भेटी र चन्दाबाट नै आठ करोडको पूर्वाधार निर्माण « प्रशासन
prasaLogo
१० बैशाख २०७४, आईतवार

भेटी र चन्दाबाट नै आठ करोडको पूर्वाधार निर्माण


प्रकाशित मिति : 23 April, 2017 10:27 am

म्याग्दी । धार्मिकस्थलमा चढाइएको भेटीलाई राम्रोसँग व्यवस्थापन गर्न र पारदर्शिता अपनाउन सकियो भने त्यसबाट करोडौँ रुपैयाँको भौतिक पूर्वाधार निर्माण गर्न सकिँदोरहेछ भन्ने गतिलो उदाहरण म्याग्दीको गलेश्वरमा देखिएको छ ।

मुक्तिनाथ प्रवेशद्वारका रुपमा परिचित म्याग्दीको प्रसिद्ध धार्मिकस्थल गलेश्वरधाममा २०६७ सालयताका छ वर्षमा भक्तजनले चढाएको भेटी, महायज्ञबाट सङ्कलन भएको दान र तीर्थयात्रीले दिएको दानबाट आठ करोडको लागतमा विभिन्न किसिमका भौतिक पूर्वाधार निर्माण गरिएको छ ।

मन्दिरमा चढेको भेटी र विभिन्न व्यक्तिले दिएको दानबाट गलेश्वरमा धर्मशाला निर्माण, वाटिका, यज्ञशाला, पाठशाला, कालीगण्डकीसम्म पुग्ने मार्गलगायतका भौतिक पूर्वाधार निर्माण भएका गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष, रुद्रबहादुर केसीले बताए ।

आधा दशक अगाडिसम्म गलेश्वर मन्दिरका वार्षिक ८० हजार भेटी सार्वजनिक हुन्थ्यो । मन्दिरमा प्रवेश गरेका भक्तजनले मूल मन्दिर, आसपासका क्षेत्रमा रहेका शालिग्राम, कुण्डलगायतका क्षेत्रमा चढाएको सुनचाँदी, तामा, नगदसहित जिन्सी सामग्रीको कुनै लेखाजोखा थिएन ।

वि.सं. २०५७ देखि ६७ सम्म मन्दिर व्यवस्थापन समितिको खातामा मन्दिरको आम्दानी भेटीबाट ३१ लाख थियो । वि.सं. २०६७ सालमा रुद्रबहादुर कार्कीको अध्यक्षतामा बनेको नयाँ समितिले वार्षिक लाखौँ आम्दानी हुने मन्दिरमा भेटी व्यवस्थापन गर्ने गरी योजनाबद्ध तरिकाले काम अगाडि बढाएको छ वर्षको अन्तरालमा मन्दिरमा करोडौँका पूर्वाधार थपिएको छ ।

“अस्तव्यस्त अवस्थामा मैले जिम्मेवारी सम्हालेको थिएँ । भेटी व्यवस्थापन गर्न केही वर्ष धेरै मेहनत गर्नुप¥यो”– कार्कीले भने । भेटी व्यवस्थित गर्दा दानवीरले समेत खुलेर सहयोग गर्न थालेका छन् । मन्दिरका तीनजना पुजारीमध्ये मुख्य पुजारीलाई १५ हजार, सहायकलाई १० हजार र सहयोगीलाई चार हजार तलब, खाने बस्ने व्यवस्था गरिएको छ ।

मन्दिर स्थापनादेखि २०६७ सालसम्म मूल मन्दिरमा भक्तजनले चढाएको सुनदेखि नगदसम्म पुजारीको पहुँच, मन्दिर बाहिर रहेका साना मन्दिर, जलवराह कुण्ड, कालीगण्डकी स्नान गर्न जाने मार्गमा रहेको जडभरतको गुफासहित आसपासका क्षेत्रमा रहेका शालिग्रामसहित हिन्दू धर्मावलम्बीले पूजाआजा गर्ने ठाउँमा चढाइएको भेटीमा पुजारीदेखि सर्वसाधारणले समेत दुरुपयोग गर्ने गरेका थिए ।

भेटी व्यवस्थित गर्दा दानवीरले समेत खुलेर सहयोग गर्न थालेका छन् । अहिलेसम्म भेटी महायज्ञ र चन्दाबाट आठ करोडको पूर्वाधार थपिएको छ ।
साउने सोमबार र शिवरात्रिमा लाखौँ भेटी सङ्कलन हुने गरेको छ । मन्दिरमा भेटी हिनामिना हुने सम्भावनालाई मध्यनजर गर्दै कोषले मूल मन्दिरसहित वरपरका क्षेत्रमा सिसी क्यामेरासमेत जडान गरेको छ ।

कृष्णागण्डकीबाट उठेर नौ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिरभित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । गलेश्वरलाई नेपालमा एकपटक घुम्नैपर्ने पर्यटकीय तथा धार्मिकस्थलका रूपमा प्रचारप्रसारको तयारीसमेत भइरहेको छ । रासस

Tags :
प्रतिक्रिया दिनुहोस