आयोग पर्खने अवस्थामा छैनः प्रमुख निर्वाचन आयुक्त « प्रशासन
Logo ८ कार्तिक २०७८, सोमबार
   

आयोग पर्खने अवस्थामा छैनः प्रमुख निर्वाचन आयुक्त


प्रशासन संवाददाता

२७ चैत्र २०७३, आइतबार


काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले आगामी स्थानीय तहको निर्वाचनका लागि सम्पूर्ण तयारीका साथ आयोग अघि बढिसकेकाले अब पर्खने अवस्था नरहेको बताएका छन् ।

निर्वाचन आयोगस्थित आफ्नो कार्यकक्षमा सञ्चारकर्मीसँग कुराकानी गर्दै यादवले सबै जिल्लाको मतपत्र, मतदाता नामावलीको छपाइ अघि बढिसकेको र यही चैत २८ देखि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको तालिमसमेत सुरु हुन लागेकाले पर्खने अवस्था नरहेको जानकारी दिए ।

प्रमुख आयुक्त डा यादवले भने – “अब हामी अगाडि बढिसक्यौँ, मतपत्र छपाइका लागि शनिबार ७५ वटै जिल्लाको पठाइसकेका छौँ । आयोगका आयुक्तहरु चैत २८ गतेबाट सुरु हुने मुख्य निर्वाचन अधिकृत र मतदान अधिकृतको प्रशिक्षण लागि खटिनुभएको छ, दुई तीन दिनको समय सकिएको छ, सबै काम दु्रत गतिमा भइराखेकाले त्यो समय अब केही हुँदैन ।’’

मधेसका कतिपय जिल्लामा देखिएको समस्यालाई सम्बोधन गर्न सरकारलाई दिएको समयसीमा सकिएपछि आयोगले निर्वाचनको तयारीलाई तीव्र तुल्याएको हो ।

मधेसका समस्याका बारेमा ठोस निर्णयमा पुग्न समय दिँदै मधेसका जिल्लाको मतपत्र छपाइको कामलाई आयोगले केही दिन पर्खेको थियो ।

स्थानीय तहको निर्वाचनको सुरक्षाका सम्बन्धमा गृहमन्त्रालयका सचिव लोकदर्शन रेग्मीसँग आज जानकारी लिएको जानकारी दिँदै प्रमुख आयुक्त डा यादवले गृह मन्त्रालयको सुरक्षा कार्ययोजनाबाट आयोग सन्तुष्ट रहेको बताए । रासस

प्रतिक्रिया दिनुहोस