सुदूर पश्चिमका तीन महत्वपूर्ण स्थान पुग्दा जे देखियो « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सुदूर पश्चिमका तीन महत्वपूर्ण स्थान पुग्दा जे देखियो


२ जेष्ठ २०७४, मंगलबार


१. अमरगढी किल्ला र उग्रतारा मन्दिर डडेलधुरा

अमरसिंह थापाले युद्ध लडेको किल्ला भएको हुँदा अमरगढी नाम रहेको रहेछ । ‘म वाघको डमरु हुँ मलाई सिनो खाने कुकुर नसम्झ’ भन्ने भनाईसहितको अमरसिंहको शालिक गेटमै भेटिन्छ । तत्कालिन गढीका कतिपय संरचनाहरु अहिलेसम्म पनि सुरक्षित राखिएको, मर्मत गरिएको रहेछ । हाल सशस्त्र प्रहरीको इकाईले यो गढीको संरक्षण गरेको भएतापनि यसको अवलोकनकर्ताबाट थोरै भएपनि शुल्क लिई यसको संरक्षण तथा शौन्दर्यलाई दिगोपन दिनु उपयुक्त हुने देखिन्छ ।

अमरगढी वजारबाट केही बेरको पैदल दूरीमा रहेको उग्रतारा मन्दिर पनि डडेलधुराको प्रमुख आकर्षण नै हो । सुदूरपश्चिमका ९ वटा देवीमध्ये एक यो मन्दिरका रुपमा रहेको उग्रतारा मन्दिर आकर्षक पनि छ । मन्दिर रहेको अवस्थिति आफैमा सुन्दर छ । अलिकति उठेको भागमा मन्दिर भएपनि वरपर समथर ठाउँ पनि छ जहाँ मेला भर्नका लागि उपयुक्त पनि छ । मन्दिरको प्रवेशद्वार, प्रांगण र वाटोको पूर्वाधार स्तरीय छ । जोसुकैका लागि खूला रहेको यो मन्दिरमा जुनसुकै समयमा पनि मन्दिरका पुजारी तथा स्याहारसंभार गर्ने व्यक्ति उपस्थित हुन्छन् । मन्दिर प्रांगणमा विभिन्न मुर्तिहरु र ध्वजापताकाले पनि सजाइएको छ ।

 

अमरगढी किल्ला

 

उग्रतारा मन्दिर

२. खप्तड क्षेत्र

नेपालका १० वटा राष्ट्रिय निकुञ्जहरुमध्ये एक खप्तड राष्ट्रिय निकुञ्ज सुदूर पश्चिम ७ नं. प्रदेशका ४ वटा जिल्लाहरुको सीमावर्ति भूभागम २२५ वर्ग किलोमिटर क्षेत्रफलमा भैलिएको छ । संरक्षित क्षेत्र भएको हुँदा नेपाली सेनाले यस क्षेत्रको निगरानी गरेको छ । निर्जनप्राय रहेको यस क्षेत्रमा अलग खालको प्राकृतिक छटा, जंगल, जलको स्रोतको रुपमा दह र स–साना खोलाहरु, घाँसेमैदान वा पाटन, यहाँको भूभागलाई बासस्थान वनाउन पुगेका जनावरहरुका साथै ऐतिहासिक र सांस्कृतिक महत्व वोकेका कुटी, मन्दिर तथा प्रतिकहरुले यस खप्तड क्षेत्रको शोभा बढाएका छन् । यस क्षेत्रको महिमा वढ्नुमा खप्तड स्वामी नाम गरेका साधकले तपस्या गरेको, विचार विज्ञान, स्वास्थ्य विज्ञान जस्ता रचनाहरुको सृजा गरेको हुँदा यो ठाँउको नाम चलेको छ । हरेक वर्ष जेठमा लाग्ने गंगा दशहरा पर्वदेखि वाहेक यहाँ आन्तरिक पर्यटनको लागि उल्लेखनीय काम भएको पाइँदैन । यहाँ पुग्ने पर्यटकहरुले खप्तड आश्रमका अलावा त्रिवेणीधाममा रहेको मन्दिर र खोला, सहस्र लिंग र खप्तड तालको मनमोहक दर्शन गर्न पाउँदछन् ।

खप्तड स्वामीको मुर्ती

 

खप्तड क्षेत्र

३. वैद्यनाथ धाम र मंगलसेन दरवार

मंगलसेन दरवार
अछाम जिल्ला सदरमुकाम मंगलसेनमा रहेको ऐतिहासिक दरवारमा जिल्ला प्रशासन कार्यालय समेत रहेकै कारणले द्वन्द्वको फन्दामा पर्यो । ध्वस्त भएको दरवार पुननिर्माण गर्ने कार्यक्रमअनुसार सहरी विकास मन्त्रालय, सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको डिभिजन कार्यालय डोटीको कार्यक्रममा ८ वर्षअघि नै पुननिर्माण प्रारम्भ भएकोमा हालसम्म पनि काम सम्पन्न हुन सकेको पाइएन ।

आंशिकमात्र निर्माण भै अलपत्र अवस्थामा रहेको दरवारले जोकोहीलाई सोच्न वाध्य पार्दछ कि ‘किन यस्तो’ ? सो काममा सम्झौताबाट जिम्मेवार बनाइएका व्यवसायीले भनेजस्तो काठ उपलव्ध नभएको लगायतका कारण देखाएर समय र लागत दुवै थप गर्नुपर्ने र वैकल्पिक काठ प्रयोगको व्यवस्था हुनुपर्ने शर्त राखेको वुझियो । मंगलसेनकै शोभाका रुपमा निर्माण हुने उक्त संरचनाको पुननिर्माण वा नवनिर्माणले उच्च महत्व पाउनुपर्ने देखिन्छ । यो कामको ढिलै भएपनि पूर्णता पाउनका लागि लागि सरकारी निकायका पदाधिकारीहरु, स्थानीय वुद्धिजिवी, राजनीतिज्ञ, निर्माण व्यवसायीले पनि एउटै प्रतिवद्धता जनाई काम अघि वढाएको खण्डमा नवनिर्माण असम्भव छैन । एकअर्कालाई दोषारोपण हैन कि सहजीकरण गर्ने सकरात्मक वाटो अपनाउन भने ढिलाई गर्न हुँदैन ।

मंगलसेन दरवार

वैधनाथ क्षेत्र
अछाम जिल्लाको मंगलसेन पुग्नुभन्दा अघि नै वेशीको दाहिनेपट्टि वैधनाथ धाम रहेको छ । यसमा शिव मन्दिर लगायतका सवै देवीदेवताका मन्दिरहरु, संस्कृति पाठशाला र यसको संचालनको लागि गुठीको व्यवस्थापन रहेछ । धार्मिक पर्यटनका अलावा नैतिक मूल्य, मान्यता र संस्कारसहितको प्रारम्भिक शिक्षाका लागि यस क्षेत्रकै लागि एउटा आशाको केन्द्र रहेछ यो धाम । यातायात पूर्वाधार पुगेको भएतापनि अन्य पूर्वाधार पुर्याउन थप पहल भएमा यस वैधनाथ धामको आकर्षण र महत्व वढ्न जाने देखिन्छ ।

वैधनाथ मन्दिर

Tags :
प्रतिक्रिया दिनुहोस