काठमाडौं । सरकारले ल्याएको संविधान संशोधन विधेयक फेल भएको छ ।
प्रदेशहरुको सीमांकन हेरफेरबारे सिफारिस गर्न संघीय आयोग गठन गर्ने गरी ल्याएको संशोधन विधेयक दुइ तिहाइ नपुग्दा फेल भएको हो ।
कूल ५९२ सांसद रहेको संसदमा संविधान संशोधन पारितका लागि ३ सय ९५ सांसद आवश्यक रहेकोमा संशोधनको पक्षमा संसदमा भएको मत विभाजनमा केवल ३ सय ४७ मत परेको हो। विपक्षमा २०६ मत परेपछि दुई तिहाई संख्याका लागि ४८ मत पुगेन ।
तराई मधेस केन्द्रीत दलहरुको माग सम्बोधनका लागि भन्दै सरकारले २३ चैतमा दर्ता गरेको संशोधन विधेयक दुई तिहाई बहुमत नपुग्ने भएपछि लामो समयसम्म विचाराधीन रहेको थियो ।
प्रमुख सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेस केन्द्रीत दलहरुको समर्थन भएपनि संशोधनको पक्षमा दुई तिहाई पुगेन। राप्रपा फुटेर बनेको राप्रपा प्रजातान्त्रिक र नेकपा माले संशोधन निर्णयार्थ पेश गर्ने प्रक्रियामा सामेल भएनन्।