रानीबारी वनमा चरा अध्ययन केन्द्र « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रानीबारी वनमा चरा अध्ययन केन्द्र


११ बैशाख २०७४, सोमबार


काठमाडौँ । राजधानीको केन्द्र भागमा अवस्थित रानीबारी सामुदायिक वनमा पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवनको उद्घाटन भएको छ ।

नेपाल पक्षी संरक्षण सङ्घको स्थापना दिवसका अवसरमा रानीबारी वनमा सोमवार आयोजित कार्यक्रममा सङ्घका संस्थापक अध्यक्ष हरिशरण काजी नेपालीले भवनको उद्घाटन गरेका हुन् ।

उक्त वनलाई रानीबारी सामुदायिक वन उपभोक्ता समिति र सङ्घको सहकार्यमा जैविक विविधता संरक्षण सिकाइ केन्द्र बनाउने सम्झौताअन्तर्गत भवन निर्माण गरिएको हो ।

कार्यक्रममा संस्थापक अध्यक्ष नेपालीले जैविक विविधताले भरिपूर्ण रानीबारी वन काठमाडौँ सहरको बीचमा प्राकृतिक हरियाली भएकाले यसको छुट्टै महत्व भएको बताए ।

परम्परादेखि नै राजाहरुको दिवाली पूजा हुने वनका रुपमा रहेको रानीबारी विसं २०५७ पछि सामुदायिक वनका रुपमा व्यवस्थित र संरक्षण हुँदै आएको छ । रानीबारी वन काठमाडौँ सहरका बीचमा ६.९५ क्षेत्रफल हेक्टरमा अवस्थित प्राकृतिक वन हो । रानीबारी वनमा हाल ६७ प्रजातिका चरा भेटिएको तथ्याङ्क छ ।

कार्यक्रममा सङ्घका अध्यक्ष युवराज बस्नेतले सिकाइ केन्द्र स्थानीय समुदाय, विद्यार्थी तथा सम्बन्धित विषयका शोधार्थीका लागि उपयोगी हुने बताउँदै जैविक विविधताबारे जनचेतना प्रवद्र्धन तथा स्थलगत पहिचान गराउने कार्यक्रम अघि बढाउनुपर्ने बताए । सङ्घ सन् १९८२ देखि चराको खोज अनुसन्धान तथा जैविक विधिता संरक्षणमा क्रियाशील संस्था हो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस