झापा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने बताएका छन् ।
स्थानीय बिर्तामोडमा योङ कम्युनिस्ट लिग (वाइसिएल नेपाल)र अनेरास्ववियु (क्रान्तिकारी) झापाको जिल्ला अधिवेशन तथा जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले जनताले लामो सङ्घर्षपछि प्राप्त गरेको अधिकारलाई संस्थागत गर्न निर्वाचन अपरिहार्य रहेको स्पष्ट गरे ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष दाहालले भन्नुभयो, “चुनावी परिणाम आफ्नो या अर्काको पक्षमा पर्छ भन्ने डरले पनि केही साथीहरूले निर्वाचन चाहेका छैनन् । चुनावी परिणामका कारण निर्वाचनबाट पछि नहट्नु हुँदैन ।” निर्वाचन हुन नदिन यो या त्यो बहानामा कोही विरोधमा उत्रिए त्यसको जवाफ जनता स्वयंले दिने प्रधानमन्त्री दाहालको भनाइ थियो ।
बीस वर्षपछि इतिहासमा नै पहिलो पटक जनतालाई अधिकारसम्पन्न बनाउने र गाउँ गाउँमा सिहंदरबार पु¥याउन अधिकारसहितको स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचनमा सहभागी हुन उनले सबैलाई आग्रह गरे ।
प्रधानमन्त्री दाहालले भने–“मधेसी मोर्चासहितको समझदारीमा दोस्रो संविधान संशोधन विधेयक दर्ता भएको हो, अहिले मधेसवादी दलले निर्वाचन अस्विकार गर्नुले म आफैँ चकित भएको छु ।” मधेसी मोर्चासँग सहमतिका लागि शुक्रबार बिहान आफूले पुनः वार्ताका लागि बोलाएको बताउँदै उहाँले वार्तामा आएर सहमतिमा आउनसमेत मधेस केन्द्रित दललाई आग्रह गरेका छन् ।
कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले स्थानीय सरकार बन्न नदिने खेलमा केही तत्व लागिपरे पनि वैशाख ३१ मा नै स्थानीय तहको निर्वाचन हुन्छ भने । “लामो समयको सङ्घर्षपछि उत्पीडनमा परेका वर्गले अधिकार पाउन लागेका बेला केही साथीहरू निर्वाचन हुन नदिन लागेका छन्, कुनै पनि हालतमा अब निर्वाचन हुन्छ, तपाईँहरू ढुक्क हुनुहोस्”, उनले भने ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले मधेस केन्द्रित दलसँग जति सहकार्य गर्दा पनि उनीहरू निर्वाचनबाट भाग्न खोजेको आरोप लगाए । माओवादी केन्द्र १ नं प्रदेश इन्चार्ज गोपाल किरातीले मधेसी मोर्चा, नेकपा र नयाँ शक्तिले निर्वाचन नचाहनु सामान्य भए पनि एमालेले पनि निर्वाचन सार्न दबाब दिइरहेको आरोप लगाए ।
वाइसिएल झापाका जिल्ला संयोजक डम्मर पुलामी कर्माको सभापतित्वमा भएको कार्यक्रममा अखिल(क्रान्तिकारी)का केन्द्रीय प्रवक्ता सुरेन्द्र बस्नेत, माओवादी केन्द्रकी नेत्री धर्मशिला चापागार्इँ, सांसद जेबी टुहुरे, वाइसिएल महासचिव दीपशीखा अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष रञ्जित तामाङले पनि बोलेका थिए । रासस