदेशी नागरिकको पासपोर्टको प्रतिलिपिसमेत नराखी कसरी लाइसेन्स दिइयो भन्नेमा अहिलेसम्म अनुसन्धान सुरु हुन सकेको छैन ।

उच्च प्रहरी स्रोतका अनुसार मिङको एउटा मोबाइल नम्बर होटलबाट बाहिरिँदासम्म चालू नै थियो । प्रहरीको बुझाइमा उनले आफूलाई सुरक्षित राख्नका लागि कसैबाट निरन्तर जानकारी लिइराख्न एउटा मोबाइल नम्बरलाई त्यतिखेरसम्म चालु राखेका हुन् । उनले तत्काल निरन्तर सम्पर्कमा रहने आफ्नै स्वामित्वमा रहेको ठमेलस्थित काठमाडौं वान होटलका कर्मचारीलाई फेसबुक, विच्याटबाट समेत अनफ्रेन्ड गरे ।

उनी होटलबाट निस्केको केहीबरेमै आफूहरू पुग्दा अनुसन्धान टोलीलाई थकथक भएको एक जानकार स्रोतले भन्यो । मिङले आफू होटलमा सुतेर पत्नी याङ वेन विङलाई चाहिँ कहाँ राखेका थिए भन्ने खुलेको छैन । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Tags :
प्रतिक्रिया दिनुहोस