पित–बस्त्रमा त छ ऊ, डाका हुन बेर छैन
लुकीलुकी खुट्टा तान्ने, काका हुन बेर छैन ।
हिजोसम्म बारुद पोल्ने, अब पाल्छ परेवा रे
फेरि चिची–पापा जस्तो, भाका हुन बेर छैन ।
सडकको नक्सा भन्छ, धर्सा देख्छु टुङ्गिएका
पहरामा लगी ठेल्ने, खाका हुन बेर छैन ।
स्वतन्त्रता अधिकार हो, भन्छ खोल्सी देखाउँदै
खुँगा थापी माछा छेक्ने, नाका हुन बेर छैन ।
जिब्रोबाट पानी झार्दै, कत्ति हेर्छस् “ ग्वालटारे” ?
हेक्का राखेस् अरिङ्गालको, चाका हुन बेर छैन ।