माओवादी केन्द्रले उम्मेदवार घोषणा गर्यो « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

माओवादी केन्द्रले उम्मेदवार घोषणा गर्यो


२३ चैत्र २०७३, बुधबार


बैतडी । नेकपा (माओवादी केन्द्र) बैतडीले जिल्लामा रहेका चारवटा नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा मेयर तथा अध्यक्षका उम्मेदवारको टुङ्गो लगाएको छ ।

नेकपा (माओवादी केन्द्र)ले मेलौली नगरपालिकाको मेयरका लागि भीमबहादुर चन्द, पाटन नगरपालिकामा शङ्कर भण्डारी, पुरचौडी नगरपालिकामा रणबहादुर कुँवर र दशरथचन्द नगरपालिकामा खिमानन्द भट्टलाई उम्मेदवार बनाउने निर्णय गरेको जिल्ला संयोजक प्रेमप्रकाश भट्ट (आदित्य)ले जानकारी दिए ।

यस्तै, पञ्चेश्वर गाउँपालिकाको अध्यक्षमा रमेश चन्दलाई उम्मेदवार बनाउने निर्णय भएको छ, उनले भने “चैत २५ गतेभित्र सबै उम्मेदवारको टुङ्गो लगाइसक्नेछौँ ।”

नेपाली काँग्रेसले चारतारे लोकतान्त्रिक चौतारी अभियानअन्तर्गत जिल्लाका चारवटै नगरपालिका र छवटै गाउँपालिकामा उम्मेदवारका आकांक्षीको बारेमा सर्वेक्षण सुरु गरिएको नेपाली काँग्रेस बैतडी क्षेत्र नं २ क्षेत्रीय सभापति तेजबहादुर चन्दले बताए ।

पार्टीमा उम्मेदवारका आकांक्षी धेरै छन् उनीहरुमध्ये उत्कृष्टको खोजी भइरहेको उनले बताए । चैतको अन्तिमसम्म सम्भावित उम्मेदवारको टुङ्गो लगाउने समेत सभापति चन्दले बताए ।

गाउँपालिका तथा नगरपालिकाका उम्मेदवारको टुङ्गो लगाउने अधिकार क्षेत्रीय कार्यसमितिमा छ । त्यहाँ सहमति हुन नसकेमात्रै हामी जिल्ला कार्यसमितिमा पठाउँछौँ, उनले भने ।

यस्तै, नेकपा (एमाले)ले पनि जिल्लाका नगरपालिका तथा गाउँपालिकामा सम्भावित उम्मेदवारको पहिचान गर्न कार्यकर्ता भेलालाई निरन्तरता दिएको छ । “जिल्लाका सबै ठाउँमा हामीले भेला गरिरहेका र पार्टीमा पु¥याएको योगदान, स्थानीयको चाहनालगायतका विषयलाई ध्यान दिएर उम्मेदवार चयन गर्ने एमाले जिल्ला सचिव लिलाधर भट्टले बताए ।

यता राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि स्थानीय तहको निर्वाचनमा उम्मेदवारको टुङ्गो लगाउनका लागि चैत ३० गतेभित्र सम्भावित उम्मेदवारको नामावली जिल्ला कार्यसमिति पठाउन मातहतका समितिलाई निर्देशन दिएको छ ।

“गाउँपालिका तथा नगरपालिकामा नेतृत्वका लागि आकांक्षीको नामावली चैत मसान्तभित्र पठाउन भनेका छौँ । वैशाख ५ गतेभित्र उम्मेदवारको टुङ्गो लगाउँछौँ ।” राप्रपाका प्रदेश नम्बर ७ का संयोजक पुष्करराज जोशी (लख्खाभाइ) ले भने ।

ठूला दलसँगै साना दलले पनि जिल्लामा चुनावी अभियान जारी राखेका छन् । नेकपा माले, राष्ट्रिय जनमोर्चालगायतका दल चुनावी रणनीतिका साथ गाउँ पसेका छन् ।

बैतडीमा स्थानीय तहको निर्वाचनमा सम्भावित उम्मेदवार खोज्नका लागि राजनीतिक दल गाउँगाउँमा पसेका छन् । स्थानीय तहको निर्वाचनका लागि आफ्नो दलको तर्फबाट कसलाई टिकट दिँदा उपयुक्त हुन्छ त्यसका लागि अध्ययन गर्न दल गाउँगाउँ पुगेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस