राम्रो कविता खोज्न पूर्व जानुपर्छ अनि गजलका लागि मध्यपश्चिम « प्रशासन
prasaLogo
९ बैशाख २०७४, शनिबार

 राम्रो कविता खोज्न पूर्व जानुपर्छ अनि गजलका लागि मध्यपश्चिम


प्रकाशित मिति : 22 April, 2017 5:24 am

नेपाली साहित्यका एक हस्ती, जसको थप परिचय दिनै पर्दैन ।  नामै काफि छ । उनै जगल सम्राट ज्ञानुवाकर पौडेलसंग प्रशासन डटकमले कुराकानी गरेको थियो । प्रस्तुत सम्बादको अंशः   

 

मध्यपश्चिमको भ्रमण गरेर आउनु भयो, कस्तो रह्यो घुमघाम ?
बाँके बर्दियाले मलाई खुब इज्जत गर्छन् । म आउने थाहा पाएपछि दाङ, दैलेख, सुर्खेत, बाजुरा, जाजरकोटबाट मान्छे पुगे । डोटीबाट आए मान्छे । त्यस्तो अरु जिल्लामा हुँदैन, कि कैलालीमा हुन्छ, कि बर्दियामा हुन्छ ।

मुख्य कुरा उनीहरु गुणग्राही छन् । बर्दिया होस, दैलेख होस, सुर्खेत होस, जाजरकोट होस्, रुकुम होस्, सल्यान होस, जुम्ला होस्, कालिकोट होस्, जहाँ जहाँ म पुगें असाध्यै राम्रो आत्मियता पाइयो । पाठकहरुको यति ठूलो लगाव कि म पिसाव फेर्न गएको बेलामा राम्रो कविता छुट्ला कि भनेरे पिसाव रोकेर बस्ने, किड्नी ड्यामेज हुने खतरा रोकेर पनि बस्छन् ।

भनेपछि सुदूर र मध्यमा साहित्य भने पछि हुरुक्कै हुन्छन् हैन त ?
हो, मैले भन्ने गरेको छु, राम्रो कविता खोज्न पूर्व जानु पर्छ । राम्रो गजल खोज्न मध्यपश्चिम जानुपर्छ । पूर्वमा म गजलकारै देखिरहेको छैन । लेख्ने धेरै छन् । धेरै लेख्नुलाई नै गजलको विकास भन्नु भनेको नेपालको जनसंख्या धेरै भएर नेपालको बिकास भनेजस्तै हुन्छ । जनसंख्या बढ्नु नै नेपालको विकास त होइन नि त । यस्तै पत्रपत्रिकामा गजल छापिने, गजलका पुस्तक निस्कने, गजलका कार्यक्रम धेरै हुने त्यसलाई म गजलको विकास नभनेर गतिशीलता बढेको भन्छु म । अरु विधा हेरिकन उत्साहजनकस्थिति गजलमै छ ।

मध्यपश्चिममा चेतना पनि छ तर त्यहाँ गजलको बारेमा अतिरिक्त जानेकाहरुले आ–आफ्नो किसिमले व्याख्या गरेको हुनाले केही भ्रमको शिकार भएर कसरी गुणस्तरीय गजल प्रस्तुत गर्ने, श्रोतामा दिर्घकालिन छाप छोड्ने भन्नेमा द्विविधा पाएँ । त्यो दूर गर्न सकियो भने मध्यपश्चिम अहिले गजलको लागि सबै भन्दा बढी उर्वर हुने छ ।

मध्य पश्चिमका गजलकारमा देखिएको द्विविधा अन्त्य गर्न के गर्नु पर्ला त ?
त्यसका लागि हामीले बेला बेलामा महिना, दुइ महिना या तीन महिनाकै रुपमा भएपनि कार्यक्रम गर्ने र सुनिएका/सुनाइएका कविताहरुमाथि कविहरुले नै समालोचक विद्वानलाई नराखी (उनीहरुले बढी उपदेश मात्र दिन्छन्, तयारी कुराहरु मात्र बोल्छन् । परम्पराको कुरा ल्याउँछन् । कसले के लेखेको छ ? फलानोको गजल कस्तो छ ? भनेर खाली पुरानो मोडेललाई मात्र अगाडि तेस्र्याउँछन् । बहसले बिबादको रुप लिन्छ) छलफल गर्न आवश्यक छ ।

बेला बेलामा तपाइहरु छलफल पनि चलाउनु हुन्छ, निश्कर्ष चाहि के निश्कन्छ नि ?
केही समय अगाडि मात्रै हामी दश/बाह्र जना बसेका थियौं । कोहलपुरबाट कपिल अञ्जान पनि आएका थिए । अनाममण्डलीका जय गौडेल, कर्ण थापा, रवि प्राञ्जल, बाबु त्रिपाठी, दीपक खड्का, समीक्षकको रुपमा बियोगी बुढाथोकी बसेर हामीले छलफल गर्यौं । बहस भयो । चर्काचर्की बहस भयो । त्यो चर्काचर्की बहसबाट पनि निष्कर्ष चाहिं त उही रहेछ कि हाम्रो गर्न धेरै बाँकी छ ।

सबैतिर जगलको चर्चा चलिरहँदा कता कता गुणस्तरीयता नपुगेको हो कि जस्तो पनि देखिन्छ नि, के भन्नुहुन्छ ?
काठमाडौँमा इगोले नि काम गरेको छ । सहिष्णुताको अभाव छ । पुरस्कार दियो भने त्यो पुरस्कार दिने संस्था राम्रो, दिएन भने नराम्रो भन्ने गरिन्छ । पुरस्कार सट्टापट्टा हुन्छ । त्यस्तो पनि छ । एक दुई वटा संस्था छन् । म नामै किटेर पनि त्यो भन्न सक्छु । कतिसम्म भने आफै संस्था खोल्यो । आफै निर्णायक र हरेक बर्ष आफैले लिइरहेको पनि छ । पैसा छ उनीहरुसँग । त्यस्तो पनि छ ।

जुन गुण र बिषेसता आफुमा छैन त्यो गुण अरुमा देखिए त्यसैलाई  कमजोरी लुकाउनलाई अरुको गुणलाई दोष बताउने परिपाटी पनि छ, त्यसलाई भन्छ हरुवाको छेरुवा दाउ ! तपाइँले राम्रो प्रश्न उठाउनु भयो । हामीलाई कस्तो मान्छे चाहिएको छ भने यो गजलको संस्थागत विकास भएन भने मेरो अस्तित्व पनि भोलि रहँदैन । आफ्नो अस्तित्व जोगाउनलाई पनि हामीले संस्थागत विकास गर्नुपर्छ । संस्थागत विकासका लागि लागेको मान्छे देखिदैन । अहिलेको पुस्ता हतारको शिकार देखिन्छ । अनि मान्छेलाई तुरुन्त मन पर्यो भने वा वा भनेर उचालिदिने, भोलि रक्सी खाँदाखेरी ठाकठुक पर्यो भने त्यो कामै नलाग्ने लेखक भएर एकैचोटी तल खसालिदिने त्यस्तो पनि हुन्छ । अस्वस्थ प्रतिस्पर्धा भयो । बालकृष्ण सम, देवकोटा, लेखनाथ तिनीहरुमा प्रतिस्पर्धा थियो । उनीहरुमा अस्वस्थ प्रतिस्पर्धा हुन्थेन । रचनात्मक प्रतिस्पर्धा हुन्थ्यो ।

हामी फेरी पश्चिमलाई नै जोडौं, त्याहाँको सिर्जनालाई मुल धारमा ल्याउन के गरिनु पर्छ ?
पहिलो काम त हामीले राजनीतिक प्लेटफर्मबाट आफुलाई निरपेक्ष राख्नुपर्यो । त्यसबाट मुक्त भएन भने संगठित रुपमा प्रयास हुन सक्दैन । गुठ गुठमा प्रयास हुन्छ र त्यसले धेरै बाधा पुग्छ । त्यसैले पहिलो शर्त भनेको राजनीतिक प्लेटफर्मबाट आफुलाई निरपेक्ष राखेर काम गर्नु पर्यो ।

दोस्रो कुरा स्तरीयताको मापन बुझ्नु पर्यो । स्तरीयता भनेको लेखनको फम्र्याट मात्र होइन जस्तो म उदाहरण दिउँः  इट्टा, सिमेन्ट र कंक्रिटले बनेको आकृति मात्रै मात्र घर होइन । त्यो भित्रको सजावट कस्तो छ ? घरको मूल्याङ्कन अब त्यसरी गरिन्छ । पहिले त रात बिताउन मात्र समस्या हुन्थ्यो । बाघ, भालु जंगली जनावरबाट मात्र जोगिन घर हुन्थ्यो । अहिले त घर प्रतिष्ठाको बिषय हो । घरको बाहिरी र भित्री सजावट हेरेर व्यक्तिको प्रतिष्ठाको मूल्याङकन भए जस्तै कविता होस्, कथा होस्, उपन्यास होस, उसको लेखाइको बाहिर र भित्री शैली, अनुभुति र बिषयगत विविधता, शैलीगत मौलिकता, बैचारिक गहनता कति छ त्यसरी मूल्याङकन हुन्छ । यो बाहेक म अरु कुनै उपाय देख्दै देख्दैन । नेपाली पाठकहरु अहिले किन बिदेशी किताव पढ्छन् त भन्दा स्तरीयता भएर नै हो । किन बौद्धिक बर्ग बिदेशी पत्रपत्रिका पढिरहेका छन् नेपाली पत्रिका नपढेर । यो अहम् प्रश्न हो ।

रचनाका लागि विषयवस्तु पनि महत्वपूर्ण रहने गर्दछ, त्यो मध्य पश्चिम तथा पश्चिममा कतिको प्रयाप्तता देख्नुहुन्छ ?
धेरै छन् । किनभने मध्य र सुदूर परिवेशको धनी छ । पूर्व जानु भयो भने पहाड र हिमाल बाहेक परिवेशगत विशेषता पाइँदैन तर पश्चिमतिर लाग्नु भयो भने हिमाल, ताल तलैया, फरक संस्कृति, संस्कार आदि कुराहरु चलिरहन्छन् । मान्छेको रहनसहनको हिसावले धेरै बिबिधता छ पश्चिममा । तर, पश्चिमका मान्छेहरु अलिकति अल्छी छन्, अलिकति अमूर्तता छ । उनीहरु धेरै टाढाको सोच्न चाहदैनन् । सन्तुष्ट छन् । प्राप्त उपलब्धिमा नै आफुलाई सन्तुष्ट ठान्ने मनोबैज्ञानिक यथार्थताले उनीहरुलाई अगाडि बढ्न दिएको छैन ।

अघि नै पनि पूर्व र पश्चिमबीचको अन्तरका कुरा गर्नुभयो, खासमा कुरा के हो ?
पूर्व जानु भयो भने आफ्नो सुनायो हिडिदियो । पूर्वमा के छ भने हल्ला पनि अलि बढी हुन्छन् । हामीले यस्तो गरयौं, उस्तो गर्यौं भनेर तामझाम बढी गर्छन् । प्रचार प्रसार बढी हुन्छ । त्यो पश्चिमले गर्न जान्दैन । नगरेकै राम्रो । त्यस्तो गर्यो भने त्यहा बैमनस्यता बढ्दै जान्छ । मान्छेमा इख उत्पन्न गराउँछ । त्यसपछि त्यसले अर्को समस्या थप्छ ।

जाँदाजाँदै कस्तो छ स्वास्थ्यस्थिति, खानपान अनि दिनचर्या कसरी चलिरहेको छ ?
अरु खानपानको बिषयमा लिएर निकै चिन्ता गर्दा रहेछन् । फलानो पत्रिकामा प्याजको यस्तो भनेको रहेछ भनेर, म त्यो पत्रिका र डाक्टरको भनेकोमा लाग्दिन । पाएको कुरा जे पनि खान्छु स्वास्थ्यलाई लिएर म चिन्ता गर्दैन । पाए भन्दैमा अति खानु हुँदैन । जिन्दगीमा म कुनै पनि उपवास बसिन । म भोलि र बितेको कुराको बारेमा टेन्सन लिन्न । बित्नु जो छ बित्यो त्यसको सोचेर कुनै फाइदै छैन । मेरो के नीति छ भने चिताले लास जलाउँछ, चिन्ताले जिन्दगी गलाउँछ । मेरो मुल वाक्य नै यही हो । म बर्तमानलाई सकेसम्म कसरी रमाइलो बनाउने भरमजदुर रमाइलो गर्ने प्रयास गर्छु । निद्रा लागे सुति दिन्छु । मुड चले पढ्छु । लेख्छु । मेरो पूर्व योजना हुँदैन । योजना बनाउदिन । तर समय पनि खेर फाल्दिन । यो कुरा पक्का हो ।

प्रतिक्रिया दिनुहोस