काव्यकार जोशीलाई नागरिक अभिनन्दन « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

काव्यकार जोशीलाई नागरिक अभिनन्दन


२४ चैत्र २०७३, बिहिबार


धनगढी । दुई दर्जन बढी कृतिका रचनाकार साहित्यकार मनिराज जोशीलाई नागरिक अभिनन्दन गरिएको छ ।

औपचारिक शिक्षा नलिएर पनि स्वअध्ययन गरी छ वटा महाकाव्य लखेका जोशीलाई नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठानलगायत यस क्षेत्रका दुई दर्जन बढी साहित्यिक तथा सामाजिक सङ्घसंस्थाले अभिनन्दन गरेका हुन् ।

‘महाकाव्यकार मनिराज जोशी नागरिक अभिनन्दन समारोह’मा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रशाद उप्रेतीले जोशीलाई अभिनन्दन गरे ।
आयोजक संस्थाका अध्यक्ष साहित्यकार पदमराज जोशीले अभिनन्दनका छन्द कविता वाचन गरेका थिए ।

यसअघि जोशीलाई बाजागाजा र शोभायात्रासहित उनको निवास धनगढी उपमहानगरपालिका–१ बाट बजारका मुख्य भागको परिक्रमा गर्दै कार्यक्रमस्थल कैलाली उद्योग वाणिज्य सङ्घको सभाहलमा पुर्याइएको थियो ।

सम्मानित व्यक्तित्व जोशीले सुदूरपश्चिममा जन्मेर राष्ट्रिय जीवनमा महत्वपूर्ण योगदान पुर्याएका चार व्यक्तित्व नाटककार पहलमानसिंह स्वांर, अमर सहिद दशरथ चन्द, मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह र सामाजवादी नेता एनडीप्रकास चटौतका जीवनमा आधारित महाकाव्य रचना गरेका छन् ।

उनले डोटीको प्रसिद्ध शक्तिपीठ शैलेश्वरी र प्रमुख पर्यटकीय क्षेत्र खप्तडका नाममा पनि महाकाव्य रचना गर्नुकासाथै आधा दर्जन खण्डकाव्य र विभिन्न विधामा २४ वटा साहित्यिक कृति रचना गरेका छन् । रासस

Tags :
प्रतिक्रिया दिनुहोस