गोहीले चपाउँदा पनि बाँचेकालाई आर्थिक सहयोग « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

गोहीले चपाउँदा पनि बाँचेकालाई आर्थिक सहयोग


७ बैशाख २०७४, बिहिबार


चितवन । गोहीले चपाएर पनि बाँच्न सफल पश्चिम चितवनको जगतपुरका १२ वर्षीय बालक अर्जुन हरिजनको उपचारका लागि सहयोग आउने क्रम तीव्र भएको छ ।

बुधबार विभिन्न सञ्चार माध्यममा ‘गोहीले चपाएर पनि बाँचे अर्जुन’ भन्ने शीर्षकमा समाचार आएपछि सहयोग तीव्र भएको हो । उनको उपचारमा लागेको एक लाख २५ हजार तिर्न पैसा नभएको कुरासमेत समाचारमा आएको थियो । सो कुरा थाहा पाएर देशविदेशमा बस्ने नेपाली र विभिन्न सङ्घसंस्थामार्फत अहिलेसम्म करिब ७५ हजारभन्दा बढी रकम उनको उपचाका लागि सहयोग जुटिसकेको छ । अर्जुनकी दिदी सरिता हरिजनले विभिन्न ठाउँबाट सहयोग आइरहेको र सहयोग गर्छु भनेर फोनमा पनि कुरा आइरहेको बताइन । उनको गाउँ जगतपुरमा समेत विभिन्न क्षेत्रबाट ५० हजार सहयोग सङ्कलन भइसकेको स्थानीयवासी विकास पाठकले जानकारी दिए ।


उनको उपचारमा लागेको एक लाख २५ हजार तिर्न पैसा नभएको कुरासमेत समाचारमा आएको थियो ।


यस्तै, चितवनका विभिन्न व्यक्ति तथा सङ्घसंस्थाले उनको उपचारमा लागेको पैसा तिर्नका लागि सहयोग गरिरहेका छन् । लक्ष्मी प्रतिष्ठानले पाँच हजार, युथ भिजन इन्भेस्टमेन्ट कम्पनीले पाँच हजार र माला दाहालबाट पाँच हजार सहयोग प्राप्त भएको छ ।

यस्तै, माधव न्यौपाने, करुणाकर घिमिरे, राजेन्द्र भण्डारी, लक्ष्मी घिमिरे, केशव आचार्य, पूर्ण रिजाल, सिर्जना र सुस्मिता थापा लगायतबाट १० हजारभन्दा बढी सहयोग भएको छ । सहयोग आउने क्रम भने जारी छ ।

गत चैत २५ गतेको भरतपुर महानगर–२३ जगतपुर, घैलाघारीका अर्जुनलाई साथीहरुसँग पौडी खेल्ने क्रममा गोहीले समाएको थियो । गोहीको आक्रमणबाट उनको हात विभिन्न ठाउँमा भाँचिएको छ भने शरीरभरि गहिरा घाउ नै घाउ छन् । उनका साथीहरुले गोहीको आँखामा लौरोले हानेर उनलाई छुटाएका थिए ।

उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । आमा फूलमायाँ गाउँबाट ऋण सापट लिएको पैसा दवाई किन्दा नै सकिएकाले पैसा नभएर अस्पतालमा तिर्न नसकेको बताउछिन् ।

प्रतिक्रिया दिनुहोस