चुनाव चिह्न नदिइनु संविधान विपरीतको कामः नयाँ शक्ति पार्टी « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

चुनाव चिह्न नदिइनु संविधान विपरीतको कामः नयाँ शक्ति पार्टी


२१ चैत्र २०७३, सोमबार


काठमाडौँ । नयाँ शक्ति नेपाल पार्टीले स्थानीय तह निर्वाचनका लागि आफूहरुले माग गरेको चुनाव चिह्न नदिइनु संविधान विपरीत काम भएको जनाएको छ ।

सो पार्टीका प्रवक्ता खिमलाल देवकोटाले नेपालको संविधानको धारा २६९ (७०) (७१) मा भएको दलहरुले दलीय पहिचानको आधारमा चुनाव चिह्न पाउनुपर्ने प्रावधान विपरीत स्थानीय तह निर्वाचन ऐन, २०७३ ले नयाँ दलहरुलाई दलीय चुनाव चिह्नबाट वञ्चित गरेको बताए ।

ऐन संशोधनका लागि निर्वाचन आयोग अगाडि धर्नामार्फत दबाब दिन जाने क्रममा सरकारले प्रहरी प्रशासन लगाएर शान्तिपूर्ण प्रदर्शनमाथि दमन गरेको आरोप लगाउँदै उहाँले शान्तिपूर्ण प्रदर्शनका क्रममा पार्टीका संयोजक डा. बाबुराम भट्टराईलगायत नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाप्रति दुःख व्यक्त गरेको छ ।

शान्तिपूर्ण धर्ना गर्दा पनि सामान्य मानव अधिकार र लोकतान्त्रिक अधिकारको बर्खिलाप हुनेगरी प्रहरीले गतिविधि गरेको उल्लेख गर्दै प्रवक्ता देवकोटाले निर्वाचन आयोगले प्रदान गरेको चुनाव चिह्न प्राप्त गर्न नयाँ शक्ति पार्टी, नेपाललगायत बाहिर रहेका दलहरुको नैसर्गिक अधिकारको प्रत्याभूति गर्नका लागि निरन्तर संघर्ष गरिरहने बताए ।

यसैबीच डा. भट्टराईलगायतका नेतालाई प्रहरीले दूव्यवहार गरेको आरोप समेत सो पार्टीले लगाएको छ । आयोग परिसरबाट पक्राउ परेका नेता तथा कार्यकर्तालाई प्रहरीले रिहा गर्न लाग्दा उनीहरुले अटेर गरेको र प्रहरी तथा हिरासतमा रहेका कार्यकर्ताबीच सामान्य विवाद भएको बताइएको छ । तर भट्टराईका स्वकीय सचिव विश्वदिप पाण्डेले प्रहरीले दुव्यवहार गरेको आरोप लगाए ।

क्लबमा नयाँ शक्तिका नेता कार्यकर्ता सहित नेकपा(क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेल , सांसद गंगा चौधरीलगायतका नेता समेत रहेका छन् ।

स्थानीय तह निर्वाचनको ऐन संशोधन नहुँदासम्म ब्लब नछाड्ने अडान डा. भट्टराईले राखेको पाण्डेले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस