भोजपुर । भोजपुर नगरपालिकामा नेपाली काँग्रेसका कैलाशकुमार आले ३६ मत अन्तरले विजयी भएका छन् ।
गए राति अबेर सम्पन्न मतगणनाको प्राप्त परिणामानुसार चार हजार ७० मत प्राप्त गरी आले विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका गणेश श्रेष्ठले चार हजार ३४ मत ल्याएका छन् ।
त्यस्तै उपप्रमुखमा एमालेकी ममिता राई विजयी भएकी छिन् । चार हजार सात सय ७३ मत ल्याएर उपप्रमुखमा राई विजयी भएकी हुन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी कृतिकुमारी कार्कीले चार हजार सात सय एक मत प्राप्त गरिन् ।
अरुण गाउँपालिकामा काँग्रेसका गजेन्द्रबहादुर कार्की र उपप्रमुखमा काँग्रेसकी विनिता ढकाल विजयी भएका छन् । हतुवागढी गाउँपालिकामा एमालेका प्रेमकुमार राई विजयी भएका हुन् ।
यस्तै ट्याम्के मयुङ गाउँपालिकामा एमालेका धुव्र राई र उपप्रमुखमा इन्द्रवती राई विजयी भएका छन् । आमचोक गाउँपालिकामा भने नेकपा माओवादी केन्द्रका अशोक राई र उपप्रमुखमा सीता राई विजयी भएका छन् । अन्य स्थानीय तहमा मतगणना जारी छ । भोजपुरमा ६६.३१ प्रतिशत मत खसेको थियोे । रासस