वैदेशिक रोजगारीले निम्त्याएको पीडा « प्रशासन
Logo १९ आश्विन २०८१, शनिबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

वैदेशिक रोजगारीले निम्त्याएको पीडा


१० श्रावण २०७४, मंगलबार


रोल्पा । रोल्पा तालावाङकी मनकुमारी भण्डारी लिवाङ सात्तालेमा खाजा पसल गर्छिन् । वि.सं. २०५४ मा गाउँकै एक केटासँग विवाह गरेको भए पनि अहिले श्रीमानसँग छोडपत्र गरी चार छोरीसँग बसेकी छिन् ।

विवाहपछि स–परिवार भारत पसेका उनीहरु त्यहाँ कमाइ नभएपछि नेपाल फर्किए । भारत बस्दा श्रीमानले कमाइ गर्नुको साटो दिनहुँ रक्सी खाँदै बेपत्ता हुन थालेपछि नेपाल फर्किएको मनकुमारी बताउछिन् ।

नेपाल फर्किएपछि मनकुमारी बच्चा हुर्काउन थालिन् भने उनका श्रीमान् भने खाडी मुलुक गए । श्रीमानले विदेशमा कमाइ गरेर आएपछि सुख सयलसँग बस्ने सोचाइमा दिन बिताउँदै गएकी मनकुमारीलाई लामो समय बित्दासमेत श्रीमानले पैसा पठाएनन् ।

विदेशबाट पैसा नपठाएपछि उनी सदरमुकाम लिवाङ आइन् । एक–एक वर्षको फरकमा जन्मिएका चारवटी छोरी हुर्कंदै थिए । छोरीको स्याहार सुसारमात्र होइन, उनीहरुको पढाइ लेखाइमा समेत ध्यान दिनुपर्ने भयो उनलाई ।

लिवाङमा ज्यालामजदुरी गरेर भए पनि छोरी पाल्ने सोचमा पुगेकी मनकुमारीे एक वर्षसम्म मजदुरी गरिन् । यही बीचमा दाङको घोराहीमा कोठा लिएर बस्न भन्दै श्रीमानले विदेशबाट फोन गरेपछि उनी दाङ पुगिन् । दाङ बसाइँका क्रममा समेत श्रीमानले पैसा पठाएनन् भने त्यहाँ ज्याला मजदुरीको काम पनि नपाएपछि अलपत्र पर्दै गइन् । दाङ बसाइँकै क्रममा श्रीमान् पनि विदेशबाट आए । लामो समय विदेश बसेको भए पनि खाली हात फर्किएका उनका श्रीमानको दैनिकी जाँडरक्सी सेवन गर्नेमै सीमित हुन थालेपछि आफन्तको सहयोगमा उनी रोल्पाको घर्तीगाउँ फर्किइन् ।

रोल्पाको घर्तीगाउँ पुगेर आफन्तको सहयोगमा खाजा पसल शुरु गरिन् । मनकुमारीले दिनरात दुःख गरेर कमाएको पैसा लगेर श्रीमान् जुवातास खेल्ने तथा जाँडरक्सी खाने गर्न थाले । यस्तो गर्दै जाँदा श्रीमानले झण्डै १५ लाख ऋण लगाएका थिए । उनी श्रीमानले लगाएको ऋणसमेत तिर्न थालिन् । कमाइ गरेको पैसा उडाउने मात्र नभई दिनरात कुटपिटको शृङ्खला बढ्दै जाँदा उनी सहेर बस्न नसक्ने निधोमा पुगिन् ।

साना साना छोरीको अगाडि रुँदा बालमस्तिष्कमा नराम्रो असर पर्न सक्ने भएकाले छोरीहरुको अगाडि सधैँ खुसी भएको नक्कल गर्दै छोरीलाई खुवाइ सुताइ गरेपछि आफू भने रातभर रुने गरेको दुःखेसो पोखिन् उनले ।

श्रीमानको यस्तो व्यवहारबाट आजित भएकी मनकुमारीले अन्ततः श्रीमान्सँग छोडपत्र गरी एक्लै बस्ने निर्णयमा पुगेर अदालतको ढोका ढकढक्याउन पुगिन् । अदालतले पनि उनको पक्षमा सुनुवाइ गरेका कारण उनले दुई वर्ष पहिलेदेखि श्रीमानसँग छोडपत्र गरिन् ।

श्रीमानसँगको छोडपत्रपछि कहाँ गएर के गर्ने भन्ने अन्योलमा रहेकी उनलाई महिला तथा बालबालिका कार्यालय, रोल्पा र अन्य महिला दिदीबहिनीलेसमेत सहयोग गरें । साना छोरीहरुलाई कहाँ बसाल्ने, के खुवाउने भन्ने चिन्ता भएका बेला महिला मानवअधिकार रक्षक सञ्जाल, महिला तथा बालबालिका कार्यालयलगायत निकायको आर्थिक सहयोग तथा परामर्शपछि आफू लिवाङमै बसेर आयआर्जनको काममा लाग्ने सोचमा पुगेको उनले बताइन् ।

अहिले उनी सदरमुकाम लिवाङमा खाजा पसल सञ्चालन गरेकी छिन् । महिला तथा बालबालिका कार्यालय, रोल्पाले दिएको २० हजार आर्थिक सहयोगबाट खाजा पसल शुरु गरेकी उनले अहिले चारवटी छोरीको पढाइ लेखाइका साथै घरायसी व्यवहारसमेत चलाउँदै आएकी छिन् । जेठी छोरी कक्षा १२ मा पढिरहेकी छिन् भने अरु छोरीको पढाइ पनि राम्रो रहेका कारण आफ्नो बुढेसकालको सहारा तिनै छोरी भएकाले छोरीको पढाइमा आफूले सक्दो लगानी गर्ने मनकुमारीले बताइन् ।

आफ्नै खुट्टामा उभिएर खाजा पसल सञ्चालन गरिरहेकी उनले मासिक छ हजार घरभाडा तिर्दै आएकी छिन् । दैनिकी सजिलै चलाएकी उनले छोरीहरुलाई राम्रोसँग पढाउनुका साथै दैनिक बचत पनि गर्ने गरेको बताइन् ।

देशमा रोजगारीको अवसर नहुँदा रोल्पाका अधिकांश पुरुष वैदेशिक रोजगारीमा रहेका छन् । वैदेशिक रोजगारीले जिल्लामा ठूलो मात्रामा विप्रेषण भित्र्याए पनि पारिवारिक बेमेल र विखण्डनका घटनासमेत बढिरहेका छन ।

वैदेशिक रोजगारीले महिला र पुरुष दुवैलाई प्रभाव पारिरहेको छ । जिल्लामा कतिपय महिला श्रीमान्ले विदेशबाट पठाएको पैसा दुरुपयोग गर्दै सम्बन्धविच्छेद गरेका छन् भने कतिपय पुरुषसमेत वैदेशिक रोजगारीमा गएको लामो समयसम्म घर नफर्कने, दोस्रो विवाह गर्ने, कमाइ गरेको पैसा घरमा नपठाउने गरी महिलामाथि हिंसा गरिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस