रोजगारमूलक शिक्षा प्रदान गर्नुपर्छ– राष्ट्रपति « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

रोजगारमूलक शिक्षा प्रदान गर्नुपर्छ– राष्ट्रपति


१ बैशाख २०७४, शुक्रबार


विराटनगर । राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षण संस्थामा रोजगारमूलक शिक्षा प्रदान गरी दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ बढी अग्रसर हुनुपर्ने बताएकी छन् ।

मोरङको सुन्दरहरैंचास्थित सुकुना बहुमुखी क्याम्पसको रजत महोत्सवको शुक्रवार  उद्घाटन गर्दै उनले शिक्षा क्षेत्रमा राज्यको लगानीको दायरा फराकिलो भए पनि अपेक्षित गुणस्तरीय नतिजा हासिल हुन नसकेको अवस्थामा सामुदायिक विद्यालयका रुपमा सो क्याम्पसले गरेको प्रगतिबाट प्रेरणा लिनुपर्ने बताइन् ।

राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै उनले त्यस क्षेत्रको जलाधार संरक्षण गरेमा वातावरण प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरिन् । राष्ट्रपतिले भनीन्, “अव्यवस्थित बसोबासका कारण उर्वर भूमिको दोहन भइरहेकाले मानव सभ्यताअनुकूल वैज्ञानिक ढङ्गको गुणस्तरीय जीवन हुने आवासको व्यवस्था हुनुपर्छ ।”

उनले चिया, अलैंची, अदुवा, दूध र अम्रिसो उत्पादन वृद्धिका लागि आधुनिक ढङ्गले खेती गर्नुपर्ने सुझाव दिँदै हुलाकी सडकको निर्माणमा तीव्रता ल्याउनुपर्नेमा जोड दिइन् ।

अर्को प्रसङ्गमा राष्ट्रपति भण्डारीले भनीन्, “स्थानीय तहलाई धेरै बढी अधिकार प्रदान गरिएकाले सो अधिकार प्राप्त गर्न सबैले भयरहित वातावरणमा मतदान गर्नुपर्छ ।”

कार्यक्रममा नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले मुलुकलाई समृद्ध पार्न निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्नुपर्नेमा जोड दिए । नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले मुलुकमा जसरी पनि निर्वाचन गराई शान्ति र राजनीतिक स्थायित्व कायम गर्नुपर्ने बताइन् ।

क्याम्पसका सञ्चालक समितिका अध्यक्ष देवेन्द्रकुमार मास्के तथा क्याम्पसका प्रमुख पीतकुमार श्रेष्ठले क्याम्पसको प्रगतिबारे प्रकाश पारेका थिए । सो क्याम्पसले पूर्वाञ्चल क्षेत्रमा हिमाल, पहाड र तराईका विभिन्न भाषाभाषीलाई सुलभ ढङ्गले गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस