नेपालको विकासमा अवरोध नगर्न भारतलाई ओलीको आग्रह « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपालको विकासमा अवरोध नगर्न भारतलाई ओलीको आग्रह


प्रशासन संवाददाता

२२ चैत्र २०७३, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकले सक्ने भए सहयोग गर्न तर असहयोग नगर्न आग्रह गरेका छन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानको पुरस्कार वितरण कार्यक्रममा मंगलवार अध्यक्ष ओलीले छिमेकी भारतले गत वर्ष लगाएको नाकाबन्दीको स्मरण गर्दै भने“सक्छौ भने मद्दत गर, सक्दैनौ भने चुप लागेर बस, हामीलाई गरिखान देऊ, हामी गरिखान सक्छौँ ।”

उनले नेपालमा कुनै सडक वा नयाँ विकासका आयोजना सञ्चालन गर्न लाग्दा छिमेकी भारतले सुरक्षा र अन्य कारणले अवरोधको प्रयास गर्ने गरेको गुनासो पनि गरे । ओलीले भारतसँग नेपालको अर्थतन्त्र निर्भर हुनुपरेको र चीनसँगको बाटो खोल्न लाग्दा पनि भारत रिसाउने स्थितिलाई तोडेर पारस्परिक लाभको सम्बन्ध विस्तार गर्न आफूहरुले चाहेको बताए ।

अध्यक्ष ओलीले भने, “हाम्रा मनमा कुनै वैरभाव छैन, दुष्मनी छैन, अन्याय नसहने र न्यायको पक्ष लिनेबाहेक अरु ध्येय छैन । हामी देश, देशका जनता र मानव जातिको सुख र शान्ति चाहन्छौँ, यसो भन्दा खोक्रो राष्ट्रवादको आरोप लगाइन्छ भने केही भन्नु छैन ।”

कार्यक्रममा एमालेका सचिव प्रदीप ज्ञवालीले राष्ट्र, राष्ट्रियता र स्वाभिमानका लागि स्रष्टाले जनता जगाउने हिसावले सिर्जना गर्नुपर्नेमा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस