मेलम्ची । निर्वाचन आचारसंहिता विपरीत सिन्धुपाल्चोक जिल्लामा राजनीतिक दल सडक उद्घाटनलगायतका कार्यमा व्यस्त हुन थालेका छन् ।
निर्वाचन आयोगले निर्वाचनको मिति घोषणा भएपछि मतदातालाई प्रत्यक्ष प्रभावित पार्ने काम नगर्न आग्रह गरे पनि आचारसंहिता लत्याउँदै राजनीतिक दल चुनावको माहोल बनाउन लागेका छन् ।
मिति घोषणापछि सडक निर्माण, भौतिक संरचनाको उद्घाटन गर्न नपाउने भए पनि जिल्लामा माओवादी केन्द्रका नेता नयाँ सडक खन्ने तथा त्यसको उद्घाटनमा व्यस्त हुन थालेका छन् ।
नेकपा माओवादी केन्द्रका नेता एवम् पूर्वमन्त्री अग्नी सापकोटाले सातदोबाटेको नेपाली टोल हुँदै अदमारसम्म पुग्ने सडक उद्घाटन गरेका छन् ।
सडक निर्माण सम्पन्न हुनासाथ माओवादी केन्द्रका नेताको सहभागितामा पूर्वमन्त्री सापकोटाले सोमबार सो सडकको उद्घाटन गरेका थिए ।
निर्वाचन आचारसंहिता विपरीत जिल्लाभर नै नेकपा एमाले, नेकपा माओवादी, नेपाली काँग्रेसका नेताले काम गर्ने गरेको अन्य पार्टीले आरोप लगाएका छन् । रासस