कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान बढ्दो « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान बढ्दो


१४ जेष्ठ २०७४, आइतबार


आचारसंहिता

काठमाडौँ । चालु आर्थिक वर्ष २०७३/७४ मा कुल गार्हस्थ्य उत्पादनमा होटल तथा रेस्टुराँको योगदान १.९८ प्रतिशत रहने अनुमान गरिएको छ ।

अर्थ मन्त्रालयले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७३/७४ अनुसार अघिल्लो आव २०७२/७३ मा ९।६८ प्रतिशतले ऋणात्मक रहेको यो क्षेत्रको कुल मूल्य अभिवृद्धि दर चालु आव २०७३/७४ मा ७.०९ प्रतिशत हुने अनुमान गरिएको छ ।

पछिल्लो दशकमा यस क्षेत्रको औसत वृद्धिदर ४.२३ प्रतिशत रहेको छ । पर्यटनको आगमनमा वृद्धि, आन्तरिक पर्यटनमा सुधार, ऊर्जा उपलब्धता, बन्द हडतालमा कमीजस्ता कारणले गत आवमा सङ्कुचित भएको होटल तथा रेस्टुराँ क्षेत्र चालु आवमा विस्तार भएको हो ।

अनुपम प्राकृतिक सुन्दरता, भौगोलिक, जाति, भाषा, विविधतायुक्त नेपाल विश्व पर्यटनको आकर्षक गन्तव्य भएकाले तुलनात्मक र प्रतिस्पर्धात्मक लाभका दृष्टिले यो क्षेत्र आर्थिक वृद्धि गर्ने महत्वपूर्ण उद्योग भएकाले नागरिकको जीविकोपार्जन र रोजगारीका अवसरमा वृद्धि भई जीवनस्तर सुधार गर्न सहयोग पुगेको छ ।

पर्यटन सेटलाइट लेखा प्रणाली आवश्यकता

पर्यटन सेटलाइट लेखा प्रणालीको अभावमा कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको वास्तविक प्रभावको जानकारी हासिल गर्न कठिन भएको छ ।

पर्यटक बढी भित्र्याउनका लागि सन् १९९८ मा नेपाल भ्रमण वर्ष, सन् २००२ र २००३ मा गन्तव्य नेपाल अभियान, सन् २००७ मा पोखरा भ्रमण वर्ष अभियान, सन् २०११ मा नेपाल पर्यटन वर्ष र सन् २०१२ मा लुम्बिनी भ्रमण वर्ष कार्यक्रम आयोजना गरेकाले यी कार्यक्रमको प्रभावले पर्यटक आगमनमा वृद्धि भएको छ ।

राष्ट्रिय पर्यटन रणनीतिक योजनाले सन् २०१५ सम्ममा २५ लाख २२ हजार पर्यटकको भ्रमण गराउने र आठ लाख ९८ हजार रोजगारीको सिर्जना गर्ने लक्ष्य लिएको छ ।

पर्यटक आगमन वृद्धि

विगत एक दशकको अवधिमा विदेशी पर्यटकको आगमन सङ्ख्यामा वृद्धि आएको छ । पर्यटक आगमनको प्रवृत्ति हेर्दा सन् २००६ मा स्थलमार्गबाट आएका भारतीय पर्यटकबाहेक तीन लाख ८३ हजार ९३६ पर्यटक नेपाल भ्रमणमा आएका थिए । सन् २०१६ मा सात लाख ५३ हजार दुई पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

भूकम्प र नाकाबन्दीका कारण पर्यटनसम्बन्धी गतिविधिमा नकारात्मक प्रभाव पर्न गई सन् २०१५ मा ३२ प्रतिशतले घटेर पाँच लाख ३८ हजार ९७० पर्यटक आएका थिए जुन सन् २०१६ मा करिब ४० प्रतिशतले वृद्धि भएको छ ।

सबैभन्दा बढी सन् २०१२ मा आठ लाख बढी पर्यटक आएका थिए भने सन् २०११ मा करिब साढे सात लाख पर्यटक आएका थिए । सबैभन्दा कम सन् २००६ मा तीन लाख ८३ हजार २६ पर्यटक भित्रिएका थिए ।

स्थलमार्गबाट आउने पर्यटक बढे

एक दशकको अवधिमा स्थलमार्गबाट आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ । सन् २०१६ मा एक लाख आठ हजार ४३९ पर्यटक आएका थिए ।

सन् २०१५ मा एक लाख ३१ हजार ५५८ पर्यटक स्थल मार्गबाट आएका थिए । सबैभन्दा कम सन् २०१६ मा एक लाख १०७ पर्यटक आएका थिए ।

हवाई मार्गबाट आउने पर्यटकको पनि अघिल्लो वर्षको तुलनामा आगमन बढेको छ । सन् २०१५ मा चार लाख सात हजार ४१४ पर्यटक आएकामा सन् २०१६ मा पाँच लाख ७२ हजार ५६३ पर्यटक हवाई मार्ग हुँदै आएका थिए ।

यस अवधिमा पर्यटकको बसाइँ पनि लम्बिएको छ । सन् २०१५ मा पर्यटकको बसाइँ अवधि अनुमानित १२.८ रहेकामा सन् २०१६ मा १३.४ पुगेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस