सकेसम्म क्षेत्र तथा जिल्लास्तरबाट उम्मेदवारको टुङ्गो लगाउनुपर्ने देउवाको भनाइ « प्रशासन
prasaLogo
२९ चैत्र २०७३, मंगलवार

सकेसम्म क्षेत्र तथा जिल्लास्तरबाट उम्मेदवारको टुङ्गो लगाउनुपर्ने देउवाको भनाइ


प्रकाशित मिति : 11 April, 2017 10:27 pm

भैरहवा । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आगामी वैशाख ३१ गते कुनै पनि हालतमा स्थानीय निकायको निर्वाचन भएरै छाड्ने बताएका छन् ।

शान्ति, समृद्धि, सद्भाव, राष्ट्रिय एकता तथा निर्वाचनमार्फत संविधान कार्यान्वयनका लागि नेपाली काँग्रेस निर्वाचन परिचालन समितिले भैरहवामा मंगलवार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले वैशाख ३१ नै निर्वाचन हुने जिकिर गरे । उनले मधेसी जनताको भावनाको कदर गरेर संविधान संशोधन विधेयक व्यवस्थापिका– संसद्मा दर्ता गर्न लागिएको बताउँदै यसलाई सबैले सहमति गरेर अगाडि बढ्नुपर्ने बताए । आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार चयन गर्दा पार्टीलाई योगदान पुर्याएको, निर्वाचन जित्ने आधार भएकालाई स्थानीय तह निर्वाचनका लागि टिकट दिन आग्रह गर्दै उनले सकेसम्म क्षेत्र तथा जिल्लास्तरबाट उम्मेदवारको टुङ्गो लगाउनुपर्ने बताए ।

सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आम नागरिकलाई समान अधिकार प्रदान गर्नका लागि स्थानीय तहमा थुप्रै अधिकारसहित स्थानीय निकायको निर्वाचन गर्न लागिएको बताउँदै काँग्रेसलाई बहुमतका साथ विजयी बनाउन आग्रह गरे ।

नेता पौडेलले नेकपा एमालेले उत्तेजना फैलाएर निर्वाचनलाई बिथोल्न खोजेको आरोप लगाउँदै जिम्मेवार बन्न आग्रह गरे ।
महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय निकायको निर्वाचनमा अधिकांश गाउँपालिका र नगरपालिका जित्ने गरी निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई निर्देशन दिए । स्थानीय तहको निर्वाचन नेपाली काँग्रेसका लागि जीवनमरणसँग सम्बन्धित भएको उल्लेख गरे । रासस

Tags :
प्रतिक्रिया दिनुहोस