चाँगुनारायणः दुई वडामा एमाले विजयी « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

चाँगुनारायणः दुई वडामा एमाले विजयी


१३ जेष्ठ २०७४, शनिबार


भक्तपुर । मतगणना रोकिएको छ दिनपछि सहमतिका आधारमा पुनःमतगणना भएको चाँगुनारायण नगरपालिकाका दुई वडामा नेकपा एमालेको समूह विजयी भएको छ ।

शुक्रबार बिहान सार्वजनिक भएको मतपरिणामानुसार चाँगुनारायण–४ मा बुद्धलाल महर्जनको समूह विजयी भएको छ । महर्जनले एक हजार २६९ पाए भने उनका निकटतम प्रद्विन्द्वी नेपाली काँग्रेसका गोपाल पोखरेलले ८९९ मत प्राप्त गरे ।

विजयी हुने महिला सदस्यमा सपना तामाङ, दलित महिला सदस्य राममाया मिजार तथा खुला सदस्यमा रोजबहादुर तामाङ र दिनेश खनाल हुन् ।

चाँगुनारायण–३ मा एमालेका श्यामसुन्दर धिमालको समूह विजयी भएको छ । महिला सदस्यमा रमा थापा, दलित महिला सदस्यमा सुष्मा सुनार तथा सदस्यमा नवराज गेलाल र प्रेमबहादुर बाखु विजयी भएका छन् ।

नगरप्रमुखमा एमालेका उम्मेदवार सोम मिश्रले अग्रता लिनुभएको छ । मिश्रले तीन हजार ७१४ मतले अग्रता लिनुभएको छ भने काँग्रेसका राजाराम खड्काले तीन हजार ३६६ मतले पछ्याइरहनु भएको छ ।

त्यसैगरी उपप्रमुखमा भने काँग्रेसकी सरु बानियाँले तीन हजार ८६० मतले अग्रता लिनुभएको छ भने एमालेकी विना बास्तोलाले तीन हजार ८२४ मतले पछ्याइ रहनुभएको छ । मतगणना जारी छ ।

यसअघि वडा नं ३ र ४ को मतगणनाका क्रममा गणक कर्मचारीले काँग्रेस र नेमकिपाको मत एमालेको उम्मेदवारका नाममा जोडेर धाँधली गरेको भन्दै एमालेबाहेकका दलले छ दिनसम्म मतगणना रोकेका थिए ।

छ दिनपछि पुराना कर्मचारी सबैलाई हटाएर नयाँ कर्मचारी राखी पुनःमतगणना सुरु भएपछि भने एमालेबाहेकका दलको आरोप झुटो भएको र उल्टै दुवै वडामा एमालेका उम्मेदवारको मत बढेको एमालेका नेता श्रीभक्त कासिछ्वाले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस